• २०८१ बैशाख १४ शुक्रबार

बालश्रममा लगाउने अभिभावकलाई कारबाही गर्दै घोराही उपमहानगरपालिका

kharibot

दाङ । घोराही उपमहानगरपालिका–१४ नयाँ बजार घरका १४ वर्षीय बालक मिलन परियार बसपार्क नजिकै गाडी धुलाइ सेन्टरमा काम गर्दै गरेका भेटिए । आमाको मृत्युपछि बुबा अर्कै श्रीमती लगेर गएकाले उनी हजुर बुबासँग बस्दै आएका थिए ।

वृद्ध हजुरबुबा र हजुरआमाले पाल्न, पढाउन नसक्ने देखेपछि उनी पढाइ छाडेर काम गर्न थाले । उनले भने, “कसैले वास्ता नगरेपछि काम खोज्दै घरबाट हिँडेको हुँ ।” उपमहानगरपालिकाको सहकार्यमा हिमालय शान्ति तथा विकास अभियान (हिप्डेक)ले थालेको श्रमिक बालबालिका उद्धार गर्ने क्रममा भेटिएका परियारले आफूसँग बुबाआमा दुबै नहुँदा पढाइमा समस्या भएको र बाध्य भएर काम गर्नुपरेको सुनाए ।

उनलाई अहिले हिप्डेकले केही आर्थिक सहयोग गरेर हजुरबुबा मञ्जित दमाइँको जिम्मामा लगाएको छ । उनी गत कात्तिकमा मात्रै बालविकास माध्यामिक विद्यालयमा भर्ना भएका हुन् । अहिले पनि आफूले घरमा ढुक्कसँग पढ्न नपाएको गुनासो उनको छ ।

घोराही–१३ वडहराका १३ वर्षीय प्रेम विक पनि नयाँ बजारको न्यू विश्वकर्मा फर्निचर उद्योगमा पेन्ट गर्ने काम गर्दै गरेका भेटिए । उनका बुबाआमा दुबै बहिरा छन् । आरन पेशा गर्दै गरेका बुबाले छोरालाई पढाउन नसक्ने भनेपछि उनी सानै उमेरमा पैसा कमाउने मेलोमेसोतिर लागेका रहेछन् । फर्निचर उद्योगका सञ्चालक जोगबहादुर विकले बाबुआमा आफैले ल्याएर छाडेको जानकारी दिए ।

यस्तै रोल्पा घर बताउने १४ वर्षका धनबहादुर डाँगी पनि घोराहीको एक ग्रील उद्योगमा काम गर्दै गरेका भेटिए । बुबाले अर्कै बिहे गरेर बेवास्ता गर्ने, कुटपिट गर्ने गरेपछि उनी आमासँग भागेर दाङ झरेका थिए । आमा, भाइ, बहिनीसँगको परिवारलाई आमाको एक्लो कमाइले धान्न नसकेपछि उनी श्रम गर्न पुगेका थिए ।

बाहुनडाँडा माविमा कक्षा ६ मा पढ्दापढ्दै छाडेर उनी घोराहीकी सङ्गिता भण्डारीको घरमा भाँडा माझ्दै गरेका भेटिए । नयाँ बर्षपार्कमा डेरा गरी बस्ने खिमबहादुर सुनार र पीमाका छोरा सुरेश अहिले ८ वर्षका भए । आमाले विद्यालय जाने समयमा भात नपकाइदिने, कलम कापीको जोहो नगर्दिने, बाबुले काममा गए पनि पैसा नदिने, बुबाआमामा रातदिन झगडा हुने भएपछि उनी घर छोडेर हिँडे । सानो उमेरका सुरेश घोराहीको ललित गाडी धुलाई सेन्टरमा काम गर्न आइपुगे । सो सेन्टरका मालिक ललित डाँगीले आफ्नै बाबुले राख्दैन भन्दा भन्दै ल्याएर छाडेको जानकारी दिए ।

हिप्डेकले उनलाई केही शैक्षिक सामग्री र आर्थिक सहयोग गरेर घर फर्काएको छ । तर घर फर्काउने क्रममा उनले आफू घरमा बस्नै नसक्ने अवस्था रहेको बताएका थिए । रोल्पा सालडाँडा घर बताउने १४ वर्षीय यमराज कवर घोराहीको न्यू स्वर्गद्वारी उद्योगमा काम गर्दै गरेका भेटिए ।

उनी बुबाआमाको सम्पर्कमा छैनन् । उद्योगका मालिक विनोद चौधरीका अनुसार उनकै दिदीले अनिता पुरीले जबरर्जस्ती उद्योगमा ल्याएर छोडेकी थिइन् । “मेरो बच्चालाई हेर्न त मुस्किल छ । भाइलाई कसरी पाल्नु, पढाउनु म सक्दिन, यतै काममा राखिदिनुस्” भन्दै दिदीले छाडेको उनले बताए ।

उनलाई घर फर्काउन खोज्दा परिवार सम्पर्कमा नआएपछि समस्या भएको हिप्डेकका कार्यक्रम संयोजक किरण गौतमले जानकारी दिए । उनका अनुसार घर फर्काउन खोज्दाखोज्दै पनि घर्नाका १५ वर्षीय अनिल चौधरी र कक्षा ५ मा पढ्दापढ्दै छाडेर ग्रील उद्योगमा काम गर्न बसेका घोराही– ५ वसन्तपुरका सन्तोष विश्वकर्मा घर फर्कनै मानेनन् ।

पुनःस्थापनाको क्रममा अधिकांशको परिवारमा समस्या हँुदा बालबालिका काममा आउनुपर्ने बाध्यता देखिएको छ । बाबुआमाले बेवास्ता गर्नु, आर्थिक अवस्था नाजुक हुनु, आमाबाबु नहुनु, भए पनि गैरजिम्मेवार हुनु, पारिवारिक बेमेल लगायतका समस्याले बालबालिका काम गर्न बाध्य हुने गरेका संयोजक गौतमले बताए ।

“गरीब परिवारका अभिभावक रातदिन जाँडरक्सी खाने र बालबालिकालाई कुटपिट गर्ने, शिक्षा, स्वास्थ्य, खानपीनमा ध्यान नदिँदा बालबालिका काममा आउने गरेका भेटिन्छन्”, उनले भने, “त्यसमा पनि केही अभिभावकले त बालबालिकालाई काममा लगाएर त्यसबाट आएको पैसाले जाँडरक्सी खाने वा घरखर्च चलाउने गरेको पनि देखिएको छ ।”

उद्धारमा हिप्डेक

घोराही उपमहानगरपालिकाको सहकार्यमा लामो समयदेखि हिप्डेकले यसबर्ष मात्रै २० श्रमिक बालबालिकालाई शैक्षिक सामग्रीसहित घर फर्काएको छ ।

संस्थाका कार्यक्रम संयोजक गौतमका अनुसार परिवारसँगै फर्काइएका बालबालिकालाई शैक्षिक सामग्री र आयआर्जनका लागि परिवारलाई आर्थिक सहयोग दिइएको छ । उद्धार गरिएका अधिकांश बालश्रमिक ग्यारेज, होटल, गाडी धुलाइ, जुत्तापसल लगायतका काम गर्दछन् ।

सो संस्थाका अनुसार सन् २०१६ मा ४६०, सन् २०१७ मा ३०५ र सन् २०१८मा १९३ श्रमिक बालबालिका घोराही क्षेत्रमा भेटिएका थिए । संस्थाको तथ्याङ्कमा विगत तीन वर्षको अवधिमा संस्थाले ३१८ बालश्रमिकको विवरण निर्माण, २०१ को घटना व्यवस्थापन, १२५ लाई विद्यालय भर्ना, स्टेशनरी तथा पोशाक सहयोग गरेको, ११७ बालश्रमिकलाई मनोसामाजिक, १०३ को उद्धार तथा पुनःस्थापना, ९४ बालश्रमिका परिवारलाई आर्थिक सहायहता, परामर्श दिइएको थियो । अहिले यहाँ ८५ बालश्रमिक भेटिएका छन् । यो तथ्याङ्कलाई हेर्दा यहाँ बालश्रमिक घट्दो अवस्थामा छ ।

अभिभावकलाई चेतावनी

घर फर्काउने कार्य थाले पनि श्रमबाट फर्केका बालबालिका दोहोरिएर श्रममा आउन थालेपछि उपमहानगरले अभिभावकलाई कारवाहीको चेतावनी दिन थालेको छ । उपमहानगरकी उपप्रमुख सीता सिग्देलले न्यौपाने बालबालिकाकालाई श्रममा पठाउने अभिभाककै घरमै पुगेर आफूले सम्झाउन थालेको बताइन् ।

“आर्थिक अवस्था कमजोर भएकालाई थोरै भए पनि आर्थिक सहयोग गरेर बालबालिक घर फर्काउन लगाएका छौ”, उनले भनिन्, “फेरि बालबालिका काममा पठाएर कारवाही गर्छौ भनेका पनि छौ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै