• २०८१ बैशाख ८ शनिबार

बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश

kharibot

अमेरिका । संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताए ।

इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको मृत्यु भएपछि विश्वव्यापी रुपमै बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्न थालिएको थियो । यही मोडेलको लायन एयरको विमान पनि छ महिनाअघि इन्डोनेसियामा उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

राष्ट्रपति ट्रम्पले उक्त आदेश जारी गरेलगत्तै अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासनले बोइङ ७३७ म्याक्स सिरिजका विमानमा कुनै कमजोरी नदेखेको दाबी गरेको छ । यद्यपी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै विमानका बारेमा केही “नयाँ सूचना” प्राप्त भएको बताएका थिए तर उनले यस बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरे ।

“सबै विमानको उडान स्थगन गरियो, र यो तत्कालै लागू भएको छ,” ट्रम्पले बताए । ट्रम्पले अमेरिकी जनताको सुरक्षा सर्वोपरी महत्वको भएको जनाउँदै अमेरिकी नागरिक उड्डयन प्रशासनले यस बारेमा थप प्रष्ट पार्ने बताए ।

राष्ट्रपति ट्रम्पले क्यानडाका अधिकारीहरु, अमेरिकी क्यारियर्स र विमान निर्माता बोइङसँग पनि समन्वय गरी बोइङ ७३७ म्याक्सका उडान स्थगन गर्ने घोषणा गरिएको बताए ।

“बोइङ अद्वितीय कम्पनी हो,” ट्रम्पले भने । “उनीहरु अहिले ज्यादै मिहिनेतका साथ काम गरिरहेका छन् र चाँडै समस्या सुल्झनेछ ।”

यसैबीच, बोइङले जारी गरेको विज्ञप्तिमा म्याक्स सिरिजका विमान पूर्ण सुरक्षित रहेको जनाउँदै भनिएको छ, “बोइङ ७३७ म्याक्सको सुरक्षाप्रति आफूहरुलाई पूर्ण आत्मविश्वास छ ।” कम्पनीले अमेरिकी नागरिक उड्डयन प्रशासनसँग बसेर विमानको सुरक्षा प्रबन्धबारे एउटा निष्कर्षमा पुगिने जनाएको छ ।

बोइङका प्रमुख कार्यकारी डेनिस मुलेनबर्गले कम्पनीले सचेततापूर्वक सक्रियताका साथ कार्य गरिरहेको बताएका छन् ।

अमेरिका सहित युरोपेली मुलुकहरु, चीन, सिंगापुर, अस्ट्रेलिया, भारत लगायतका विश्वका अधिकांश मुलुकले बोइङ ७३७ सिरिजका विमानहरुको उडान स्थगन गर्ने र आफ्नो आकाशबाट उड्न नदिने घोषणा गरिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै