• २०८१ बैशाख १३ बिहीबार

‘नेपाल न चौकीदारहरूको सप्लायर हो, न भारतमा निर्भर छ’

kharibot

नयाँ दिल्ली । ‘चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ,’ यो वाक्यमा लुकेको घमण्ड हेर्नुहोस् ।

आम आदमी पार्टीकी विधायक अलका लाम्बाको यो ट्वीटमा लेखिएको ‘मगाउन सकिन्छ’ लाई ध्यानपूर्वक हेर्नुहोस् । यसबाट यो अर्थ निस्कन्छ, हामी मालिक हौं ।

हामीसँग अथाह पैसा र शक्ति छ । हामीले जे चाह्यो त्यही मगाउन सक्छौं । नेपालबाट चौकीदारबाहेक अरु के नै मगाउन सक्छौं र ?

साँझपख भट्टीमा बसेर बेतुकका गफ हाँक्ने जँड्याहाहरू पनि यस्तै कुरा गर्छन्, ‘हामी जति पनि रक्सी मगाउन सक्छौं । हामीलाई के कुराको कमी छ र ?’

अलका लाम्बाले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गरिएको टिप्पणीले नेपालका नागरिक रिसाउँछन् भन्ने थाहै पाइनन् । उनले ट्वीटरमा मोदीलाई कटाक्ष गर्दै लेखेकी छन्, ‘प्रिय, भारतवासी, यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

लाम्बालाई लाग्दो हो कि हामी अर्थात् भारतले चौकीदारको सप्लाई अर्डर गर्छौं, अनि नेपालले ढोकामा उभिएको दरबानले झैं शिर निहुराउँछ र अर्को दिनमै हाम्रोमा नेपाली चौकीदारको लाइन लाग्छ । उनले यो बिर्सिन् कि नेपाल एक स्वतन्त्र राष्ट्र हो । भारतजस्तो नेपाल कहिल्यै पनि कसैको गुलाम रहेन । ऊ भारत र चीनको बीचमा रहेको एउटा स्वतन्त्र देश हो र उसले अलका लाम्बाका लागि चौकीदारको सप्लाई गर्दैन ।

अलका लाम्बा पढेलेखेकी सांसद हुन् । उनी दिल्ली विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्षसमेत भइसकेकी छन् । यदि सुझबुझ हुँदो हो त उनले यो बुझ्नुपर्ने हो कि नेपालमा केवल चौकीदार मात्र हुँदैनन् । नेपालमा आईटी प्रोफेशनल, अर्थशास्त्री, वैज्ञानिक, अभिनेता, सुन्दरसुन्दरी, संगीतकार आदि पनि हुन्छन् । हो, त्यहाँ चौकीदार, सफाइ कर्मचारी, मजदुर, किसान पनि हुन्छन् । ती हाम्रै दिल्ली, उत्तर प्रदेश, कर्नाटक र केरलमा पनि छन् ।

अलका लाम्बाले यो पनि बुझ्नुपर्छ कि भारतको पञ्जाब, गुजरात, राजस्थान वा केरल लगायतका नागरिक पनि ट्याक्सी चलाउन, सफाइको काम गर्न तथा कारखानामा काम गर्न खाडी देश, क्यानडा, अमेरिका, बेलायत, इटाली वा फ्रान्स जान्छन् । हो, त्यसैगरी नेपाली नागरिक पनि रोजगारीका लागि विभिन्न देशमा पुग्ने गर्छन् ।

अलका लाम्बाको बयान पनि डोनाल्ड ट्रम्पकै बयानजस्तो छ, ‘यथासम्भव भारतीय मगाऔं, न्यूयोर्क शहर दुर्ग्न्धित भइरहेको छ ।’

नेपाललाई आफ्नो आज्ञाकारी ठान्ने अलका लाम्बा एक्ली भने होइनन् । उनले गल्ती महसूस गर्दै ट्वीट त हटाइन् । तर, यसले नेपाललाई आफ्नो नोकर तथा आज्ञाकारी ठान्ने भारतको मानसिकता भने हटेको छैन ।

नेपाली नागरिकलाई यो राम्रोसँग थाहा छ कि उत्तर भारतमा नेपाललाई आफ्नो सम्पत्ति ठान्ने धेरै मानिस छन् ।

गत महिना म काठमाडौंबाट दिल्ली आउँदै गर्दा एयर इन्डियाको फ्लाइटमा मसँगै बसेका भारतीय यात्रीले जब बियर मागे, फ्लाइट अटेन्डेन्टले कृत्रिम मुस्कानका साथ जवाफ फर्काइन्, ‘सर, यो डोमेस्टिक फ्लाइट हो, यसमा हामीले बियर सर्भ गर्दैनौं ।’

म ती फ्लाइट अटेन्डेन्टसँग सोध्न चाहन्थेँ कि कहिलेबाट नेपाल जाने फ्लाइट घरेलु उडान भयो ? कहिलेबाट नेपाललाई आफ्नो भारतमा समावेश गर्यौ, बुद्धु ?

नेपाल एक स्वतन्त्र देश हो । यहाँ छुट्टै संविधान, छुट्टै प्रधानमन्त्री, छुट्टै संसद् तथा छुट्टै सेना छ । एक स्वतन्त्र देशबाट अर्को स्वतन्त्र देशबीच भइरहेको उडानलाई फ्लाइट अटेन्डेन्ट घरेलु उडान मान्छन् । आम आदमी पार्टीकी विधायक अलका लाम्बालाई पनि त्यस्तै लाग्दो हो, त्यसैले त उनले भनिन्, ‘चौकीदार त हामीले नेपालबाटै मगाउँछौं ।’

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ नेपाली इमिग्रेशन अफिसर सायद धेरै भारतीयसँग कुरा गरिरहेका होलान्, जसरी मलाई उनले कटाक्ष गरे, ‘तपाईँको देश पनि ठूलो र तपाईंको जुँगा पनि ठूलो अर्थात् तपाईंको देश ठूलो छ र तपाईंको अहंकार पनि ठूलो छ ।’

भारत ठूलो देश भएकैले भारतीयहरूको अहंकार पनि ठूलो छ भन्ने नेपालीलाई लाग्दछ । भारतीयहरू नेपालका बारेमा जे सोच्छन् त्यो नेपालीहरूले मन पराउँदैनन् भन्ने भारतीयहरूलाई महसूस हुँदैन । ‘हामी नेपाललाई आफ्नै ठान्छौं भने त्यसमा के समस्या ?’ उनीहरूको एउटै प्रश्न हुने गर्छ ।

काठमाडौं पुग्नेबित्तिकै मैले उत्तर भारतीय शैलीमा नेपाली साथीहरूसँग भनें, ‘नेपाल साँच्चै आफ्नै घरजस्तो लाग्छ ।’ मेरा यी शब्द खस्न नपाउँदै एक नेपाली साथीले भने, ‘हो तपाईँका प्रधानमन्त्री मोदीजीले भने त्यसै भन्ने गर्नुहुन्छ ।’

‘प्रधानमन्त्री बनेलगत्तै नरेन्द्र मोदीको पहिलो भ्रमणका क्रममा नेपाली नागरिकहरू ‘मोदी–मोदी’ को नारा लगाउँदै उनको स्वागतमा सडकमा उत्रिएका थिए । तर, आज मोदीको प्रसंग उठ्नेबित्तिकै प्रश्नहरूको वर्षा किन हुन्छ ?’ म सोच्न लागें । 

यस्ता वाक्यले नेपाली नागरिकलाई भारतीय नागरिक नेपालको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्दैनन् भन्ने लाग्छ । उनीहरू भारतले नेपाललाई आफ्नो छत्रछायाँमा राख्न चाहेको महसुस गर्छन् । भारतले गर्ने मायामा पनि नेपालीले ‘सांस्कृतिक विस्तारवाद’ गन्ध आएको महसुस गर्छन् ।

तीन महिनासम्म काठमाडौंमा बसेर काम गर्दा नेपालका थुप्रै सहर र गाउँमा घुम्ने क्रममा मैले धेरैपटक यस्ता प्रश्नको सामना गर्नुपरेको छ । बसमा, दोकानमा, होटलमा, सडकमा कुराकानीका क्रममा मैले धेरैपटक एउटै प्रश्नको सामना गरेको छु, ‘मोदीजीले हामीलाई रुवाए, तर किन ?’ 

नेपाली खासगरी पहाडी इलाकामा बस्ने नागरिक सन् २०१५ का ती दिन बिर्सनै सक्दैनन् । जब नरेन्द्र मोदी सरकारले नेपालमा अघोषित आर्थिक नाकाबन्दी लगाएको थियो । त्यसपछि नेपालमा पेट्रोल, डिजेल, ग्यासलगायत आधारभूत वस्तुका लागि हाहाकार मच्चिएको थियो ।

कयौं नेपाली नागरिक आफ्नो कार र मोटरसाइकलमा चाबी लगाएर साइकल किन्न बाध्य भएका थिए । नेपालमा भारतले लगाएको यो पहिलो नाकाबन्दी भने होइन । राजीव गान्धी प्रधानमन्त्री भएका बेला पनि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।

काठमाडौंबाट केही टाढा रहेको चित्लाङबाट आफ्ना विद्यार्थीसहित पोखरा आएका एक शिक्षकले मलाई सोधे, ‘नाकाबन्दी गरेर मोदीले जानाजान हामीलाई चीनतर्फ धकेलिरहेका त छैनन् ?’ मैले यसको के जवाफ दिने ।

बीबीसी हिन्दीमा प्रकाशित राजेश जोशीको ब्लगको भावानुवाद 

जोशी बीबीसी हिन्दी रेडियोका सम्पादक हुन् 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै