• २०८१ बैशाख ८ शनिबार

साफ महिला फुटबल : बंगलादेशसँग भुटान पराजित, नेपाल सेमिफाइनलमा 

kharibot

विराटनगर ।  साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेको छ ।

शहिद रंगशालामा बिहीबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बंगलादेश दवावमा देखिएको थियो । तर दोस्रो हाफको ४७औं मिनेटमा मिश्रत जाहान मोसुमीले अग्रता दिलाएकी थिइन् । त्यस्तै खेल सकिन ५ मिनेट‌ बाँकी रहँदा कप्तान सविना खातुनले एकल प्रयासमा सुन्दर गोल गर्दै बंगलादेशको जित सुनिश्चित पारिन् ।

यस जितसँगै बंगलादेशले पनि जितको खाता खोलेको छ । नेपाल र बंगलादेश दुवैको समान ३-३ अंक भएपनि नेपाल गोल अन्तरमा अगाडी छ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो ।

यससँगै दुवै नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । शनिबार हुने खेलले समूह ए को विजेताको छिनोफानो हुने छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स रहको छ ।

पाँचौ साफ महिला फुटबल प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा सार्क देश पाकिस्तान भने सहभागी भएको छैन ।

प्रतियोगितामा अब चैत्र १ गते माल्दिभ्स र श्रीलंका, चैत्र २ गते नेपाल र बंगलादेशबीच खेल हुने छ । त्यस्तै समुह चरणको अन्तिम खेल चैत्र ३ गते श्रीलंका र भारतबीच खेल हुने छ ।
त्यस्तै चैत्र ६ गते दुवै सेमिफाइनल खेल हुनेछन् भने चैत्र ८ गते प्रतियोगिताको फाइनल खेल हुने छ । समुह चरणका सबै खेल अपराह्न ३ बजे हुने छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै