• २०८१ बैशाख ११ मंगलबार

मङ्गल ग्रहमा पाइला टेक्ने पहिलो अन्तरिक्षयात्री महिला हुनसक्ने नासा प्रमुखको भनाइ

kharibot

मङ्गल ग्रहमा पाइला टेक्ने पहिलो अन्तरिक्ष यात्री महिला हुनसक्ने प्रबल सम्भावना रहेको नासाका प्रमुखले जनाएका छन् ।

नासाका प्रशासक जीम ब्राइडेस्टाइनले अमेरिकाको एक रेडियो कार्यक्रममा नासाको आगामी अन्तरिक्ष कार्यक्रमहरूमा महिला अन्तरिक्ष यात्री र वैज्ञानिकहरूलाई प्रमुख प्राथमिकतामा राखिने जानकारी दिएका थिए ।

त्यसैगरी उनले चन्द्रमामा पुग्ने अघिल्लो अन्तरिक्ष यात्री पनि महिला नै हुने सम्भावना रहेको बताएका छन् ।

नासाले यही महिनाको अन्त्यतिर पहिलोपटक महिला मात्र समावेश भएको अन्तरिक्ष यात्रीको टोलीद्वारा अन्तर्राष्ट्रिय स्पेस स्टेसन(आइएसएस)मा 'स्पेसवाक'को आयोजना गर्दै छ । नासाका अन्तरिक्ष यात्री एन म्याकक्लेन र क्रिस्टिना कोचले मार्च २९ गते करिब ७ घण्टा अन्तरिक्ष यान बाहिर 'स्पेसवाक' गर्नेछन् ।

'स्पेसवाक' भनेको अन्तरिक्षमा आफ्नो यानभन्दा बाहिर गएर कुनै कार्य गर्नु हो । अन्तरिक्ष यात्रीहरूले स्पेसवाकका रुपमा विभिन्न वैज्ञानिक प्रयोग गर्नुका साथै नयाँ उपकरणको परिक्षण गर्ने गर्दछन् । त्यसैगरी अन्तरिक्ष यान वा उपग्रहहरूमा समस्या आउँदा पनि ती यानलाइ पृथ्वीमा फिर्ता ल्याउनुको सट्टा अन्तरिक्ष मै मर्मत गर्नु परेमा स्पेसवाक गर्ने गरिन्छ ।

नासाका अनुसार अहिले उक्त संस्थामा झन्डै ३४ प्रतिशत महिला अन्तरिक्ष यात्री रहेका छन् ।

नासाले २०२० अगस्टतिर आफ्नो ‘मार्स २०२० मिसन’अन्तर्गत एउटा रोभर मङ्गल ग्रहका लागि प्रक्षेपण गर्ने जनाएको छ । जसमा रहेका सातवटा उपकरणहरूले मङ्गल ग्रहमा अहिलेसम्मकै सबैभन्दा महत्वकांक्षी वैज्ञानिक अनुसन्धान गर्ने नासाको योजना रहेको छ ।

यसअघि प्रक्षेपण गरिएका नासाका क्युरोसिटी, अपरच्युनिटी र स्पिरिट रोभरले हाँसिल गरेको उपलब्धिको सहयोगमा नासाका वैज्ञानिकहरूले मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे थप अध्ययन अनुसन्धान गर्नेछन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै