• २०८१ बैशाख ६ बिहीबार

गुगलले सार्वजनिक गर्यो आफ्नो नयाँ मोबाइल अपेरेटिंग सिस्टम एण्ड्रोइड क्युको बेटा भर्सन

kharibot

गुगलले आफ्नो नयाँ मोबाइल अपेरेटिंग सिस्टम एण्ड्रोइड क्युको बेटा भर्सन आधिकारिक रुपमा रिलिज गरेको छ । नयाँ अपेरेटिंग सिस्टममा प्रयोगकर्ताको गोपनियता र सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको गुगलले जनाएको छ ।

रिलिज गरिएको एण्ड्रोइड क्युको बेटा भर्सन अहिलेलाई भने केवल गुगलका पिक्सेल स्मार्टफोनहरूमा मात्र चलाउन मिल्नेछ । पिक्सेल बाहेकका फोनहरूमा भने अहिलेलाई एण्ड्रोइड इमुलेटरको सहायतामा चलाउनु पर्नेछ । गुगलले एण्ड्रोइड क्युको पूरा संस्करण आगामी मेमा लन्च गर्ने जनाएको छ ।

एण्ड्रोइड क्युले प्रयोगकर्ताहरूलाई आफ्नो लोकेसन डाटामा पहिले भन्दा थप नियन्त्रण दिने जनाइएको छ । प्रयोगकर्ताहरूमा एण्ड्रोइड क्युमा एपहरूलाई आफ्नो लोकेसन डाटामा कति पहुँच दिने भन्ने कुराको नियन्त्रण गर्न सक्छन् । अहिलेको एण्ड्रोइड फोनहरूमा कुनै एपले फोनको लोकेसन मागेपछि प्रयोगकर्ताले लोकेसन इनेबल गर्दा एपले फोनको लोकेसन डाटामा पूरा पहुँच प्राप्त गर्छन् ।

तर अब एपहरूलाई लोकेसनकाबारे पहुँच दिन प्रयोगकर्तासँग विभिन्न विकल्पहरू हुनेछन् । जसअनुसार एप चलिरहेको बेला मात्र वा ब्याकग्राउण्डमा रहेको अवस्थामा एपलाई आफ्नो लोकेसन दिने कुरामा प्रयोगकर्ताको नियन्त्रण हुनेछ ।

त्यसैगरी एण्ड्रोइड क्युमा प्रयोगकर्ताले आफ्नो फोनमा रहेका फोटो, भिडियो वा अडियो फाइलहरूमा एपहरूको पहुँचलाई पनि थप नियन्त्रण गर्न सक्नेछन् । जसअनुसार प्रयोगकर्ताले एपसँग सेयर गरेका फाइलमा पनि प्रयोगकर्ताले एपलाई कतिसम्म पहुँच दिने भन्ने कुराको नियन्त्रण गर्नेछन् । त्यसैगरी एपहरूले ब्याकग्राउण्डमा रहेको बेला प्रयोगकर्ताको अनुमतिबेगर कुनै पनि कार्य गर्न बन्चित हुनेछन् ।

यसका साथै एण्ड्रोइड क्युमा फोनका रिसेट गर्न नमिल्ने पहिचानहरू जस्तै आइएमइआइ नम्बर, सिरियल नम्बर माथि पनि एपहरूलाई सिमित पहुँच दिने जनाइएको छ ।

त्यसैगरी गुगलले एण्ड्रोइड क्युमा एपहरू खुल्न लाग्ने समय र तिनले खपत गर्ने फोनको मेमोरीमा उल्लेखीय सुधार गरिएको दाबी गरेको छ । साथै फोनमा गेमहरूका लागि पनि थ्रीडी ग्राफिक्स र फोनका अन्य पक्षहरूमा सुधार गरिएको जनाइएको छ ।

त्यसैगरी गुगलले एण्ड्रोइड क्युमा ब्ल्युटुथ, मोबाइल डाटा र वाइफाई कनेक्सनलाई थप सुरक्षत र गोपनीय बनाएको दाबी गरेको छ ।

यसका साथै एण्ड्रोइड क्युमा प्रयोगकर्ताले आफ्ना फाइलहरूलाई अरुसँग सेयर गर्ने सुबिधालाई थप सुधार गर्दै सेयरिंग सर्टकट नामको एप हुनेछ जसले गर्दा प्रयोगकर्ताले अर्को फोनको जुनसुकै एपमा सिधै फाइल सेयर गर्न सक्नेछन् ।

त्यसैगरी गुगलले कम ब्याण्डविथमा एचडी भिडियोहरू स्ट्रिम गर्न आफ्नो एभी१ भिडियो कोडेकलाई थप सुधार गरेको जनाएको छ ।

एण्ड्रोइड क्यु गुगलको दशौँ अपेरेटिंग सिस्टम हो । यसभन्दा अगाडि गुगलले २०१८ अगस्टमा एण्ड्रोइड पाइ अपेरेटिंग सिस्टम रिलिज गरेको थियो ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै