काठमाडौं । सरकारले २०७६ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित भएको छ । सरकारले २०७६ मा कुल १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्दै देशैभरी १५ दिन मात्र सार्वजनिक विदा हुने जानकारी दिएको हो ।
जस अन्तर्गत वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।
त्यस्तै असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छैन ।
असोज ३ गते शुक्रबार संविधन दिवसको दिन सार्वजनिक विदा दिइएको छ । असोजमै १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ ।
कात्तिक महिनामा तिहारका तीन दिन विदा परेको छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ । मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन ।
फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ । चैत महिनामा भने सार्वजनिक विदा परेको छैन ।
महिला कर्मचारीहरुलाई भदौ १६ गते सोमबार तीजका दिन सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार पनि विदा पाउनेछन् ।
त्यस्तै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ । शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।
सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ ।