• २०८१ बैशाख १३ बिहीबार

पहिलो महिला टोलीले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा 'स्पेसवाक' गर्दै

kharibot

अन्तरिक्ष अन्वेषणको इतिहासमा पहिलोपटक महिला मात्र समावेश भएको एक टोलीले अन्तर्राष्ट्रिय स्पेस स्टेसन(आइएसएस)मा 'स्पेसवाक' गर्ने भएको छ । नासाले दिएको जानकारीअनुसार नासाका दुई अन्तरिक्ष यात्री एन म्याकक्लेन र क्रिस्टिना क्लोचले मार्च २९ मा 'स्पेसवाक' गर्ने छन् ।

'स्पेसवाक' भनेको अन्तरिक्षमा आफ्नो यानभन्दा बाहिर गएर कुनै कार्य गर्नु हो । अन्तरिक्ष यात्रीहरूले स्पेसवाकका रुपमा विभिन्न वैज्ञानिक प्रयोग गर्नुका साथै नयाँ उपकरणको परिक्षण गर्ने गर्दछन् । त्यसैगरी अन्तरिक्ष यान वा उपग्रहहरूमा समस्या आउँदा पनि ती यानलाइ पृथ्वीमा फिर्ता ल्याउनुको सट्टा अन्तरिक्ष मै मर्मत गर्नु परेमा स्पेसवाक गर्ने गरिन्छ ।

नासाको 'एक्स्पेडिसन ५९' कार्यक्रमअन्तर्गतको स्पेसवाक गर्ने महिलाको टोलीले करीब ७ घण्टा आफ्नो यान बाहिर बिताउने अपेक्षा गरिएको छ ।  

स्पेसवाक गर्ने टोलीकी एन म्याक्लेन अहिले आइएसएसमै रहेकी छिन् भने क्रिस्टिना क्लोच भने मार्च १४ मा अन्तरिक्षतर्फ उड्ने छिन् ।

सन् १९६५ मार्च १८ मा पहिलोपटक तत्कालिन सोभियत संघका अन्तरिक्ष यात्री एलेक्सी लियोनोभले आफ्नो यानबाट बाहिर निक्लिएर १२ मिनेटको स्पेसवाक गरेका थिए । त्यसैगरी अमेरिकाबाट भने सोही वर्ष जुन ३ मा अन्तरिक्ष यात्री एड वाइटले २१ मिनेटको स्पेसवाक सम्पन्न गरेका थिए ।

स्पेसवाक गर्ने पहिलो महिला अन्तरिक्ष यात्री भने सोभियत संघकी स्वेतलाना सभित्सकाया हुन्  । उनले १९८४ जुलाई २५ मा ३ घण्टा ३५ मिनेटको स्पेसवाक गरेकी थिइन् ।

त्यसैगरी अन्तरिक्षमा सबैभन्दा लामो स्पेसवाकको किर्तिमान नासाका अन्तरिक्ष यात्री सुसान हेल्म्स र जेम्स एस भोसको नाममा रहेको छ । उनीहरूले नासाको एक्सपेडिसन २ कार्यक्रम अन्तर्गत आइएसएसमा आफ्नो यान बाहिर ८ घण्टा ५६ मिनेट बिताएका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै