• २०८१ बैशाख १३ बिहीबार

टोयोटाले चन्द्रमामा पठाउनका लागि एक स्वचालित रोभर निर्माण गर्ने

kharibot

जापानको कारनिर्माता कम्पनी टोयोटाले चन्द्रमाको लागि एक स्वचालित रोभर निर्माण गर्ने घोषणा गरेको छ । टोयोटाले जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (जाक्सा)सँग सहकार्य गरेर उक्त रोभरलाई जापानको २०२९ देखि २०३४ सम्मको चन्द्रमामाको मिसनमा प्रयोग गरिने जनाइएको छ ।

टोयोटाले जनाएअनुसार उक्त रोभरमा यात्रा गर्ने अन्तरिक्ष यात्रीलाई कुनै स्पेस सुटको जरुरत पर्ने छैन । यदी सफलतापूर्वक संचालनमा आए उक्त रोभर स्पेससुट बिना नै सवार हुन मिल्ने पहिलो अन्तरिक्षयान पनि बन्ने छ ।

रोभरमा २ जना अन्तरिक्ष यात्रीले सवार गर्न मिल्नेछ भने इमर्जेन्सीको बेलामा ४ जनासम्मलाई अटाइनेछ । टोयोटाले दिएको जानकारी अनुसार ६ वटा पांग्रा भएको उक्त रोभरले १०००० किलोमिटर भन्दा बढी यात्रा गर्न सक्नेछ ।

त्यसैगरी उक्त रोभरको ६ मिटर लम्बाइ, ५.२ मिटर चौडाइ र ३.८ मिटर उचाइ रहनेछ भने रोभरभित्र अन्तरिक्ष यात्रीका लागि १३ वर्गमिटरको क्षेत्रफल हुनेछ ।

रोभर भनेको चन्द्रमाको सतहमा गुडेर यात्रा गर्ने साधन हो । प्राय: चन्द्रमाको सतहमा रोबोटको सहायतामा रोभरलाई गुड़ाईने गरिन्छ ।

अहिलेसम्म अमेरिकाले मात्र मानिस सवार गर्न मिल्ने रोभरको निर्माण गरेको छ । नासाले आफ्नो एपोलो प्रोजेक्टअन्तर्गत ७० को दशकमा आफ्नो लुनार रोभिंग भेइकल नामको रोभर चन्द्रमाको सतहमा अवतरण गरेको थियो । चन्द्रमाको सतहमा पाइला टेक्न सफल भएका १२ अन्तरिक्ष यात्रीहरूमध्ये ६ जनाले नासाको उक्त रोभरमा सवार भएर चन्द्रमाको सतहमा यात्रा गरिसकेका छन् ।

त्यसैगरी अमेरिकाबाहेक रुस र चीनले पनि आफ्नो रोभर चन्द्रमाको सतहमा उतारिसकेका छन् । रुसले अमेरिका भन्दा अगाडि १९७० नभेम्बरमा पहिलोपटक चन्द्रमाको सतहमा आफ्नो रोभर लुनोखोद १ को सफल अवतरण गरेको थियो ।

चीनले भने २०१३ डिसेम्बरमा पहिलोपटक आफ्नो रोभर युतु चन्द्रमाको सतहमा उतारेको थियो । त्यस्तै चीनले यसैवर्षको जनवरीमा अहिलेसम्म कुनै पनि यान नपुगेको चन्द्रमाको सबैभन्दा टाढाको भागमा आफ्नो चांग इ ४ रोभरको सफल अवतरण गरेको थियो । त्यसैगरी भारतले पनि आफ्नो रोभर चन्द्रयान-२ यसै वर्ष लन्च गर्ने बताएको छ ।

त्यसैगरी इजरायलले पनि यसै वर्ष आफ्नो यान बेयरसिटलाई चन्द्रमाको लागि प्रक्षेपण गरिसकेको छ । फेब्रुअरीको अन्त्यतिर अमेरिकाको केनेडी स्पेस सेन्टरबाट स्पेसएक्स कम्पनीको रकेटमा राखिएको रोबोटिक ल्याण्डर बेयरसिट अप्रिलको अन्त्यतिर चन्द्रमामा अवतरण हुने अपेक्षा गरिएको छ । उक्त इजरायली यान निजी क्षेत्रको लगानीमा प्रक्षेपण गरिएको पहिलो अन्तरिक्ष यान पनि हो ।

त्यसैगरी जापानले २०१८ जुनमा पृथ्वीको नजीकको एक एस्टेरोइडमा सफल अवतरण गराएपछि अब चन्द्रमामा पनि आफ्नो यानलाई अवतरण गराउन आक्रामक रुपमा लागि परेको छ । जापानले २०२० भित्र आफ्नो एक प्रोब चन्द्रमामा अवतरण गर्ने तयारी गरिरहेको छ भने २०२९ मा नासाको एक रकेटमा राखेर टोयोटाले निर्माण गर्ने रोभर चन्द्रमाको सतहमा उतार्ने योजना बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै