लिम्बूवानमा स्वायत्त हुने स्वभाव बढी छ : कवि स्वप्निल स्मृति

खरीबोट

पाँचथरका कवि स्वप्निल स्मृति सीमान्तकृत, उत्पीडित र अल्पसंख्यकहरूको पक्षमा वकालत गर्दै लामो समयदेखि कलम चलाउँदै आएका छन् । ६० को दशकमा नेपाली साहित्यमा सामान्य बहुरङ्गवादको अभियान सुरु गरेका उनका 'रङ्गैरङ्गको भीर’ (२०६२) र ‘बाडुली र सुदूर सम्झना’ (२०६८) गरी दुई कवितासंग्रहहरू प्रकाशित छन् । लेखनमा आफ्ना मौलिक लिम्बू र किराँत संस्कृतिका मिथकहरूलाई झल्काउने उनी पहिचानको आन्दोलनमा पनि चर्को आवाज उठाउँदै आएका छन् । प्रस्तुत छ पहिचान आन्दोलनको समकालीन अवस्था र उनको साहित्यिक यात्रामा केन्द्रित रहेर कवि स्वप्निल स्मृतिसँग खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश :


पछिल्लोसमय के-मा व्यस्त हुनुहुन्छ? ‘बाडुली र सुदूर सम्झना’ (२०६८) पछि कविका रुपमा तपाईंको छवि लोकप्रिय बन्यो तर त्यसपछि अर्को कवितासंग्रह आएन नि?

म अहिले लेखपढमै व्यस्त छु । तपाइँले उल्लेख गर्नु भएको मेरो कवितासंग्रह दोस्रो हो । ०६२ सालमा ‘रङ्गैरङ्गको भीर’ मेरो पहिलो कविताकृति प्रकाशित भयो । त्यतिखेर हामी धर्मेन्द्रविक्रम नेम्बाङ, चन्द्रवीर तुम्बापो, समदर्शी काइँला लगायत ‘रंगवाद’ साहित्य अभियानमा सक्रिय थियौँ । त्यस संग्रहमा स्वभाविक रुपले रंगवादी दर्शन र आग्रहका कविता परेका छन् । त्यसैले त्यो सिमित पाठकको चासोमा मात्र पर्यो कि ! तुलनात्मक रुपमा पछिल्लो कृति आमरुचिमा परेको सत्य हो । यसको तेस्रो संस्करण पनि फिनिक्स बुक्सबाट बजारमा आइसकेको छ ।

हालसालचाहिँ नयाँ संग्रहको जमर्कोमा छु । शायद अर्को वर्षको अन्तिमतिर आउँछ ।


कवि हेमन यात्रीले तपाईं उपन्यास लेखनमा व्यस्त हुनुहुन्छ भन्ने संकेत गर्नुभएको थियो । कस्तो विषयवस्तुमा केन्द्रित छ यो उपन्यास? कहिले आउँछ बजारमा ?

संकेत आधा सत्य हो । उपन्यासकै लेखनमा व्यस्त छैन । एक झमट लेख्छु भनेर प्रकाशकबाट पेश्की लिएर एक महिना रिसर्चमा हिँडे पनि । ‘वान लाइन स्टोरी’ तयार पनि भयो । फेरी अरु पारिवारिक व्यवहार व्यवस्थापन गर्न लाग्दा त्यो त्यसै थन्किरहेको छ । विषयबस्तुको बारेमा सोधिहाल्नु भयो । सेक्रेट राख्दा नि हुने हो । खासमा यसलाई लिम्बूवानसँग जोड्न खोजेको छु । आउन चाहिँ समय लाग्छ ।     


सन् २०१० तिर मध्यपूर्व र अरब राष्ट्रहरूमा सुरु भएको 'अरब स्प्रिङ आन्दोलन'को जस्तै नाम राखेर ‘लिम्बूवान स्प्रिङ आन्दोलन’ सुरु भएको छ जसमा तपाईं पनि सक्रिय देखिनुभएको छ । कस्तो आन्दोलन हो यो? यसप्रति तपाईंको के छ विचार?

यस आन्दोलनको अभियान्ता नै चाहिँ होइन म । आलोचनात्मक समर्थन हो मेरो ।

नेपालको समग्र पहिचान आन्दोलनमा लिम्बूवान जेठो हो । आन्दोलन पटक—पटक बल्दै निभ्दै गरेको देखिन्छ । इतिहासमा १८३१ सालमा गोर्खा राज्य र लिम्बूवान बीच सह—राज्यको सम्झौता भएको भेटिन्छ । तर त्यस सम्झौतामा पनि सबै लिम्बू सहमत नभएर विद्रोहहरू हुँदै आएको छ ।

मुलुकको पूर्वी छेऊ, साथै भोट, सिक्किम र इष्ट इण्डिया कम्पनीको अधिनमा रहेको भारतले छुने हुँदा तत्कालमा लिम्बूवानको ठूलो सामरिक महत्व थियो । त्यसमा पनि लिम्बूवान र सिक्किम बीच, अहिले भनिन्छ नि मधेसलाई इण्डियासँग जोडेर रोटी र बेटीको सम्बन्ध, त्यस्तै त नभनौँ, सिक्किमले लिम्बूवानलाई गोर्खासँग लड्न पछिसम्मै सहायता गरेको भेटिन्छ । त्यतिखेर लिम्बू, भोटे र लाप्चा तीन जातिको सत्ता साझेदारीमा सिक्किम अस्तित्वमा थियो । अहिले सिक्किम भन्ने अलग्गै देश छैन ।

भूगोलको पल्लो छेउमा हुनु, अन्य छिमेकी राष्ट्र भारत र चीनसँग जोडिनु, आफ्नो सहराज्य अर्थात् केन्द्रीयसत्तासँग टाढो रहनु आदि कारणले पनि लिम्बूवानमा स्वायत्त हुने स्वभाव बढी छ जस्तो लाग्छ । यसबाहेक हिजो राज्यसँग भएको सम्झौताको ऐतिहासिक विरासत पनि छ ।

भूगोलको पल्लो छेउमा हुनु, अन्य छिमेकी राष्ट्र भारत र चीनसँग जोडिनु, आफ्नो सहराज्य अर्थात् केन्द्रीयसत्तासँग टाढो रहनु आदि कारणले पनि लिम्बूवानमा स्वायत्त हुने स्वभाव बढी छ जस्तो लाग्छ । यसबाहेक हिजो राज्यसँग भएको सम्झौताको ऐतिहासिक विरासत पनि छ ।

यीभन्दा नि महत्वपूर्ण पाटोचाहिँ किपट हो । किपटले जल, जंगल र जमिनमाथि स्थानीय लिम्बू तालुकदार या सुब्बामार्फत् लिम्बूसमुदायको स्वामित्वलाई प्रत्याभूत गर्थ्यो । सुरुमा लिम्बूवान र राज्यबीच किपटकै विषयमा किचलो बढेको देखिन्छ । किनभने त्यतिखेर उत्पादनको प्रमुख स्रोत नै जमिन अर्थात् किपट थियो । राज्यले विस्तारै लिम्बूवानलाई फकाउँदै, थर्काउँदै किपटको अधिकार छिनेपछि धेरै लिम्बूको अवस्था कमजोर भयो । जो सुब्बा थिए, किपटीया थिए अर्थात् स्थानीय सामन्तहरू विस्तारै राज्यसत्ताको लमूलप्रवाहमा स्थापित हुँदै गए । बाँकी लिम्बूमा कोहीले गोर्खा भर्तीको भर, कोही आसाम मधेस, देश—परदेशले जीवन गुजारा गर्नुपर्ने भयो ।

त्यसैले लिम्बूवान आन्दोलनको वैचारिकी जहिल्यै माटो भएको छ । माटोको कुरा नगर्नेजति चाहिँ राज्यको मूलप्रवाहमा रहेका दलका नेता या कार्यकर्ताको बाटोमा छन् ।


‘लिम्बूवान स्प्रिङ आन्दोलन’ लहड मात्र त होइन ?

अघि नै भनिसकेँ, आन्दोलनको लामो ऐतिहासिक पृष्ठभूमि छ, यो फेसबुकमार्फत् आएको कुनै ‘एप्स्’ जस्तो चाहिँ होइन । ‘लिम्बूवान स्प्रिङ रिभोलुसन’ जो भनियो शब्द चयनमा मेरो विमति रह्यो । हुन त साहित्यमा ‘कुकुर कविता’ भनेजस्तै प्रयोग गरिएको होला । ‘स्प्रिङ’ले आन्दोलनलाई पुनर्जीवन दिएर क्रान्ति गर्ने मनसाय चाहिँ ठीकै हो । मेरो विचारमा लिम्बू संस्कृति या लिम्बूवानका योद्धा, पुर्खा आदिको नामलाई जोडेको भए लिम्बूवानको तल्लो तहसम्मले सहज रुपमा आत्मसाथ गर्न सक्थ्यो कि !

अर्कोचाहिँ आन्दोलनको कार्यनीतिमा हो । शान्तिपूर्ण ठीक छ तर सार्वजनिक रुपमा लिम्बूवान विरोधीलाई बहिष्कार गर्दै जाने कार्यनीतिले सिधासिधी मुठभेड निम्त्याउँछ, तर परिणाम के त ?  त्योभन्दा नि आफ्ना न्यूनत्तम मागलाई स्थापित गर्न स्थानीय तह जस्तै गाउँपालिका, नगरपालिका, प्रदेश सरकार, संघीय सरकार आदिमा दबाब दिने, घेराउ गर्ने र न्यूनत्तम भए पनि प्रतिफल निकाल्नेतर्फ लागे राम्रो हुन्छ । यस्ता कार्यले आन्दोलनको महत्वलाई अलि बढी बलियो बनाउँदै लैजान्छ ।     


राजनीति, साहित्य र अन्य विभिन्न पाटाहरूबाट ६० को दशकको पहिचानको आन्दोलन अहिले सेलाएको अवस्थामा ‘‘लिम्बूवान स्प्रिङ आन्दोलन’ पहिचानको आन्दोलनकै फैलावट हो कि के हो ? के छन् भिन्नता ?

पहिचानको आन्दोलनलाई राज्यतवरबाटै ढिसमिस पार्ने काम भएकै हो । जनयुद्धको जगमा पहिचानको आन्दोलन उठेको निर्विवाद हो । शुरुमा बढी नै माओवादीले आगो झोस्यो यसमा तर पछि आफैँ डढ्ने संकेत पाउँदा क्रमशः निभाइदियो । अन्ततः माओवादी सकियो पनि ।

आफ्ना न्यूनत्तम मागलाई स्थापित गर्न स्थानीय तह जस्तै गाउँपालिका, नगरपालिका, प्रदेश सरकार, संघीय सरकार आदिमा दबाब दिने, घेराउ गर्ने र न्यूनत्तम भए पनि प्रतिफल निकाल्नेतर्फ लागे राम्रो हुन्छ । यस्ता कार्यले आन्दोलनको महत्वलाई अलि बढी बलियो बनाउँदै लैजान्छ ।  

अर्को चाहिँ के हो भने प्रतिक्रियावादी सत्ताले पहिचानलाई अपव्याख्या गरेर समाजलाई भिडाउन अग्रसर भयो । जसले गर्दा आममा यो खराब नै हो कि भन्ने भ्रम र संशय पैदा भयो । त्यसको बलमा फेरी पनि हिजोदेखि जुन विभेदपूर्ण राज्यसंरचना थियो, त्यसैलाई टालटुल पारेर नयाँ संविधानमार्फत् वैधता दिइयो । संरचनागत तहमा जुन विभेद छ, समाजमा जुन अन्तरविरोध छ, त्यसलाई फेरी पनि सँगै लगेर जाने जुन काम भएको छ अहिले त्यो खत्तरनाक छ । त्यसकै छिटफुट अभिव्यक्तिका रुपमा लिम्बूवान स्प्रिङ आन्दोलनहरू आइरहेका छन् । जुन नकारात्मक कुरा होइन ।


पहिचानवादीहरू बीचमै एकता नभएर यो आन्दोलन कमजोर बनेको भन्ने विश्लेषण गरिन्छ नि ?

यो पनि एक हदसम्म ठीकै हो । तर यसको समाजशास्त्रीय व्याख्या आवश्यक छ । मधेस र थारुको कुरालाई छोडेर पहाडको कुरा गरुँम् । सापेक्षिक रुपमा पहिचानको आन्दोलन उठ्न नसकेको पहाडमा हो । जातीय क्लष्टरका रुपमा राई, लिम्बू, मगर, गुरुङ, तामाङ, राजधानीमा नेवार, त्यसपछि कर्णालीको कुरा आउँछ । यी बाहेक अन्य जनजाति जनसंख्याका दृष्टिले अलिक सानो समूहमा छन् । ती पनि आफ्नो पहिचानको मुद्दामा आन्दोलनरत छन् तर राज्य माग्ने हदमा वा राष्ट्रकै रुपमा विकसित हुन बाँकी नै पनि छ ।

पहिचानजनित राज्य माग गर्ने प्रमुख जातिका आन्दोलनलाई हेर्दा राज्यले नै मिल्न नसक्ने खाडलमा हालिदिएको छ । जस्तै पूर्वी पहाडका दुई प्रमुख जाति राई र लिम्बू छुट्टाछुट्टै हुन् नि । उनीहरूले छुट्टाछुट्टै राज्य मागे तर राज्यले एकै ठाउँ एक नं. प्रदेशमा हालिदियो । फुटाउ र राज गर भन्ने त हामीले सुनेकै हो । यहाँचाहिँ एकै ठाउँमा घुसाऊ र लडाऊ भइदियो । अरु प्रदेशमा पनि यस्तै भयो । त्यसमा पनि खस-आर्य बहुसंख्यक हुने गरी प्रदेश विभाजन गरियो । ६ वटा प्रदेश निर्धारण हुँदा सुर्खेतमा प्रदर्शन भयो, एक जना सहिद भए, सातौँ प्रदेश जन्मिहाल्यो । तर ५ नं. प्रदेशमा थारुले त्यत्रो आन्दोलन गर्दा अर्को प्रदेश जन्म्यो त ?  टीकापुर घटना घटाइयो र जननिर्वाचित रेशम चौधरीहरूलाई जन्मकैद पठाइयो ।


पछिल्लो समयको साहित्यलाई तपाईंले कसरी हेरिरहनुभएको छ ? वैचारिक र शैलीका हिसाबले कतातर्फ लम्किरहेको छ समकालीन नेपाली साहित्य ?

जस्तो राजनीति, त्यस्तै छ । पहिचानको मुद्दा एक हदसम्म स्थापित भयो जुन सुखद मान्नु पर्छ । तर के यत्तिले पुग्छ त ? हामीले पहिचानलाई ‘मल्टीलेयर’मा हेर्ने कि नहेर्ने ? उदाहरणको लागि लिम्बू विवाहको कुरा गरुँ, आर्थिक रुपमा सम्पन्न एकजना बेहुला छ र अर्को बेहुला विपन्न छ, तिनले आआफ्ना बेहुलीलाई दिने ‘युप्पारुङ’को सङ्घर्ष, सम्वेदना र मूल्यमा फरक छ कि छैन ? त्यसको सांस्कृतिक अर्थ एउटै लाग्छ कि फरक पनि हुन्छ ? यस्ता धेरै पाटालाई उजागर गर्नेतिर पहिचान साहित्य जानुपर्छ ।

समग्र नेपाली साहित्यको कुरा गर्दा बजार हाबी हुँदैछ । डिस्कोर्सको संस्कृति बढेर गएको छ । यसमा नि दुःखको कुरा छ । पूर्व काँकडभिट्टामा साहित्य महोत्सव हुन्छ तर त्यहाँ लिम्बूवानलाई छलफलको विषय बनाइँदैन, किन ?  पश्चिम नेपाल धनगढीमा हुन्छ, आयोजकलाई थारु कला—सौन्दर्यबारे सोच्ने फुर्सद हुँदैन । यस्ता प्रवृत्तिमा सुधार हुनुपर्छ ।

पूर्व काँकडभिट्टामा साहित्य महोत्सव हुन्छ तर त्यहाँ लिम्बूवानलाई छलफलको विषय बनाइँदैन, किन ?  पश्चिम नेपाल धनगढीमा हुन्छ, आयोजकलाई थारु कला—सौन्दर्यबारे सोच्ने फुर्सद हुँदैन ।


अहिले दुईतिहाईयुक्त कम्युनिष्ट सरकारले सिके राउतलाई काँखा र विप्लव माओवादीलाई पाखा(प्रतिबन्ध) लगाएर वर्तमान राजनीतिलाई तरंगित बनाइदिएको छ । पहिचानको आन्दोलनमा वर्तमान राजनितिक पृष्ठभूमिले कस्तो भूमिका खेलिरहेको छ ?

सिके राउत विखण्डनको मुद्दा त्यागेर मूलधारको राजनीतिमा आएकै हुन् भने त स्वागतयोग्य हो नि ! कि अरु नै डिजाइन छ कि ! छैन भने मधेसमा अब सिकेले गर्ने राजनीति त पहिचानकै हो ।

विप्लव नेकपालाई प्रतिवन्ध लाउनु दुःखद छ । तर उनले खोजेको त्यै पनि हुनसक्छ है ! केही वर्ष भूमिगत राजनीतिबाट शक्तिसञ्चयन गरेर शान्तिपूर्ण राजनीतिमा आउने । जनतामा नयाँ शक्ति आयो भन्ने पक्कै पर्नेछ तर तत्कालीन माओवादीजस्तै आफैँ संस्थापन सत्ताधारीमा परिणत भए भने त्यो अर्को दुःखद हुन्छ ।

पहिचानको आन्दोलनमा वर्तमान राजनीतिको प्रभाव त पर्छ नै । पहिचान छुट्टै, विल्कुलै नयाँ राजनीति होइन । समग्र राजनीतिकै एक पक्ष हो यो । हिजो शासकहरूले दबाए होला, दिमाग भुटे होला, तर्साए होला, तर हिजो पनि यो राजनीति थियो । आज घनिभूत सुनिएको मात्र हो । शासन सत्ता साझेदारी र आत्मसम्मानको यो लडाइँ चली नै रहन्छ ।


तपाईंका कवितामा किनाराकृत र सीमान्तकृतहरूका बुलन्द आवाजहरू आउँछन् । लेखनका बेला कस्ता कुराहरूले तपाईंलाई प्रभाव पार्छन् ? आफ्ना सिर्जनाको पाठक आफैं हुँदा आफ्नो अनुहार कतिको भेट्नुहुन्छ त्यहाँ ?

प्रभाव पर्ने भनेको मन—मस्तिष्कमा हो । मन—मस्तिष्कको निर्माणमा लामो वैचारिक यात्रा हुन्छ, विविध भावनाबीच सम्बन्धन हुन्छ । तत्कालीन प्रभावले दीर्घकालीन लिगेसी पनि बनाइरहेको हुन्छ । मानिस अतीतमा परेको प्रभावका आधारमा एउटा ठोस विचार या दृष्टिकोण लिएर अघि बढिरहेको बेला दुर्घटना पनि हुन्छ । त्यसैले हामीलाई जे पर्छ प्रभाव त्यसलाई बस्तुवादी ढंगले ओल्टाइपोल्टाई गर्ने बानी बसाल्नुपर्छ ।

आफ्नो पाठक आफैँ हुनु पनि तत्कालीन प्रभाव, विचार या आफैँलाई फर्केर हेर्नुजस्तो लाग्छ । आफ्नो संग्रह पढ्दा कहिलेकाहीँ गजब्बै लेखियो जस्तो नि लाग्छ, कहिलेकाहीँ यसमा चाहिँ ढंग पुगेनछ भन्ने नि लाग्छ । आफ्नो अनुहार भनेको शैली पनि हो । ऐना हेर्दा कहिले आफ्नो अनुहार मन पर्छ, कहिले रिस उठ्छ । तर आफैँलाई मात्र लागेर त भएन, पाठक पनि त छन् ।


रोलाँ बार्थले कुनै रचना प्रकाशित भइसकेपछि त्यहाँबाट लेखकको भूमिका सकिन्छ र त्यो पाठकको हातमा जान्छ भन्दै लेखकको मृत्युको घोषणा गरेका थिए । यही शैलीसँग निकट देखिंदै तपाईंले आफ्नो साहित्यिक नामका अगाडि लेख्ने गर्नुभएको ‘स्व.’ (स्वर्गीय) अहिले भने हटाउनुभएको छ । किन ?

‘प्रभाव’कै कुरा हो यो । रंगवाद अभियान चलाउँदा उत्तरआधुनिकतावादको प्रभावमा थियौँ नि हामी । रोला बार्थको पाठक प्रतिक्रियाको सिद्धान्त भर्खर सुनेको । आफ्नै नामअगाडि ‘स्व.’ लेखियो ! पछि गएर विचारमा बदलाव आउँदो रहेछ । तर अझै पनि मलाई उत्तरआधुनिक लेखन ‘टेक्निक’ मन पर्छ । तर समग्रमा चाहिँ हिजो पनि र आज पनि सामाजिक यथार्थवादी लेखनमै रमाइरहेको छु ।  

सम्बन्धित समाचार

'गोहो'ले सिङ्गो रक्तरञ्जित इतिहासको आलोचना गरेको छ : जिके पोख्रेल

पाँचथरका जिके पोख्रेल पछिल्लो समय नेपाली साहित्यमा एक कुशल समीक्षक/समालोचकका रुपमा परिचित छन् । लेखनमा समेत सक्रिय रहँदै आएका उनको तेस्रो कथासंग्रह 'गोहो' यही चैत्र २३ गते सार्वजनिक हुँदै छ

लिम्बूवानमा स्वायत्त हुने स्वभाव बढी छ : कवि स्वप्निल स्मृति

पाँचथरका कवि स्वप्निल स्मृति सीमान्तकृत, उत्पीडित र अल्पसंख्यकहरूको पक्षमा वकालत गर्दै लामो समयदेखि कलम चलाउँदै आएका छन् । ६० को दशकमा नेपाली साहित्यमा सामान्य बहुरङ्गवादको अभियान सुरु गरेका उनका 'रङ्गैरङ्गको

मलाई सबैभन्दा खुसी कुनै साहित्यिक रचना लेख्दा नै लाग्छ : किशोर पहाडी

झन्डै चार दशक लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहँदै आएका साहित्यकार किशोर पहाडीको सातौं कथासंग्रह ‘रोजा कथाहरू’ शिखा बुक्सले पुसमा सार्वजनिक गरेको छ । उनी कथा, कविता र बालसाहित्य लेखनका

झुक्किएर मेरो उपन्यास आइहाले कुनै आश्चर्य नमानिदिनु होला : हेमन यात्री

मोरङको रमितेखोलामा जन्मिएका कवि हेमन यात्री लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहँदै आएका छन् । उनी आफ्ना कवितामा मौलिक सांस्कृतिक कथा, मिथक र प्राकप्रसंगसँग बढी खेल्न रुचाउँछन् । २०६९ सालमा आफ्नो


z