• २०८१ बैशाख १२ बुधबार

विद्यालय पूर्ण भर्नायुक्त स्थानीय तह घोषणा

kharibot

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नखोज्न स्थानीय तहका प्रतिनिधि र शिक्षकसँग आग्रह गरेका छन् ।

आज महोत्तरीको बर्दिवास नगरपालिकाले आयोजना गरेको विद्यालय पूर्ण भर्नायुक्त नगर घोषणा कार्यक्रममा मन्त्री पोखरेलले अब प्रमाणपत्र बोक्ने शिक्षा मात्र नभई जीवन निर्वाह गर्न सकिने व्यावसायिक शिक्षाको आवश्यकता बढेको बताएका हुन् । 

कार्यक्रममा मन्त्री पोखरेलले विद्यालय जाने उमेरका बालबालिकाको भर्ना मात्र पर्याप्त नहुने बताउँदै उनीहरुलाई विद्यालयमा टिकाउन र पठनपाठनबारे रुचि बढाउनेतर्फ थप पहलकदमीको आवश्यकता औँल्याए । 

मन्त्री पोखरेलले नगर प्रमुखसहितका जनप्रतिनिधिसँग प्रश्न गर्दै भने, “विद्यालय पुगेका बालबालिकालाई टिकाइराख्न र उनीहरुलाई पठनपाठनबारे रुचि जगाउने कुरामा के सोच्नुभएको छ ?” 

विद्यालयमा राजनीति खेलो नगर्न सबै पक्षसँग आग्रह गर्दै मन्त्री पोखरेलले अपराधलाई प्रश्रय नदिन र लागुपदार्थ दुव्र्यशनको लतमा बालबालिका नपुगून् भन्नेमा सचेतता अपनाउन अभिभावकसँग आग्रह गरे । 

समारोहमा प्रदेश–२ को शिक्षा निर्देशनालयका प्रमुख रमाकान्त शर्माले शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको समन्वयात्मक प्रयत्न र आम नागरिकको सकारात्मक चासोको आवश्यकता औँल्याए । 

नगर प्रमुख विदुरकुमार कार्कीले अब बालबालिकालाई विद्यालयमा टिकाउन र उनीहरुको पठनपाठनप्रति रुचि बढाउन सकिने उपायबारे प्राप्त हुने सुझाव कार्यान्वयन गर्न आफु प्रतिबद्ध रहेको बताए ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये विद्यालय पूर्ण भर्नायुक्त घोषणा हुने बर्दिवास नगरपालिका पहिलो बनेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै