मुम्बई । बलिवुड अभिनेता आमिर खानले आफ्नो ५४औ जन्मदिनको अवसरमा आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । आमिरले लोकप्रिय हलिउड चलचित्र ‘फरेस्ट गम्प’को बलिउड रिमेक बनाउने घोषणा गरेका हुन् ।
रिमेकको नाम ‘लालसिंह चढा’ हुने आमिरले जानकारी दिएका छन् । फिल्ममा आमिर खानले सरदारको भूमिका निभाउने भएको बतायका छन् । ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक बनाउन हलिउडको प्यारामाउन्ट पिक्चर्ससँग भायाकम र आमिर खान प्रोडक्सनले किनेको बताइएको छ ।
यस फिल्मको निर्देशन अद्वैत चन्दनले गर्ने निश्चित भएको छ ।
यो फिल्म अर्को बर्ष रिलिज हुने बताउदै आफुले यस फिल्मका लागि कम्तिमा २० किलो वजन घटाउने बताएका छन् । यसका लागि आफुले काम सुरु गरिसकेको भन्दै फिल्मको सुटिंग आगामी सेप्टेम्बरदेखि हुने उनले जानकारी दिएका छन् ।
बलिउडमा सुपरहिट फिल्म दिनसक्ने अभिनेताको छवि बनाएका आमिर खानको २०१८ को अन्त्यतिर रिलिज भएको पछिल्लो चलचित्र 'ठग्स् अफ हिन्दोस्तान' बक्स अफिसमा फ्लप भएको थियो । आफ्नो आगामी चलचित्र भने सफल बनाउनका लागि आमिरले हलिउडमा सफल बनेको चलचित्र रोजेको बुझ्न सक्निन्छ ।
सन् १९९४ मा रिलिज भएको टम हयांक्स अभिनित हलिउड चलचित्र ‘फरेस्ट गम्प’ले एकेडेमी अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता लगायतका ६ विधामा ओस्कार जित्न सफल भएको थियो ।
दर्शक र समीक्षक दुवैद्वारा अत्यन्त मन पराइएको उक्त चलचित्रले बक्स अफिसमा ६७ करोड डलर भन्दा बढी कमाइ गरेको थियो । रोबट जेमेकिसले निर्देशन गरेको चलचित्रमा टम ह्यांक्सका अलावा रोबिन राइट, ग्यारी सिन्से, माइकल टी विलियमसन लगायतका कलाकारले अभिनय गरेका थिए । उक्त चलचित्र अमेरिकी लेखक विन्स्टन ग्रुमको उपन्यास ‘फरेस्ट गम्पमा’ आधारित रहेर बनाइएको थियो ।