सामाजिक कार्यकर्ताबाट राजनीतिमा आएकी मीना बुढा

खरीबोट

काठमाडौँ । मीना बुढा २०२० सालमा बुबा चन्द्रसिंह बुढामगर र आमा कौशल्या बुढाबाट रोल्पामा जन्मिएकी हुन् । उनका बुबा बसाइँसराइ गरी दाङमा झरेका थिए । उनको बिहे थवाङमा भएपछि उनले थवाङबाटै समाजसेवा  शुरू गरिन् । 

मीना बुढा रोल्पा जिल्ला थवाङ गाउँपालिकाबाट सक्रिय हुँदै आएकी छन् । हाल उनी प्रदेश ५ बाट निर्वाचित नेकपाकी राष्ट्रियसभा सदस्य हुन् ।  उनी २०४२ देखि नेकपा एमालेमा आबद्ध भएर सक्रिय रूपमा पार्टीको काम गर्दै आएकी छन् । विगतमा उनको बुबा जिमवालले कजाएको काम गर्थे । विभिन्न किसिमका भेदभावले उनलाई राजनीतिमा लाग्न प्रेरित गर्यो । 

उनले औपचारिक शिक्षा लिने अवसर पाउनु त टाढाको कुरा थियो । कम्तीमा चिठीपत्रबाट सञ्चो विसञ्चो थाहा पाउन पढ्न सक्ने बनाउनुपर्छ । विवाह भएर टाढा जाँदा कमसेकम हामीले पठाएका पत्रहरू पढ्न अक्षर चिन्ने हुनुपर्छ, त्यसैले छोरीलाई पढाउनुपर्छ भन्ने बुबाको भावना थियो । तर, आमाको भावना घरमा खेतबारी गाईवस्तु पालेका छोरीहरू पढ्न गए भने घरको काम कसले गरिदिन्छ भन्ने खालको हुँदा उनलाई स्कुल जाने अवसर जुटेन । 

त्यसो त उनले भागेर १-२ पटक स्कुल जाने प्रयास पनि नगरेकी होइनन् । त्यसरी जाँदा आमाले स्कुल गइस् भने आँटो ढिँडो खान भित्र पस्न दिन्नँ भनेर धम्की खाइसकेछि उनले घर छोडेर जाने बाटो नदेखेर नै स्कुल जान छोडिन् । भन्छिन् त्यसैले खुम्चिएर बस्नुपर्यो ।  

औपचारिक रूपमा उनी स्कुल गइनन् । पछि उनले घरमा नै दाइहरूले लेखेको पाटीमा कखरा सिक्ने काम लालीगुराँसको मसी बनाएर गरेको उनी सम्झिन्छिन् । 

राजनीतिक प्रेरणा 

राजनीतिमा लाग्नुभन्दा पनि पहिला सामाजिक सेवामा तल्लीन थिए । समाजसेवाको भावना लिएर राजनीतिमा लागेकी हुँ । सामाजिक कार्यकर्ता हुदाँहुँदै राजनीतिमा कतिबेला छिरें पत्तै भएन । 

विकट दूरदराजका महिलामाथि धेरै हिंसा हुन्थ्यो । उनीहरू अधिकारप्रति सचेत हुने कुरै भएन । घरबाहिर निस्कँदा महिलालाई सबैले हेप्ने नराम्रो दृष्टिबाट हेर्ने गर्दथे । हुन त अझै पनि त्यस्तो किसिमको घृणित नजर पूर्ण रूपमा निषेधित हुन सकेको छैन । त्यतिबेला पुरुषहरूले बाटो छेक्ने, गिज्याउने जस्ता दुव्र्यवहार गर्थे महिलाहरूमाथि । यस्ता प्रवृति हाम्रो समाजमा रहेको हुँदा त्यो प्रवृत्तिमा ठोक्किन पुगेपछि असह्य पीडा हुन्थ्यो । जसले गर्दा समाजसेवा हुँदै राजनीतिमा अवतरण हुन पुगें । 

म महिला किन भएको होला भनेर उल्टै आफू महिला भएको दुःखी हुन थालें । म पुरुष थिएँ भने समाजमा यस्तो व्यवहारको सामना गर्नु पर्दैनथ्यो भन्ने लाग्थ्यो मलाई । 

यसको विरुद्ध कसरी लड्ने महिलाहरु कसरी एकजुट भएर अगाडि बढ्ने ? भन्ने भावना मेरो मनमा आउन थालिसकेको थियो । अर्कोतर्फ मेरो घरवरपर छरछिमेकका व्यक्तिहरुले दुःख पाएको चुपचाप हेर्न सक्ने क्षमता ममा थिएन । सबैको दुःखमा सामेल हुँदै गर्दा समाजलाई बुझ्न सहज हुँदै गयो । कस्तो दुःखमा कस्तो खालको सहयोग गर्ने ? मान्छेहरुलाई केले सहानुभूति दिन्छ ? कसरी समाजमा सेवा गर्न सकिन्छ भन्ने कुरा बुझ्न थालें र त्यतै रमाउन थालें । सबैलाई असजिलो पर्दा दुःखमा सघाउनुपर्छ भन्ने भावना आत्मादेखि नै आउथ्यो । 

थवाङमा महिलाको अवस्था 

थवाङमा महिलाको अवस्था अति नै जर्जर छ । र पनि विगतको भन्दा केही सुधार भएको छ । तर, फेरि पनि महिलाहरूले जुन स्थान पाउनुपर्ने हो, उनीहरूमा समयअनुसार जुन परिवर्तन हुनुपर्ने हो, त्यो हुन सकेको छैन । 

विगतको दिनमा युवावर्ग जनयुद्धमा लाग्नाले महिलालाई केही पछि पार्यो भने अर्कोतर्फ महिलाहरुलाई सशक्त बनायो पनि । जनयुद्धमा लागेर अगाडि बढ्नेहरू सशक्त भए । जो खुम्चिएर घरमा बस्नुपर्यो उनीहरूमाथि थिचोमिचो भई नै रह्यो ।  

उनीहरूले अहिले पनि मैले यो गर्ने हो भनेर फैसला लिन आँट गर्न सक्दैनन् । पछाडि पर्नुको दोस्रो कारण जनयुद्धको बेला सबै पुरुषबाहिर जानु, महिला एक्लैले घर धानेर नानी बाबुलाई सम्हाल्नुपर्ने बोझ, अनि खेतबारी गाईवस्तु हेर्ने जिम्मेवारी बढी भएको हुँदा उनीहरूले बाहिर केही बुझ्ने अवसर नै पाएनन् । त्यो पनि महिलावर्ग पिछडिनुको मुख्य कारण हो ।  

सरकारको कार्यशैली 

सरकारले गरेका कामहरू अतिसराहनीय रूपमा आइरहेको छ । योजनाहरू सीधै गाउँगाउँमा सिहंदरबार भन्ने सरकारको जुन योजना छ । त्यो पुगिसकेको छ । तर, त्यसलाई हामीहरूले कसरी लागू गर्ने भनेर त्यहाको महिलाहरूले त्यसको विषयमा बुझेकै छैनन् । सरकारबाट अनुदान पाइन्छ हामीलाई यति लाभ हुन्छ । हामीले पनि आत्मनिर्भर हुन समूह सहकारी बनाएर अगाडि बढ्नुपर्छ भन्ने कुराको ज्ञान नै छैन ।  

योजनाहरू यताबाट परिरहेको छ । विना समूह, विना सहकारी त्यो योजना पर्न सम्भव नै भएन । उनीहरूलाई समूहमा कसरी एकजुट हुने सहकारिता कसरी बनाउने योजना कसरी भित्र्याउने भन्ने कुराहरु थाहा नै नभएको हुदाँ आएका विभिन्न योजनाहरू पार्न असजिलो भएको छ । 

त्यसको विषयमा लागि महिलाहरु नै जागरुक हुनुपर्छ । महिलाहरु जनचेतनाको कमी हुनाले खोज्दैनन् । पुरुषहरुले तिमीहरुले यो गर्नुपर्छ भनेर अगुवाइ गर्दैनन् । त्यो पनि मुख्य कारण हो । 

राष्ट्रिय सभामा महिला 

लगभग सबै महिलाहरु सक्रिय हुनुहुन्छ । राष्ट्रियसभामा महिलाको राम्रो सहभागिता छ । राम्रो भूमिका खेलिरहेका छन् । विगतमा नयाँ महिलाहरु अलि नबुझ्ने अवस्थामा थिए । अहिले चाहिँ सबै कुराहरु बुझ्दै काम गर्दै अगाडि बढेका छन् । 

निर्मला हत्या प्रकरण 

निर्मला प्रकरण अतिदुःखद कुरा हो । जनताले प्रहरी र प्रशासनसँग जुन आशा राखेको थियो, त्यो पूरा हुन सकेन । उनीहरुले त्यसको सबुत मेटाइदिने काम गरे पनि छानबिन भएको छैन । यो घटनाले सबैलाई मर्माहत बनाएको छ । यस्तो घटना अब नहोस् भन्ने कुरामा पनि हामी सजग हुनुपर्छ । प्रहरी प्रशासनलाई पनि सजग बनाउनुपर्छ । यसको विषयमा चेतना जगाएर अगाडि बढ्नुपर्ने हुन्छ । ताकि, अरु घटनाहरु घट्न नपाऊन् ।  

अन्तत,

सरकारले महिलाहरुलाई समेटेर लाने प्रयास गरिरहेको छ । महिलाहरुले आ-आफ्नो क्षेत्रमा जनचेतना जगाउँदै महिलाहरुलाई अधिकारको विषयमा जागरुक बनाएर सम्पूर्ण महिलालाई हाम्रो हक अधिकार के हो भनेर बुझ्न जन-जागरण गराएर अगाडि बढ्नुपर्छ । जसले आज म पुगेको ठाउँमा भोलि अर्को महिला आउन सहयोग गरोस् । यो संसारको आधा आकाश आधा धर्ती ओगेटेको महिलाले आफ्नो अधिकार पूर्णरूपमा पाऊन् भन्ने मेरो धारणा हो । 

सम्बन्धित समाचार

'सहकारी नियमावली आँउदैमा जादुको छडी जस्तो समस्या समाधान हुदैन, समय लाग्छ'

काठमाडौँ । विगत लामो समयदेखि सहकारी क्षेत्रमा विविध समस्याहरु देखापरेका छन् । यस क्षेत्र विशेषगरी सहकारी टिक्ने र नटिक्ने तथा बचतकर्ताहरुको रकम सुरक्षित हुन्छ कि हुदैन भन्ने ठूलो चुनौती रहेको

राजनीतिले लेखनमा 'गाइड' गर्दछ : धर्मेन्द्र नेम्बाङ

लामो समयदेखि साहित्य लेखन तथा राजनीतिमा सक्रिय रहँदै आएका कवि धर्मेन्द्र नेम्बाङको दोस्रो कविता संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ यही वैशाख १४ गते शनिबार मण्डला थिएटरमा एक कार्यक्रममा बीच

मैले प्रतिस्पर्धा वा व्यापारका लागि कथा लेख्ने होइन : एल. बी. क्षेत्री

चितवनमा बसेर साहित्य लेखन तथा साहित्यिक गतिविधिमा सक्रिय रहेका लेखक एल.बी. क्षेत्रीको कथासंग्रह ‘व्रतभङ्ग’को विमोचन वैशाख २१ गते एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुँदैछ । पुस्तकलाई बीएन प्रकाशनले बजारमा ल्याउन

महिलालाई जिम्मेवारी दिनै कन्जुस्याइँ गरेको अवस्था छ - शशी श्रेष्ठ

काठमाडौँ । काभ्रे जिल्लाको मंगलटार बजारमा जन्मिएकी शशी श्रेष्ठ काठमाडौंबाट नेकपाकी प्रतिनिधिसभा सदस्य हुन् । सांसद श्रेष्ठ सांसदको भूमिकासँगै संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको भूमिकामा पनि अहिले सक्रिय


z