• २०८१ बैशाख ७ शुक्रबार

धरहरा पुनःनिर्माणको कामले गति लियो

kharibot

काठमाडौँ । एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । 

जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए । 

प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमा नै काम सकिने अनुमान छ । जगभन्दा मुनि नै १८२ पिल्लर राख्नुपर्ने भएकाले हालसम्ममा ५६ वटा पिल्लर राख्ने काम सकिएको छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । 

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनः निर्माण शुरु गरेको हो । कूल तीन अर्ब ४८ करोड रुपैयाँ लगानीमा निर्माण हुने धरहरा धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । 

निर्माण भइरहेको धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने छ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । 

एघार तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए ।

तत्कालका लागि गौश्वारा हुलाक कार्यालय रहेको भवन अन्यन्त्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको छ । अबको तीन महीनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै