• २०८१ बैशाख १३ बिहीबार

त्रिवि उपकुलपतिले झुठो बोलेको आरोप, पद्मकन्यामा आन्दोलन  

kharibot

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका छन् ।

गत फागुन २७ गते उपकुलपति कार्यालयमा, २८ गते पदमकन्या क्याम्पस प्रमुख, २९ गते प्रशासन र ३० गते त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गर्दा समेत सुनुवाई नभएपछि महिला प्राध्यापक र विद्यार्थीहरुले आन्दोलन जारी राखेका हुन ।

आन्दोलनमा संलग्न प्राध्यापक निर्मला उप्रेतिका अनुसार, आज बिहानैदेखि धर्ना र जुलुस जारी छ ।

आन्दोलनकारीले त्रिविका ६१ वटा आंगिक क्याम्पसमध्ये ५ वटामा मात्र महिला क्याम्पस प्रमुख रहेकाले ३३ प्रतिशत क्याम्पस प्रमुख बनाउन माग गर्दै आएका छन् ।

‘पाटन क्याम्पसका लागि महिलाको नाम सिफारिस हुँदा समेत नियुक्त गरिएन । अहिले महिलाले अध्ययन गर्ने एकमात्र पद्मकन्या क्याम्पसमा पनि महिलाको नाम सिफारिस हुँदा समेत त्रिवि पदाधिकारीले अनेक जालझेल गरेर पुरुष नियुक्त गर्न खोजेकाले हाम्रो आन्दोलन जारी रहेको हो’ उनले भनिन् ।

उप्रेतिका अनुसार, त्रिविका उपकुलपति खनियाँले आन्दोलनकारीलाई झुठ बोल्दै आएका छन् । सुरुमा तीन जनामध्ये एक जना महिलाको नाम सिफारिस भई आए क्याम्पस प्रमुख नियुक्त गर्ने आश्वासन दिएका खनियाँले अहिले आएर महिला एक नम्बरमा सिफारिस नभएको भनेर टारिरहेका छन् ।

‘अहिले पुरुषलाई नै क्याम्पस प्रमुख नियुक्तिको पत्र बनेको सुनिएको छ । हामी त्यसको विरोधमा उत्रेका छौ । अनुभव र योग्यता अनुसार पहिलो नम्बरमा हुनु पर्ने महिला प्राध्यापकको सिफारिस तेस्रो नम्बरमा पार्न मै उपकुलपतिको हात छ । पहिला तीन जनाभित्र पार्दा हुन्छ भन्ने अहिले पहिलो नम्बरमा परेन भन्ने?’ उनले भनिन् ।

पद्मकन्या क्याम्पसमा महिला प्रमुख नियुक्ति र त्रिविका क्याम्पसहरुमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन आन्दोलन जारी राखिने उप्रेतिले बताइन् ।

पद्मकन्यामा पुरुष क्याम्पस प्रमुख नियुक्त गरे पठनपाठनदेखि प्रशासन समेत ठप्प पार्ने चेतावनी आन्दोलनकारीले दिएका छन् । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै