• २०८१ बैशाख ८ शनिबार

कतार विश्वकप फुटबलमा ४८ टिम सहभागी हुने 

kharibot

काठमाडौँ । सन् २०२२ मा एशियाली देश कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ पुर्याइने भएको छ । 

अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको  बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ पुर्याउने  तयारी सुरु गर्ने निर्णय गरेको हो ।

विश्वकपमा सहभागी देशको संख्या बढाउन फिफाले गरेको अध्ययन अनुसार फिफाको आयोजक देश कतारसँग छलफल अगाडी बढाउने भएको हो । सो अध्ययनले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह-आयोजक राष्ट्र थप्नु पर्ने बताएपछि अब कुवेत र ओमानमध्ये एक देश थप्ने भएको छ ।

कतारका छिमेकी देश साउदी अरब, बहराइनसँग अहिले राम्रो सम्बन्ध नभएका कारण कुवेत र ओमानमध्ये एकलाई सहआयोजक बनाउने तयारी फिफाले गरेको छ ।

त्यस्तै सन् २०२६ को अमेरिकामा हुने विश्वकपमा भने यसअघि नै ४८ राष्ट्रले सहभागिता जनाउने तय भइसकेको छ । सो विश्वकप अमेरिका लगायत क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दै छन् ।

अब सहभागी देशको संख्या बढेपछि प्रतियोगिता मिति पनि लम्बिने भएको छ । तर फिफाले फाइनलसम्म पुग्ने देशले अहिलेकै जस्तो ७ भन्दा बढी खेल खेल्नु नपर्ने गरि तयारी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । हरेक समुहमा ३ देश राखेर १६ समुह बनाएर समुह चरण गर्ने र शिर्ष दुई टिमलाई अन्तिम ३२ मा पुर्याउने गरि तयारी भएको बुझिएको छ । 

कतारमा हुने विश्वकप भने नोभेम्बरमा सुरू भएर डिसेम्बरमा सकिनेछ  । यसअघि फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएकोमा अब नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो ।

यस बारेमा अन्तिम निर्णय भने आगामी जुनमा हुने फिफा काँग्रेसले गर्ने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै