• २०८१ बैशाख ६ बिहीबार

आफ्नो फेसबुक एकाउन्ट डिलिट गर्नुहोस् : ह्वाट्सएपका संस्थापक

kharibot

काठमाडौं । प्रसिद्ध मेसेजिङ एप ह्वाट्सएपका सहसंस्थापक ब्रायन एक्टनले फेसबुकका सबै प्रयोगकर्तालाई आफ्नो एकाउन्ट डिलिट गर्न आग्रह गरेका छन् । उनले शुक्रवार विद्यार्थीहरुसँग कुरा गर्दै फेसबुक एकाउन्ट बन्द गर्नुपर्ने बताएका हुन् ।

गैरनाफामूलक ह्वाट्सएपको राइभल सिग्नलका प्रमुखको रुपमा काम गरिरहेका एक्टनले फेसबुकका कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई लक्षित गर्दै भनेका छन्, ‘जुकरबर्गले कम्पनीको फाइदाको लागि फेसबुकको प्लेटफर्ममा विज्ञापन बढाउन प्रयोगकर्ताहरुको गोप्य तथा व्यक्तिगत तथ्यांक बेचिरहेका छन् ।’

एक्टनले प्रयोगकर्तालाई आफ्नो फोन, ल्यापटप लगायत डिभाइसबाट फेसबुक र यससँग सम्बन्धित एप डिलिट गर्न अनुरोध गरेका छन् । सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावमा फेसबुकले प्रयोगकर्ताको डाटा बेचेको खुलेको थियो । यस्तैमा ह्वाट्एपका सहसंस्थापक एक्टनको भनाइ आएको हो ।

प्राइभेसीसम्बन्धी धेरै आरोप खेपिरहेको फेसबुक केही मुद्दामा आरोपी सिद्ध भइसकेको छ । फेसबुकका सीईओ जुकरबर्गले पनि हालको भन्दा धेरै राम्रो र गोपनीयताको सुरक्षालाई ध्यान दिएर फेसबुकको निर्माण गरिने बताएका छन् ।

एक्टनले विद्यार्थीहरुलाई सम्बोधन गर्दै गूगल र फेसबुकजस्ता ठूला कम्पनीले आफ्नो रिभेन्यु बढाउन प्रयोगकर्ताको गोपनीयताको व्यापार गरिरहेको आरोप लगाए । एक्टनले दोस्रोपटक फेसबुकमाथि यसरी सार्वजनिक रुपमा आरोप लगाएका हुन् ।

यसभन्दा अघि पनि सन् २०१७ मा ह्वाट्सएप छोड्ने बेला उनले फेसबुकमाथि यस्तै आरोप लगाएका थिए । एक्टनले ह्वाट्सएपलाई पूर्णरुपमा एडफ्री बनाएर यसलाई खुला प्लेटफर्मको रुपमा प्रस्तुत गरेका थिए । फेसबुकको वित्तीय नीति मन नपरेर र कम्पनीसँग मत बाझिएपछि उनले ह्वाट्सएप छोडेको बताइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै