• २०८१ बैशाख ६ बिहीबार

बेनी बजार संरक्षणको नाउँमा कालीगण्डकीको दोहन

kharibot

म्याग्दी । बजार संरक्षणको बाहनामा म्याग्दी सदरमुकाम बेनी क्षेत्रमा कालीगण्डकी नदीको दोहन भइरहेको छ ।

बजार संरक्षणका लागि पर्खाल लगाउने नाउँमा जथाभावी नदी किनाराका ढुङ्गा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको सम्भावना बढेको भन्दै स्थानीयवासीले बेनी नगरपालिकामा गुनासो गरेका छन् । गुनासो आएपछि नगरपालिकाले उपभोक्ता समितिलाई सचेत गराएको छ ।

रुपाताल एकीकृत संरक्षण समितिमार्फत् नदी कटानबाट बजारलाई जोगाउने उद्देश्यले सञ्चालित योजनाको उपभोक्ता समितिले स्काभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा फुटाउँदा थप जोखिम बढेको गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले बताए ।

गुनासो अनुगमनका क्रममा पुष्टि भएपछि उपभोक्ता समितिका पदाधिकारीलाई नगरपालिकामा बोलाएर जथाभावी ढुङ्गा ननिकाल्न र उपकरण प्रयोग नगर्न सचेत गराएको नगर कार्यपालिकाका सदस्य कृष्णकुमार विश्वकर्माले बताए ।

रुपाताल संरक्षण समितिले पुरानो पर्खाल संरक्षण र गत भदौको बाढीले बगाएको ठाउँमा ग्यावियन पर्खाल निर्माणका लागि चार वटा उपभोक्ता समितिमार्फत् काम गरेको छ ।

समितिले बिना प्रतिस्पर्धा सीमित व्यवसायीको उपकरण प्रयोग गरेको, उपभोक्ता परिचालन गरेर गर्नुपर्ने काम घुमाउरो शैलीमा ठेक्कामा लगाएको, ग्यावियन जालीमा चलखेल गरेको बजारवासीले गुनासो गरेका छन् ।

समितिको चलखेलका कारण गुणस्तरीय काम नहुने, ढिलासुस्ती र संरक्षणको नाममा विनाश हुन सक्नेतर्फ बजारवासीको गुनासो बढ्न थालेको छ । चार वटामध्ये ८ नम्बर वडाको एउटा उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्माचार्यले साना ढुङ्गा पर्खाल लगाउन प्रयोग गरेको र बजारवासीले गरेको आशङ्का सत्य नभएको प्रतिक्रिया दिए ।

म्याग्दी बेनीतर्फ कालीगण्डकी किनारमा ७६० थान ग्याबियन पर्खाल लगाइने भएको छ । बेनी बजार संरक्षणका लागि चालू आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन भए पनि कुन उपभोक्ता समितिसँग कति बजेटमा सम्झौता भएको हो भन्नेबारेमा कार्यालय र समिति दुवैले विवरण सार्वजनिक गरेका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै