• २०८१ बैशाख ७ शुक्रबार

चालू बजेटको अर्धवार्षिक समीक्षा : अर्थतन्त्रका सूचक सन्तोषजनक

kharibot

काठमाडौँ । कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता उपयोगमा भएको विस्तार, पर्यटकको आगमनमा भएको वृद्धि तथा ऊर्जा आपूर्तिमा भएको सुधारका कारण मुलुकको अर्थतन्त्रको सूचक सन्तोषजनक रहेको पाइएको छ । 

आज सार्वजनिक गरिएको चालू आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा विप्रेषण आप्रवाहमा भएको वृद्धि, राजश्व असुलीमा भएको वृद्धि र पूँजीगत खर्चमा भएको वृद्धिजस्ता अर्थतत्रन्त्रका सूचक सकारात्मक रहेको र आर्थिक वृद्धिदर लक्ष्यकै हाराहारीमा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गर्नुभएको उक्त प्रतिवेदनअनुसार समीक्षा अवधिमा रु तीन खर्ब ७५ अर्ब ८२ करोड खर्च भएको छ । उक्त रकम कूल विनियोजनको २८ दशमलव ६ प्रतिशत हो । त्यसमा चालू खर्चतर्फ रु दुई खर्ब ९६ अर्ब ५७ करोड ५९ लाख अर्थात् ३५ दशमलव एक प्रतिशत रहेको छ । यस्तै पूँजीगत खर्च रु ५५ अर्ब ५२ करोड तीन लाख अर्थात् १७ दशमलव सात प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु २३ अर्ब ७२ करोड ४७ लाख अर्थात् १५ दशमलव दुई प्रतिशत खर्च भएको छ । 

सङ्घतर्फको राजश्व सङ्कलन रु चार खर्ब दुई अर्ब ४५ करोड भएको छ । यो गत वर्षको तुलनामा २६ दशमलव एक प्रतिशतले बढी हो । यसमा कर राजश्वको वृद्धि २८ प्रतिशत र गैरकर राजश्वको वृद्धि १२ दशमलव तीन प्रतिशत रहेको छ । चालू आवको छ महिनासम्मका औसत मुद्रास्फीति चार दशमलव दुई प्रतिशत रहेको छ । यस्तै विप्रेषण आप्रवाह ३० दशमलव दुई प्रतिशतले वृद्धि भई रु चार खर्ब ४३ अर्ब ३६ करोड पुगेको छ । खुद ट्रान्सफर आय २८ दशमलव सात प्रतिशतले बढी रु पाँच खर्ब पाँच अर्ब ५३ करोड पुगेको छ । 

चालू आवको छ महीनाको विवरणअनुसार कूल वस्तु निर्यात १० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ भने कूल वस्तु आयात ३० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । कूल व्यापार घाटा ३२ दशमलव एक प्रतिशतले वृद्धि भई रु छ खर्ब ७८ अर्ब ५३ करोड रहेको छ । शोधान्तर स्थिति रु ६३ अर्ब ६८ करोड घाटामा छ । 

यस्तै विभिन्न आयोजनाका लागि रु एक खर्ब ११ अर्ब ६३ करोड वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको छ भने वैदेशिक सहायतातर्फ सरकारको स्रोतबाट खर्च भई शोध भर्ना गर्नुपर्ने रु ४८ अर्ब ५९ करेड रहेकामा रु ३६ अर्ब १४ करोड शोध भर्ना प्राप्त भएको छ । प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंकको प्रथम छ महीनाको समीक्षाका आधारमा नगद प्रवाहमा आधारित सरकारको बजेट रु ७९ अर्ब २२ करोड बचतमा छ । 

यस्तै राष्ट्रिय गौरवका आयोजनामा २४ दशमलव नौ प्रतिशत अर्थात् रु २२ अर्ब आठ करोड ७१ लाख खर्च भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, उत्तर दक्षिण कोशी राजमार्ग र कालीगण्डकी करिडोर लोकमार्गको प्रगति उत्साहजनक देखिएको अर्थ मन्त्रालयले जनाएको छ । चालू आवमा रु ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने अनुमान गरिएको छ । उक्त रकम कूल विनियोजनको तुलनामा ९१ दशमलव दुई प्रतिशत हो । 

मन्त्रालयका अनुसार चालूतर्फ रु सात खर्ब ९८ अर्ब ४४ करोड अर्थात् ९४ दशमलव चार प्रतिशत, पूँजीगततर्फ रु दुई खर्ब ६५ अर्ब २६ करोड अर्थात् ८४ दशमलव पाँच प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ३५ अर्ब ४४ करोड अर्थात् ८७ प्रतिशत खर्च हुने अनुमान छ । 

चालू आवको अन्त्यसम्म रु नौ खर्ब १७ अर्ब १९ करोड राजश्वमध्ये सङ्घीय सञ्चित कोषमा रु आठ खर्ब ६ अर्ब ५० करोड ६४ लाख जम्मा हुनेछ । यस्तै वैदेशिक अनुदानतर्फ रु ३९ अर्ब ९८ करोड र वैदेशिक ऋणतर्फ रु एक खर्ब ६३ अर्ब परिचालन हुने संशोधित अनुमान छ । 

सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ को पालना गरिएको र वैदेशिक सहायतामा सञ्चालित आयोजनाको लेखा र प्रतिवेदन व्यवस्थालाई प्रभावकारी बनाई समयमै शोधभर्ना प्राप्त गर्ने कार्यलाई शीघ्र कार्यान्वयनमा ल्याइएको प्रतिवेदनमा उल्लेख छ । सम्झौता भएका रुग्ण आयोजनाका व्यवस्थापनका लागि आयोजना कार्यान्वयनको अवस्था, विनियोजित बजेट खर्च नभई बचत हुने रकमको उपलब्धता र प्राथमिकताका आधारमा आयोजनाको कार्यान्वयन गरिएको छ । 

चालू आवको छ महीनामा सङ्घीय संरचनाअनुरुप सङ्घ र स्थानीय तहमा भइरहेका आर्थिक क्रियाकलाप र समष्टिगत आर्थिक तथ्याङ्कले उच्च आर्थिक वृद्धिका लागि आधारशिला निर्माण भइरहेको सङ्केत गरेको समीक्षामा उल्लेख छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै