• २०८१ बैशाख ७ शुक्रबार

लोकसभा चुनावको पूर्वसन्ध्यामा किन बलिउडसँग नजिकिंदै छन् मोदी?

kharibot

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत सेलिब्रेटीहरूलाई आगामी लोकसभा चुनावमा आम जनतालाई मतदानका लागि प्रोत्साहन गर्न आह्वान गरेका छन् । उनले ट्वीटरमा आफ्ना पोस्टहरूमा चलचित्र, संगीत र खेलजगतका सेलिब्रिटीहरूलाई ट्याग गर्दै आफ्नो प्रभावको उपयोग गरेर मतदाताहरूमा सचेतना फैलाउन र उनीहरूलाई ठूलो संख्यामा निर्वाचनमा सहभागी हुन प्रोहोत्सान गर्न अपिल गरेका हुन् ।

मोदीले सचिन तेन्दुलकर, लता मंगेस्कर, एआर रहमान, अमिताभ बचन, शाहरूख खान, आमिर खान, सलमान खान, मोहनलाल, नागर्जुना, करण जोहर, रनवीर सिंह, आलिया भट्ट, विक्की कौशल, मनोज बाजपायी, दीपिका पादुकोण, अनुस्का शर्मा लगायतका सेलिब्रिटीहरूलाई आफ्नो ट्वीटमा ट्याग गरेका हुन् ।

भारतीय संचारमाध्यमहरूकाअनुसार मोदीले यसपटकको लोकसभा चुनावमा कीर्तिमानी सङ्ख्यामा मतदाताहरूलाई सहभागी गराउने उदेश्यसहित सेलिब्रेटीहरूको प्रयोग गरेका हुन् । उनले बलिउडका कलाकारहरूलाई आफ्ना ट्वीटहरूमा चलचित्रका डायलग एवम् अन्य सन्दर्भहरूको प्रयोग पनि गरेका थिए ।

त्यसैगरी एआर रहमान, अक्षय कुमार, करण जोहर र मनोज बाजपेयीले भने लोकतन्त्रमा मतदानको महत्वबारे उल्लेख गर्दै मोदीको ट्वीटको रिप्लाई पनि दिएका थिए ।

नरेन्द्र मोदी पछिल्लो समयमा बलिउडका सेलिब्रिटीहरूसँग निकै नजिक हुँदै गरेको देखिएको छ । उनले विभिन्न समयमा बलिउडका फिल्मकर्मीहरूलाई प्रधानमन्त्री कार्यालयमा निमन्त्रणा गरेर अन्तरक्रिया गर्ने गरेका छन् । त्यसैगरी सेलिब्रिटहरूले पनि मोदीसँग खिचेको सेल्फीलाई उत्साहपूर्वक आफ्ना सामाजिक संजालमा शेयर गर्ने गरेका छन् ।

भारतले २०१६ मा पाकिस्तानमाथि गरेको सर्जिकल आक्रमणमा आधारित भएर बनेको चलचित्र ‘उरी: द सर्जिकल स्ट्राइक’ सत्तापक्षीय भारतीय जनता पार्टीमाझ अत्यन्त लोकप्रिय बनेको थियो । मोदीले त विभिन्न कार्यक्रमहरूमा आफ्नो भाषणको सुरुवात नै उरीको चर्चित डायलग ‘हाउज द जोश’बाट गर्ने गरेका थिए ।

त्यसैगरी पछिल्लो केही समयदेखि बलिवुडमा बिजेपीको राजनैतिक विचारलाई सहयोग पुग्ने किसिमको प्रोपागाण्डा चलचित्रहरू बन्ने गरेको देखिएको छ । यसै वर्ष रिलिज भएको ‘उरी: द सर्जिकाल स्ट्राइक’ले बिजेपी सरकारले गरेको सर्जिकल आक्रमणको ‘ग्लोरिफाई’ गर्दै देशभक्तिको चर्को नारासंगै प्रस्तुत गरेको थियो ।

त्यस्तै पूर्वप्रधानमंत्री मनमोहन सिंहको कार्यकालमा आधारित रहेर बनाइएको चलचित्र ‘द एक्सीडेन्टल प्राइममिनिस्टर’ मा मनमोहन सिंहलाई एकदमै कमजोर नेताका रुपमा प्रस्तुत गरिदै उनी सोनिया गान्धीको कठपुतली भएको देखाइएको थियो ।

त्यसैगरी २०१९ मै नरेन्द्र मोदीको जीवनमा आधारित रहेर बनेको एक चलचित्र र एउटा वेब सिरिज पनि रिलिज हुँदैछन् । ‘पीएम नरेन्द्र मोदी’ नाम दिइएको बलिउड चलचित्रमा विवेक ओबरोयले मोदीको भूमिका निर्वाह गर्दै छन् भने चलचित्रको निर्देशन राष्ट्रवादी फिल्महरू बनाउने उमंग कुमारले गर्नेछन् ।

चलचित्रमा मोदीकै गुणगान गाइने अपेक्षा गरिएको छ र चलचित्रको ट्यागलाईन नै ‘देशभक्ति मेरी शक्ति’ रहेको छ । त्यसैगरी मोदीको जीवनमा बन्ने वेब सिरिज लोक सभा चुनावकै बेला रिलिज हुने जनाइएको छ । ‘मोदी’ नाम दिइएको उक्त सिरिजलाई इरोस इन्टरनेसनलले निर्माण एवम् उमेस शुक्लाले निर्देशन गर्दै छन् । फिल्मका निर्माताहरूले सिरिजको घोषणा गरेकै बेला यस सिरिजले मोदीको प्रभाव र प्रेरणालाई प्रस्तुत गर्ने बताइसकेका छन् ।

भारतमा लोक सभाको चुनाव आउने बेला राजनैतिक रुपमा आफूलाई खासै प्रस्तुत नगर्ने बलिउडका सेलिब्रिटीहरू सत्ता पक्षसँग यसरी नजिक बन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विगतमा सत्तापक्षसँग बाझिने विचार राख्दा विजेपीका कार्यकर्ता र समर्थकको निशानामा परेको तीतो अनुभव संगालेको बलिउडले अहिले भने कुनै जोखिम मोल्न नचाहेर सत्तापक्षकै लाईनमा आफूलाई प्रस्तुत गर्न खोजेको देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै