• २०८१ बैशाख ७ शुक्रबार

राप्रपाद्वारा स्थानीय तह केन्द्रित पहिलो चरणको आन्दोलनको घोषणा

kharibot

राप्रपाको काठमाडौंमा शनिबार बसेको केन्द्रीय कार्य समितिको विस्तारित बैठक ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ । 

काठमाडौंमा शनिबार बसेको राप्रपा केन्द्रीय कार्य समितिको विस्तारित बैठकले स्थानीय तह केन्द्रित पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । 

राप्रपाले पहिलो चरणमा स्थानीय तह केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ भने दोस्रो चरणमा जिल्ला सदरमुकाम र तेस्रो चरण राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय भएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । 

राप्रपाले आज घोषणा गरेको आन्दोलनका कार्यक्रम चैत १५ गतेबाट सुरु भइ पहिलो चरणको आन्दोलन ८ वैशाखमा दुई घन्टा राजमार्ग र चोकहरुमा सत्याग्रह गरेर सकिने निर्णय गरेको हो ।

चैत्र १२ गते देखि १६ गतेसम्म प्रचार प्रसार गर्ने, चैत्र १७ देखि २३ गतेसम्म देशब्यापी हस्ताक्षर संकलन  र २५ गते जिल्ला सदरमुकाम, प्रदेश राजधानी र सिंहरदबारमा एक घन्टा धर्ना गर्ने कार्यक्रम घोषणा गरिएको छ ।

त्यस्तै चैत्र २८ गते देश भरका सबै स्थानीय तहको केन्द्रमा एक घन्टा धर्ना, त्यस्तै वैशाख ५ गते जिल्ला सदरमुकामा धर्म निरपेक्षताको ब्यानर तथा प्ले कार्ड जलाउने र बैशाख ८ गते सम्पूर्ण राजमार्ग र चोकहरुमा १२  बजे देखि २ बजेसम्म सत्याग्रहको कार्यक्रम राखिएको राप्रपाले जनाएको छ ।

पहिलो चरणको यो कार्यक्रम सकिएपछि दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने राप्रपाले जनाएको छ । राप्रपाले आन्दोलन शान्तिपूर्ण र संबिधानको परिधिभित्र रहेर हुने पनि स्पष्ट पारेको छ ।

राप्रपाले सिके राउत समूहसँग भएको सम्झौता अप्रत्यष्ट र रहस्यमय ढंगले आएको भन्दै सम्झौताका भाषा र त्यसपछिका गतिबिधि आम जनतामा व्यापक आशंका र चिन्ता पैदा गरेको जनाएको छ । 

साथै राप्रपाले विप्लव माओवादीलाई हिंसा त्याग्न र सरकारलाई प्रतिबन्ध होइन, वार्ताबाट निकास खोज्न समेत आग्रह गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै