• २०८१ बैशाख ११ मंगलबार

भिडियो च्यालेन्ज अभियान बारे फिल्म अध्ययन गर्ने विद्यार्थीहरुसँग अन्तरक्रिया 

kharibot

तस्बीर :कान्तिपुर फिल्म एकेडेमी

काठमाडौं  । नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा सहयोग गर्ने उद्धेश्यका साथ देशका नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज अभियानको प्रचार प्रसार तिब्रगतिमा भइरहेको छ । 

वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले घोषणा गरेको ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो च्यालेन्जबारे पहिलो र दोस्रो चरण गरेर देशका सातै प्रदेशमा अभियानको बारेमा जानकारी गराएपछि अहिले फिल्म सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीहरु बीच अन्तरक्रिया गरिरहेको छ । 

भिडियो च्यालेन्जलाई व्यापक बनाउन फिल्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अभियानको बारेमा जानकारी दिन सुरु गरिएको अभियानका निर्देशक निर्मल श्रेष्ठले खरीबोटलाई जानकारी दिएका छन्  । अभियानले काठमाडौँका ओस्कार अन्तर्राष्ट्रिय कलेज (कलेज अफ फिल्म स्टडिज) र कान्तिपुर फिल्म एकेडेमी, त्यस्तै चितवनमा एरोमा कलेज र प्रेसिडेन्सी कलेजका विद्यार्थीहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियामा अभियानका तर्फबाट कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, १३ पटक सगरमाथा चढेर गिजिनबुकमा रेकर्ड बनाएका फुर्वा तेन्जिङ, सगरमाथा चढेका महिला पत्रकारहरु रोजिता बज्राचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ, अभियानका निर्देशक निर्मल श्रेष्ठ सहभागी भएका थिए । सो अन्तरक्रियामा फिल्म अध्ययन गर्ने करिब १५० विद्यार्थी सहभागी भएका थिए ।   

ओस्कार कलेज अफ फिल्म स्टडिजका विद्यार्थीहरुलाई सगरमाथा आरोही फुर्वा तेन्जिङ यस अभियानले देशको पर्यटन विकासमा ठुलो मद्धत पुग्ने भएकाले आफु यस अभियानमा लागेको बताउदै फिल्म पढिरहेका विद्यार्थीका लागि यो झन ठुलो मौका भएको बताए । उनले स्थानीय पर्यटनको विकासगर्न यस अभियानले मद्धत गर्ने भएकाले सबै विद्यार्थीहरु यसमा जोडिदा व्यक्तिगत रुपमा पनि फाइदा हुने र देशलाई पनि योगदान हुने बताएका थिए। 

त्यस्तै कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरुलाई कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्माले अभियानका बारेमा जानकारी गराएका थिए । शर्माले फिल्म सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि यो ठुलो मौका भएको बताउदै फिल्म क्षेत्रमा प्रवेश गर्न पनि यस भिडियो च्यालेन्जले सहयोग गर्ने हुनाले यस अभियानमा जोडिन आग्रह गरे । शर्माले फिल्मी क्षेत्रका आफ्ना अनुभव विद्यार्थीहरुसँग साट्दै यस अभियानमा जोडिन आग्रह गरे । 

त्यस्तै चितवनस्थित एरोमा कलेज र प्रेसिडेन्सी कलेजमा समेत भिडियो च्यालेन्ज अभियानबारे अन्तरक्रिया सम्पन्न भएको छ ।  अभियानको संचालन निर्देशक अनुप के बरालले अभियानका बारेमा विद्यार्थीहरुलाई जनकारी गराउनुका साथै अभियानमा जोडिदा विद्यार्थीहरुलाई हुने फाईदाका बारेमा समेत अवगत गराएका थिए ।फिल्मी क्षेत्रको अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि भिडियो बनाउने यस अभियान सान्दर्भिक पनि हुने हुनाले उनीहरुले यस अभियानमा विशेष चासो दिदै अभियानमा जोडिने बताएका छन् ।

त्यसैगरी भिडियो च्यालेन्ज प्रतियोगितामा सहभागीताका लागि हङकङबाट समेत आहृवान गरिएको छ । फाउण्डेशनका संस्थापक निर्देशक तुलसीकुमार गुरुङ, संस्थापक सुरज गुरुङ, अभियानको शुरुवातीकालबाटै संम्लग्न पक्रकारद्धय डम्बरकृष्ण श्रेष्ठ, देवराज राईको संयुत्त संयोजनमा आयोजित पत्रकार भेटघाटमा हङ्कङेलीहरुलाई उक्त आहृवान गरिएको हो । 
हङकङबाट प्रतियोगितामा कसरी भाग लिने ? भन्ने प्रश्नको उत्तर दिदै निर्देशक गुरुङ भन्छन नेपालबाट आफ्नो गाउँठाउँको भिडियो मगाएर प्राविधिक काम हङकङमा गरेर पनि च्यालेन्ज प्रतियोगितामा भाग लिन सकिनेछ । 

शिक्षण पेशासँगै पत्रकारिता गरिरहेका देवराज राई भन्छन् हामी हङकङमा छौँ, तर हाम्रा आफन्त, विचार भावना र सोच सदैव नेपालमै छ, बर्षोदेखि पर्यटनको संभावना बोकेको नेपालको ति विकट अदभूत ठाउको परिचय दिने उत्कृष्ट अवसर हो भिडियो च्यालेन्ज प्रतियोगिता । 

दुरदराजमा भिडियो बनाउने सुविधा नहोला तर हामीले त्यहाका स्थानिय प्रतिभाहरुलाई सहयोग गर्न सक्छौ । त्यो सानो भिडियोले तपाईको गाउ पर्यटकीय सम्भावनाको उत्कृष्ट उपज पो बन्छ कि ? तपाईको सानो सहयोगले बनेको भिडियो उत्कृष्ट भई ति प्रतिभाहरुलाई उत्प्रेरणा मिल्छ कि ? सोच्ने बेला आएको फाउण्डेशनका संस्थापक निर्देशक तुलसीकुमार गुरुङले बताए । 

अभियानका निर्देशक श्रेष्ठले यस अभियानसँग सम्बन्धित जानकारी लिन या कुनै किसिमका अन्तरक्रिया गर्न इच्छुक भएमा फाउन्डेसनमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

निर्देशक श्रेष्ठले आगामी दिनमा अन्य फिल्म कलेजहरुमा पनि यस्ता अन्तरक्रिया गर्ने तयारी गरिरहेको बताए ।                         

यसअघि दुई चरणमा देशका विभिन्न ठाउमा गरिएको अन्तरक्रिया पछि प्रदेश र स्थानीय सरकारहरुले पनि यस कार्यक्रमलाई चासो दिएका छन ।

फाउन्डेसनले मिडियाकर्मी र अन्य व्यक्तिहरुको सुझावलाई मनन गर्दै यस अभियानलाई अगाडी बढाउने तयारी गरेको निर्देशक निर्मल श्रेष्ठले बताएका छन् । अहिलेसम्म आएको सुझावमा प्रदेशस्तरीय भिडियो छनौट गर्नुपर्ने भन्ने आएको र यसको विषयमा आफुहरुले तयारी गरिरहेको जानकारी श्रेष्ठले दिएका छन् ।

काठमाडौँसहित देशको पश्चिम क्षेत्रमा गरिएको कार्यक्रमहरुमा मिडियाकर्मीदेखि सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको बताउदै श्रेष्ठले मिडियाकर्मी, भिडियोमा काम गर्नेहरुलाई यस च्यालेन्जमा भाग लिन आफुहरुले प्रोत्साहित गरिरहेको बताए ।

भिडियो संकलनका निम्ति फाउन्डेसनले ‘जब चिनिने छ तपाईको गाउँठाउँ तब खुल्ने छ तपाईको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाउँठाउँ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ ।

अहिलेसम्म सिनेमा, खेलकुद, सरकारका विशिष्ट व्यक्तिहरु र समाजका अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरुले यस अभियानको प्रचारमा सहयोग गर्दै आफ्नो भिडियो संदेश दिएका छन् । यस भिडियो च्यालेन्ज अभियानलाई सफल बनाउन सगरमाथा चढेका तीन महिला पत्रकारहरु रोजिता बज्राचार्य, रोशा बस्नेत, देउराली चाम्लिङले एक अपिल जारी गर्दै अभियानमा जोडिन आग्रह गरेका छन् ।

कुनै अभियानका लागि समाजका विभिन्न क्षेत्रका यति धेरै प्रतिष्ठित व्यक्तिहरु एक ठाउमा आएको यो पहिलो पटक देखिएको छ । यस अभियानमा समाजका अझै प्रतिष्ठित व्यक्तिहरु जोडिदै जाने फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउछन् । 

यस्तो छ भिडियो च्यालेन्ज अभियान :

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ।

दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ। साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ । साथै खरीबोट डट कम पनि यस अभियानको मिडिया सहयोगी रहेको छ l
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै