• २०८१ बैशाख ७ शुक्रबार

रोनाल्डो बिना युभेन्टस पराजित, सिरी ए मा सिजनको पहिलो हार

kharibot

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले यस सिजनमा पहिलो हार बेहोरेको छ । 

आइतबार भएको खेलमा युभेन्टस जेनोयासँग २-० गोल अन्तरले पराजित भएको हो । 

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो नखेलेको खेलमा जेनोयाले दुवै खेल दोस्रो हाफमा गरेको थियो । जेनोयाका लागि स्टेफानो स्टुरारो र गोरान पाण्डेभले एक एक गोल गरेका थिए ।

जेनोयाका लागि खेलको ७२औ मिनेटमा स्टुरारोले पहिलो गोल गर्दै युभेन्टसमाथि अग्रता लिएको थियो भने खेलको ८२औ मिनेटमा पाण्डेभले गोल गर्दै जेनोयाको अग्रता दोब्बर गरेका थिए ।

अघिल्लो साता च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडमाथि ३-० को जित हासिल गर्दै क्वाटरफाइनलमा पुगेको युभेन्ट्सले यस खेलमा रोनाल्डोलाई आराम दिएको थियो ।

यस खेलमा पराजित भएसँगै युभेन्टसले सिरी ए मा २७ खेलमा अपराजित यात्रामा पूर्ण विराम लागेको छ । युभेन्टसको यस सिजनको सिरी ए मा यो पहिलो हार हो । यसअघि खेलेका २७ खेलमा युभेन्टसले २४ खेलमा जित र ३ बराबरी खेलेको थियो ।

यस खेलमा हार पछि युभेन्टसको २८ खेलमा ७५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको नापोली भन्दा अझै १८ अंकले अगाडी रहेको छ ।

त्यस्तै जेनोयाको २८ खेलमा ३३ अंक हासिल गर्दै ११औ स्थानमा उक्लिएको छ ।
      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै