• २०८१ बैशाख ७ शुक्रबार

बिचल्लीमा नवलपरासीका उखु किसान

kharibot

नवलपरासी । लगाएको उखु बाली खेतमै सुक्दै गएपछि पश्चिम नवलपरासीका किसान बिचल्लीमा परेका छन् । समयभन्दा करीब दुई महीना ढिलो सञ्चालनमा आएका चिनी उद्योगहरुले किसानको सहजै रुपमा सबै उखु खरीद नगरेपछि किसान बिचल्लीमा परेका हुन् ।

अहिले पश्चिम नवलपरासी जिल्लामा रहेका इन्दिरा, लुम्बिनी र वाग्मती गरी तीन ठूला उद्योग सञ्चालनमा छन् भने मोहीनी चिनी उद्योग स्थापना भएको वर्षबाहेक पूर्ण रुपमा बन्द रहँदै आएको छ ।

सञ्चालनमा रहेका चिनी उद्योग पनि बीचबीचमा विभिन्न प्राविधिक कारणले अबरुद्ध हुनु र लुम्बिनी चिनी उद्योगले सूचना टाँस गरेर केही दिनमात्रै उद्योग सञ्चालनमा आउने जनाएपछि यस वर्ष उत्पादन भएका सबै उखु पेलिने सम्भावना निकै कम छ ।

सबै चिनी उद्योग समयभरि सञ्चालनमा आएका किसानले उत्पादन गरेका सबै उखु पेलिने वाग्मती चिनी उद्योगका महाप्रबन्धक टङ्कनाथ काफ्ले बताउनुहुन्छ । सञ्चालनमा आएका चिनी उद्योगले पनि उखु किसानसँग पर्याप्त मात्रामा उखु खरीद नगरेपछि किसान चिन्तित बनेको उखु किसानका अगुवा प्रतापपुर–६ गुठीप्रसौनीका धीरज त्रिपाठीको भनाइ छ ।

त्रिपाठीका अनुसार यसपटक चिनी उद्योगहरुले आवश्यकताअनुसार मात्र उखु खरीद गर्ने गरेका छन् । किसानले उत्पादन गरेको सबै उखु यस वर्ष खपत नहुने निश्चित देखिन्छ । इन्दीरासुगर मिलबाट अघिल्लो वर्षको करीब चार करोड उखु खरीद गरेवापतको बाँकी रकम हालसम्म पनि किसानले पाएका छैनन् । अझ चिनी उद्योगले उखु किसानले उत्पादन गरेको सबै उखु खरीद नगर्ने अवस्था देखिएपछि किसान मर्कामा परेका हुन् ।

पश्चिम नवलपरासीमा यसवर्ष करीब १८ उखु लाख क्विन्टल उखु उत्पादन भएको अनुमान छ । चिनी उद्योगले यस यामभर उद्योग सञ्चालन गरेपनि करीब १२ लाख क्विन्टल मात्र उखु पेलिने अवस्था देखिन्छ ।

किसानको सबै उखु पेलानी हुन नसक्ने अवस्था आएपछि किसान निकै समस्यामा परेका छन् । अघिल्लो वर्षको रकम नपाउने र यस वर्ष सबै उखु उद्योगले खरीद नगर्ने भएपछि किसान दोहोरो मारमा परेको उखु किसानका अगुवा प्रतापपुर–६ गुठीप्रसौनीका दिनेश त्रिपाठीले बताए ।

यसवर्ष समयमै उखु पेलानी नहुनु र ढिलै भएपनि सबै उखु पेलानी नहुने भएपछि लगाएको उखु खेतमै सुक्दै जाँदा किसानमा निराशा बढको छ ।

केही मात्रमा भारतीय उखुसमेत नेपाल भित्रिएकाले किसान झन समस्यामा परेको उखु कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । राज्यले उखु बालीलाई राष्ट्रिय बालीको रूपमा घोषणा गरे पनि उखु किसानको समस्या समाधान हुन सकेको छैन् । सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु ५३६.५६ पैसा निर्धारण गरिसकेको छ ।

पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करीब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै