• २०८१ बैशाख १२ बुधबार

मलाई सबैभन्दा खुसी कुनै साहित्यिक रचना लेख्दा नै लाग्छ : किशोर पहाडी

kharibot

झन्डै चार दशक लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहँदै आएका साहित्यकार किशोर पहाडीको सातौं कथासंग्रह ‘रोजा कथाहरू’ शिखा बुक्सले पुसमा सार्वजनिक गरेको छ । उनी कथा, कविता र बालसाहित्य लेखनका साथसाथै अभिनय तथा निर्देशनमा पनि आबद्ध छन् । विशु दाइ (कथासँग्रह, २०४५), मुग्ध सिम्फोनी (कथासङ्ग्रह, २०७०) लगायतका झन्डै एक दर्जन भन्दा बढी पुस्तकहरू प्रकाशन गरिसकेका उनी सर्वनामका संस्थापक सदस्य हुन् भने हाल शब्दपथको संचालक रहेका छन् । यसका साथै उनी साझा पुरस्कार (२०४५), मैनाली पुरस्कार (२०६३), युवावर्ष मोती पुरस्कार (२०४८) लगायतका एक दर्जन भन्दा बढी साहित्यिक पुस्कार र सम्मानले सम्मानित छन् । हाल ललितपुरको अफलडोलमा बसोबास गर्दै आएका उनी विशेष गरी आफ्ना कथाहरूले गर्दा पाठकहरूमाझ लोकप्रिय छन् । प्रस्तुत छ साहित्यकार किशोर पहाडीसँग उनको पछिल्लो कथासंग्रह र साहित्यिक यात्रामा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश :


तपाईंको पछिल्लो कथासङ्ग्रह 'रोजा कथाहरू'बाट के-कस्ता प्रतिक्रियाहरू पाइरहनुभएको छ? कतिको सन्तुष्ट हुनुहुन्छ प्राप्त प्रतिक्रियाबाट?
'रोजा कथाहरू'बारे राम्रै प्रतिक्रिया पाइरहेको छु । पाठक, समीक्षकहरूबाट प्राप्त प्रतिक्रियाबाट म सन्तुष्ट नै छु । पुस्तक प्रकाशित भइसकेपछि त पाठककै हुन् नि ! उहाँहरूको राम्रो, नराम्रो जे प्रतिक्रिया पनि स्वीकार गर्दछु ।      


३१ वटा कथा समेटिएको संग्रहमा कस्ता विषयवस्तु र शैलीका कथाहरू समावेश छन् ? पाठकले किन पढ्ने तपाईंका यी कथाहरू?
साहित्यको विषयवस्तु आफ्नै वरीपरीको हुने कुरा निर्विवाद छ । ३१ कथा समेटिएको सङ्ग्रहमा पनि ती नै विषयवस्तुहरू छन् । वर्षौं लेखेका कथाहरूबाट रोजेर राखिएका ३१ कथाहरू मलाई मन परेका कथाहरू हुन् । मेरो लेखाइलाई बुझ्न पाठकहरूले पढ्नु पर्छ भन्ने सोच्दछु ।             


२०३७ मा पहिलो कथासङ्ग्रह प्रकाशित भएदेखि आजसम्म आइपुग्दा तपाईंका आधादर्जन भन्दा बढी कथासङ्ग्रह आइसकेका छन् । पहिलो संग्रह सार्वजिक हुँदा र अहिलेको पुस्तक सार्वजनिक गर्दा एउटा लेखकका रुपमा के-कस्ता फरक अनुभूतिहरू गर्नुभएको छ?
पहिलो सङ्ग्रह सार्वजनिक हुँदा यो लोकार्पण, विमोचन गर्ने चलन थिएन । अहिले त्यो चलन छ तर पनि मैले आफ्नो पुस्तक कुनै भव्य कार्यक्रम गरेर सार्वजनिक गर्नुपर्छ भन्ने मान्यता राखेको छैन । त्यसो हुँदाहुँदै पनि प्रकाशकको ईच्छामा 'रोजा कथाहरू' छ जना शुभेच्छुक एउटा पुस्तक पसलमा उभेर सार्वजनिक गर्यौं । फरक भन्ने हो भने त्यही हो । खुसी त त्यो बेला पनि त्यत्तिकै लागेको थियो अहिले पनि लाग्यो । एउटा लेखकलाई आफ्नो पुस्तक प्रकाशन भएर हात परेको दिन सबैभन्दा बढी खुसी लाग्छ ।        


पहिलो सङ्ग्रह सार्वजनिक हुँदा यो लोकार्पण, विमोचन गर्ने चलन थिएन । अहिले त्यो चलन छ तर पनि मैले आफ्नो पुस्तक कुनै भव्य कार्यक्रम गरेर सार्वजनिक गर्नुपर्छ भन्ने मान्यता राखेको छैन ।

इन्जिनियरिको विद्यार्थी तपाईं अभिनय र निर्देशनको क्षेत्रमा पनि आबद्ध हुनुहुन्छ । साहित्यमा विशेष गरी कथा, संस्मरण, कविता र बालसाहित्य विधामा कलम चलाउनु हुन्छ । आफ्ना यी बहुआयामिक पाटाहरूलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ? समय कसरी मिलाउनुहुन्छ?
मैले पढेको सिभिल इन्जिनियरिङ हो र केही महिना हवाई विभाग र दश वर्ष खानेपानी संस्थानमा काम गरें । सडक कविता क्रान्तिमा भाग लिएको हुनाले   पछि हतोत्साहको वातावरण हुन गएको कारण जागिर छोडेर व्यापार व्यवसायमा लागें । त्यसपछि इन्जिनियरिङ काम गरेको छैन । आफ्नो घरको नक्शा नै अरूलाई बनाउन लगाएँ । लेखन, अभिनय, निर्देशनप्रति नै रुची भएर त्यतैतिर लागियो । व्यवस्थापन यत्तिकै चलिरहेको छ ।                


विविध विधामा कलम चलाउने र कलाकारितामा आबद्ध आफूलाई एउटा विधाले मात्र चिनाउनु पर्दा कुन रोज्नु हुन्छ?
कथाकार ।


तपाईंलाई लेखनमा कस्ता कुराहरूले छुन्छन्? साहित्य 'के-का लागि लेख्ने?' प्रश्नको उत्तर कसरी दिनुहुन्छ?
समाजमा घटेका सानाभन्दा साना कुराहरूले छुन्छन् । यो समाज, समाजमा भएका विकृति, विसंगतिहरूबाट उन्मुक्तताको निम्ति छटपटाउंदा लेखिन्छ । मानवीय मूल्य र मान्यता ह्रास हुँदै गएको, स्वाधीनता पहिचान र आत्मसम्मान लोप हुँदै गएको, कुण्ठा आदिले ग्रसित समाजलाई अत्याचारबाट मुक्त गर्न हामी साहित्यकारहरूले साहित्य लेख्नु पर्छ भन्ने ठान्दछु ।                    


साहित्यकार महेश प्रसाईंले 'रोजा कथाहरू' को विमोचनमा तपाईंका 'यथार्थवादी कथाले पाठकमा उत्सुकता जगाइराख्ने' टिप्पणी गर्नुभएको थियो । तपाईंका कथाहरू सामाजिक यथार्थवादमा आधारित हुने गर्छन् । तर पछिल्लो समय भने लेखनमा विविधता आउनुपर्ने र नयाँ प्रयोगहरू हुनुपर्ने वकालत हुन थालेका छन् । लेखक गनेस पौडेल प्रश्न गर्छन्,चेखब, टैगोरले छोइसकेको सामाजिक यथार्थवादको सगरमाथा चढेर हामी तेन्जिङ नोर्गे बन्न सम्भव होला?’ हाम्रो समकालीन नेपाली कथालाई विश्वसाहित्यमा पुर्याउन विषय र शैलीका हिसाबले कस्ता कथाहरू लेखिनुपर्छ होला?
'रोजा कथाहरू' हात पर्नासाथ मैले पहिलो प्रति साहित्यकार मित्र महेश प्रसाईंलाई दिएको थिएँ । उहाँले मेरो कथाहरू पढेर गर्नु भएको टिप्पणीको म समर्थन गर्दछु । उहाँको मात्र होइन पढेर आउने राम्रो, नराम्रो हरेक टिप्पणी स्वीकार्य छ ।       जसरी कि हरेक कुरा समयअनुसार परिवर्तन भएर जाँदैछ लेखनमा पनि निश्चयत: विविधता आउनु पर्छ । नयाँ नयाँ प्रयोगहरू हुनु आवश्यक छ । तर त्यो विविधता पाठकहरूले स्वीकार्ने किसिमबाट आउनु पर्यो । लेखकहरू आफ्नो आनन्दको लागि लेख्छन् । पाठकहरूलाई पनि आनन्द आउने गरी लेख्नु जरूरी छ । हामीले नेपाली कथा साहित्यलाई विश्वसाहित्यसम्म पुर्याउने हो भने हाम्रो नेपालकै कथा, लोककथा, पौराणिक कथालाई नयाँ आयाम दिँदै लेखिनु राम्रो हो ।       

लेखकहरू आफ्नो आनन्दको लागि लेख्छन् । पाठकहरूलाई पनि आनन्द आउने गरी लेख्नु जरूरी छ ।         


तपाईंको ४ दशकलामो साहित्य यात्रामा के-कस्ता आरोह-अवारोहहरू रहे? कसरी आकर्षित हुनुभएको थियो साहित्यमा? कुन कुराले यतिका लामो समयसम्म लेखनमा खिचिरह्यो तपाईंलाई?
घरमा पुस्तक, पत्रिकाहरू आउँथे । तिनै पढ्ने बानी लागेर त्यस्तै लेख्न सकिन्छ कि भनेर साहित्यमा लागियो जस्तो लाग्छ । आकर्षण त खोई कसरी आकर्षित भएको भनेर पत्तो पाइएन । लेखेपछि, लेखेर छापिएपछि, छापिएर प्रशंसा पाएपछि शायद विस्तारै आकर्षित हुँदै गइयो । आनन्द लाग्छ लेख्दा, लेखेर छापिंदा, आफ्नो सिर्जना पाठकद्वारा प्रशंसित हुँदा । यिनै आनन्दको कारण होला, मलाई यो लामो समयसम्म पनि लेखनमा खिचिरहेको । २०३७ सालमा प्रकाशित कथा-सङ्ग्रह "बाँच्नु र बाँचेकाहरू" को आवरणमा मैले लेखेको थिएँ "...मन लाग्यो केही कथा लेख्न । लेखें । मन लाग्यो, ती कथाहरू पत्रिकामा छपाउन । छपाएँ । मन लाग्यो संग्रह निकाल्दा केही कथाहरूलाई पत्रिका छापिएको भन्दा केही फरक पार्न । पारें । आफूलाई मन लागेको काम फुक्का भएर गरें । आनन्द भन्नु नै यस्तै-यस्तै गर्नु रहेछ ।... ..." । मलाई शायद त्यही आनन्दले डोर्याएको हुनुपर्छ ।                      


एउटा लेखकका लागि अरुको पुस्तक पढ्नु कतिको महत्वपूर्ण हुँदो रहेछ? तपाईंलाई सबैभन्दा बढी मन परेका १० पुस्तकहरू?
हरेक लेखकले पढ्नु पर्छ । अरुको पुस्तक पढ्नु धेरै नै महत्त्वपूर्ण छ ।
सबैभन्दा बढी मन परेका १० पुस्तकहरू सम्झँदै-सम्झँदै मैले यी नामहरू दिएँ । धेरै पुस्तकहरू छुटेका छन् यो सूचीमा ।

(१) चपाइएका अनुहार — दौलतविक्रम विष्ट

(२) एब्स्ट्र्याक्ट चिन्तन प्याज — शङ्कर लामिछाने

(३) मोदिआइन — विश्वेश्वरप्रसाद कोइराला

(४) नेपालको ऐतिहासिक रूपरेखा — बालचन्द्र शर्मा

(५) प्रत्येक ठाउँ प्रत्येक मान्छmे — पिटर जे कार्थक

(६) उलार — नयनराज पाण्डे

(७) वासु शशीका कविता — सं. कुमारबहादुर जोशी

(८) घामका पाइला — ध.च.गोतामे

(९) अन्तरमनको यात्रा — जगदीश घिमिरे

(१०) त्यस बखतको नेपाल   — सरदार भीमबहादुर पाण्डे 


पछिल्लो समयमा समकालीन नेपाली साहित्यमा आइरहेका कृतिहरू कस्ता लागिरहेछन् तपाईंलाई? नयाँ पुस्ताका लेखकहरूमा कतिको सम्भावना देख्नुहुन्छ?
जसरी कि हरेक सिर्जना उत्कृष्ट या निकृष्ट हुँदैनन्, त्यसरी नै साहित्यमा पनि उत्कृष्ट, निकृष्ट हुँदैनन् । साहित्य सिर्जना भइरहेको छ, लेख्नेहरू लेखिरहेका छन् । छाप्नेहरू पनि नयाँ नयाँ प्रकाशन संस्था अगाडि आएका छन् । अचेल अब उमेरले आँखामा चश्मा आवश्यक भएपछि पढ्ने समय अलि छोट्टीएको छ । उपहारमा प्राप्त पुस्तकहरू पनि सबै पढिदैन । तर प्रचारमा खुब पुस्तक प्रकाशन भएको सुनिन्छ । सम्भावना त छ नि – कति मेहनत गरेर तयार पार्छन् अचेल पुस्तक एउटा लेखकले ।         


जीवनमा तपाईंलाई सबैभन्दा धेरै खुसी के गर्दा मिल्छ? तपाईंले पूरा गर्न मन लागेका तर आजसम्म पूरा गर्न नसकेका तीनवटा कुराहरू रोज्नुपर्यो भने के-के रोज्नुहुन्छ?
लेख्ने काममा लागेको हुनाले होला जीवनमा मलाई सबैभन्दा खुसी अरू केही होइन कुनै साहित्यिक रचना लेखिँदा नै लाग्छ । र आफ्नो पुस्तक प्रकाशन गर्दा पनि खुसी हुन्छु । पूरा गर्न नसकेका त्यस्ता कुरा अनगिन्ति छन् ।   

लेख्ने काममा लागेको हुनाले होला जीवनमा मलाई सबैभन्दा खुसी अरू केही होइन कुनै साहित्यिक रचना लेखिँदा नै लाग्छ । र आफ्नो पुस्तक प्रकाशन गर्दा पनि खुसी हुन्छु ।


अहिले ६२ वर्षको उमेरमा पनि तपाईं उत्तीकै तदारुकताकासाथ लेखनमा लागिरहनुभएको छ । युट्युबमा गीतका कभरहरू पनि गाउनुहुन्छ । आगामी दिनलाई लिएर तपाईंका के-कस्ता योजना छन् ? कसरी अगाडि बढ्नुहुन्छ ? अर्को पुस्तकको तयारीमा हुनुहुन्छ कि?
होइन ... लेख्ने काम त त्यति छुट्दैन होला, उमेर त एउटा अङ्क न हो । लेखिन्छ – आफूलाई मन लागेको काम फुक्का भएर गरिन्छ । गीत गाउने कुरा चाहिं उहिले ४०-४५ वर्षअघि नै लागेको सनक हो । म इन्जिनियरिङ पढ्दा मेरो कक्षामा सँगै पढ्ने एक मित्र सुनिल चित्रकार गीतार बजाउँदै गाउँथे । उनीसँग म त्यतिखेर रेडियो नेपाल धाउने गर्दथें । उनले त्यो बेला रेडियोमा २-४ वटा गीत पनि रेकर्ड गराएका थिए । मैले त्यो अवसर पाइनँ । त्यो बेला पनि साथीभाईको माझ गीत गाउँथे । शौख नि गीत गाउने ! अहिले प्रविधिले स्म्युल ल्याइदियो र हामीजस्ता शौखीनलाई ट्रयाकमा गीत गाउन सजिलो पारिदियो । पुस्तकको कुरामा चाहिं एउटा नियात्रा सङ्ग्रह, एउटा लघुकथा सङ्ग्रह निकाल्ने योजनामा छु ।                   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै