• २०८१ बैशाख ८ शनिबार

प्रयोगकर्ताका विवरण बेचेको आरोपमा अमेरिकाले फेसबुकमाथि गम्भीर अनुसन्धान गर्ने

kharibot

प्रयोगकर्ताका विवरण अन्य कम्पनीहरूलाई बेचेको आरोप लगाउँदै अमेरिकी अधिकारीहरूले फेसबुकमाथि आपराधिक अनुसन्धान गर्ने भएका छन् ।

‘द न्युयोर्क टाइम्स’का अनुसार न्युयोर्कको एक विशेष न्यायधिशहरूको समूहले दुई ठूला स्मार्टफोन कम्पनीलाई उनीहरूको रेकर्ड माग गर्दै एक आदेश समेत जारी गरेको छ । तर ‘द न्युयोर्क टाइम्स’ ले ती कम्पनी कुन-कुन हुन् भन्नेबारे केही खुलाएको छैन ।

टाइम्सकाअनुसार ती कम्पनीले फेसबुकसँग उसका करोडौं प्रयोगकर्ताका विवरणमा पहुँच मिल्ने हिसाबको सम्झौता गरेका थिए । अहिले अदालतले दुईवटा कम्पनीसँग मात्र उनीहरूको रेकर्ड माग गरे पनि फेसबुकले १५० भन्दा धेरै ठूला कम्पनीहरूसँग त्यस्तो सम्झौता गरेको जनाइएको छ ।

टाइम्सकाअनुसार यी ठूला कम्पनीहरूमा अमेजन, एप्पल, माइक्रोसफ्ट, सोनी, नेटफ्लिक्स लगायतका कम्पनीहरू रहेका छन् ।

फेसबुकले यी कम्पनीहरूसँग प्रयोगकर्ताका एकाउन्टमा रहेका साथीको सूची, ठेगाना र अन्य विवरण बेच्ने सम्झौता गरेको थियो । जसअनुसार ती कम्पनीले प्रयोगकर्ताको अनुमतीबेगर नै उनीहरूका व्यक्तिगत विवरण हेर्न पाउँथे ।

माइक्रोसफ्टले फेसबुकका लगभग सबै प्रयोगकर्ताका विवरण आफ्नो सर्च इन्जिन बिंगका लागि प्रयोग गरेको थियो भने अमेजनले प्रयोगकर्ताका साथीको सूची र उनीहरूको ठेगानामा पहुँच प्राप्त गरेको थियो । त्यसैगरी एप्पलले पनि गोप्य तरिकाले फेसबुकमा प्रयोगकर्ताको विवरण लिने गरेको थियो ।

फेसबुक विगत केही समयदेखि नै प्रयोगकर्ताका व्यक्तिगत विवरणको गोपनियताको उल्लङ्घन गरेको विषयलाई लिएर पटक-पटक अमेरिकी सरकारी निकायको अनुसन्धानमा पर्ने गरेको छ ।

अमेरिकाका जस्टिस डिपार्टमेन्ट, फेडेरल ट्रेड कमिसन, सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन, फेडेरल ब्युरो अफ इन्भेसटिगेसन (एफबिआई) लगायतले फेसबुकमाथि २०१८ देखि निरन्तर अनुसन्धान गरिरहेको जनाइएको छ । फेडेरल ट्रेड कमिसनले त २०११ मै फेसबुकसँग प्रयोगकर्ताको विवरणको सुरक्षा र गोपनियताको विषयमा एक सम्झौता गरेको थियो ।

अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएअनुसार फेसबुकले सो सम्झौताको पटक-पटक उल्लङ्घन गरेकाले कमिसनले फेसबुकमाथि झन्डै एक अर्ब डलरको जरिवाना लगाउन सक्ने बताएका छन् ।

२०१८ मा फेसबुकले क्याम्ब्रिज एनालीटिका नामको एक वेलायती सस्थालाई ८ करोड भन्दा बढी प्रयोगकर्ताको विवरण बेचेको खुलासा भएको थियो । जुन विवरण उक्त संस्थाले राजनैतिक उद्यश्यका लागि प्रयोग गरेको थियो ।

‘द न्युयोर्क टाइम्स’, ‘द गार्जियन’ जस्ता पत्रिकाले गरेको अनुसन्धानले क्याम्ब्रिज एनालीटिकाले प्रयोगकर्ताका विवरणहरू डोनाल्ड ट्रम्पको चुनावी अभियान, ब्रेक्जीटका लागि भएको मतदान र मेक्सिकोको आम निर्वाचनमा प्रयोग गरेको थियो ।

फेसबुकका मालिक मार्क जुकरबर्ग क्याम्ब्रिज एनालीटिकाको विषयलाई लिएर अमेरिकी कंग्रेसमा २०१८ अप्रिलमा बयानका लागि उपस्थित पनि भएका थिए । तर पनि यो विषय कुनै टुंगोमा पुग्न सकेको थिएन र अमेरिकी संचारमाध्यमहरूले अमेरिकी सांसदहरूलाई फेसबुकले आफ्नो व्यापार कसरी गर्छ भन्ने कुरा कै ज्ञान नभएको टिप्पणी गरेका थिए । तर पनि यस विषयलाई लिएर अमेरिकी अधिकारिहरू अहिले पनि अनुसन्धान गरिरहेको र क्याम्ब्रिज एनालीटिकाका एक कर्मचारीसँग यही वर्षको फेब्रुअरीमा वयान लिइएको जनाइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै