काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ ।
सरकारले नेकपामाथि लगाएको प्रतिबन्धको विरोधमा विप्लव समूहले एक दिने बन्दको आह्वान गरेको हो । बन्दको कारण उपत्यकाकालगायत देशका विभिन्न जिल्लामा रहेका सरकारी तथा निजटी शैक्षिक संस्थामा पठनपाठन बन्द भएको छ । सार्वजनिक यातायातमा आंशिक प्रभाव परेको छ ।
सडकमा निजी सावारी साधनहरु प्रशस्त गुडेका भएपनि सार्वजनिक यातायात कम चल्दा यात्रुलाई समस्या भएको छ । सरकारले नेपाल बन्दलाई ध्यानमा राखेर देशभरको सुरक्षा व्यवस्था कडा पारिएको सरकारले जनाएको छ ।
बन्दका क्रममा बुधबार रातिदेखि नै विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु फेला पर्ने क्रम जारी छ । बुधबार साझ काठमाडौँको सिंहदरबार नजिकै अनामनगरमा कुकुर बम फेला परेको थियो । बिहीबार बिहान देशका विभिन्न भागमा बम राखिएको भेटिएको छ ।
प्राप्त विवरण अनुसार हेटौडाको पूर्ब-पश्चिम राजमार्गअन्तर्गत पशुपतिनगरमा सेतो प्लास्टिकमा बिस्फोटक पदार्थ राखिएको फेला परेको छ ।
त्यस्तै बुटवलस्थित कालिकाचोकमा शंकास्पद वस्तु भेटिएको छ भने नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस्तै पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा पनि शंकास्पद वस्तु भेटिएको थियो ।
दाङ, प्यूठान, रुकुम, कैलालीका विभिन्न ठाउमा शंकास्पद बस्तु भेटिएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बन्दकर्ताले बसमा आगजनी गरेका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।
त्यस्तै नवलपरासीमा दुई ट्रकमा आगजनी भएको छ । जिल्ला प्रहरी नवलपरासीको अनुसार काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको ट्रकमा आगजनी भएको हो ।
त्यस्तै मकवानपुरको थाहा नगरपालिका–४ नयाँगाउँमा एक ट्रकमा आगजनी गरिएको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बरको ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले बताएको छ ।