• २०८१ बैशाख ८ शनिबार

एसियन फिल्म अवार्डमा जापानी चलचित्र ‘सपलिफ्टर्स’ उत्कृष्ट

kharibot

वर्षभरिका उत्कृष्ट एसियन चलचित्रलाई पुरस्कृत गर्ने एसियन फिल्म अवार्ड्सको तेर्हौं संस्करणको मूल समारोह आइतबार साँझ हंगकंगमा सम्पन भएको छ ।

हंगकंगको टिभीएफ सहरमा आयोजना गरिएको अवार्ड समारोहमा जापानी चलचित्र ‘सपलिफ्टर्स’ ले उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको छ । उत्कृष्ट चलचित्रको विधामा ‘सपलिफ्टर्स’सँगै दक्षिण कोरियाबाट ‘बर्निंग’, चीनबाट ‘डाइंग टु सर्भाइभ’ र ‘जिन्पा’ र भारतबाट ‘सन्जु’ मनोनयनमा परेका थिए ।

हिरोकाजु कोरे-इदाले निर्देशन गरेको ‘सपलिफ्टर्स’ २०१८ को क्यानस फिल्म फेस्टिभलमा पनि उत्कृष्ट चलचित्रको अवार्ड जितेको थियो भने ओस्कार र गोल्डेन ग्लोब्समा विदेशी भाषाको उत्कृष्ट चलचित्रको मनोनयनमा परेको थियो । ‘सपलिफ्टर्स’ ले उत्कृष्ट ओरिजिनल म्युजिकको अवार्ड पनि जितेको थियो ।

त्यसैगरी उत्कृष्ट निर्देशकको अवार्ड दक्षिण कोरियाली चलचित्र ‘बर्निंग’ का लागि ली चांग-डोंगले हात पारे । उनलाई अवार्ड समारोहमा लाईफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट अभिनेताको अवार्ड जापानी चलचित्र ‘द ब्लड अफ उल्भ्स’ का लागि कोजी याकुसोलाई प्रदान गरिएको थियो । झन्डै ४० वर्षदेखि फिल्मक्षेत्रमा सक्रिय रहेका ६३ वर्षिया याकुसोलाई उत्कृष्ट अभिनेताको अवार्डसँगै एक्सिलेन्स इन एसियन सिनेमाको पुरस्कारले पनि सम्मानित गरिएको थियो । त्यसैगरी उत्कृष्ट अभिनेत्रीको अवार्ड कजाखस्तानको चलचित्र ‘आएका’ का लागि समाल यास्लियामोभाले जितेकी थिइन् । उनले २०१८ को क्यान्स फिल्म फेस्टिभलमा पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् ।

यसका साथै उत्कृष्ट सह-अभिनेताको अवार्ड चिनियाँ चलचित्र ‘डाइंग टु सर्भाइभ’ का लागि जांग यु र उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड हंगकंगको चलचित्र ‘ट्रेसी’ का लागि कारा वेइले जितेका थिए । त्यस्तै चिनियाँ चलचित्र ‘एयास इस प्युरेस्ट वाइट’ का लागि जिया जान्केले उत्कृष्ट पटकथाको अवार्ड जितेका थिए ।

सबैभन्दा धेरै विधामा अवार्ड भने चिनियाँ चलचित्र ‘स्याडो’ ले जित्न सफल भएको थियो । जांग युमोउले निर्देशन गरेको ‘स्याडो’ ले ४ वटा प्राविधिक विधाहरूमा अवार्ड जितेको थियो । ‘स्याडो’ ले उत्कृष्ट सिनेमेटोग्राफी, कस्ट्युम डिजाइन, प्रोडक्सन डिजाइन र साउण्ड विधामा अवार्ड जितेको थियो ।

त्यसैगरी अन्य विधाहरूमा उत्कृष्ट न्युकमरमा चिनियाँ चलचित्र ‘अपरेसन रेड सी’ का लागि जोनी हुआङ जिन्ग्यु, उत्कृष्ट नव निर्देशकमा हंगकंगको ‘स्टिल ह्युमन’ का लागि ओलिभर चान सियु कुएन, उत्कृष्ट भिजुअल इफेक्ट्समा चिनियाँ चलचित्र ‘प्रोजेक्ट गुटनबर्ग’ का लागि एलेक्स लिम हंग फुंग, एएफए राइजिइंग स्टार अवार्डमा दक्षिण कोरियन अभिनेता पार्क सियो-जुन, एएफए नेक्स्ट जेनेरेसन अवार्डमा दक्षिण कोरियाली कलाकार किम जेइ-जुंग र उत्कृष्ट सम्पादनमा जापानी चलचित्र ‘किलिंग’ का लागि सुकामातो सिन्याले अवार्ड जितेका थिए ।

यस पटकको एसियन फिल्म अवार्ड्समा भारतबाट सन्जु, तुम्बाड, २.० र बुलबुल क्यान सिंग विभिन्न विधामा मनोनित भएका थिए । यीमध्ये राजकुमार हिरानीले निर्देशन गरेको बलिउड सुपरस्टार संजय दत्तको जीवनीमा आधारित ‘सन्जु’ सबैभन्दा धेरै ६ विधामा मनोनित भएको थियो ।

समग्रमा पनि ‘सन्जु’ सबैभन्दा धेरै विधामा मनोनयनमा परेकेको दक्षिण कोरियाली चलचित्र ‘बर्निंग’ पछि दोस्रो नम्बरमा रहेको थियो । ‘सन्जु’ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट पटकथा, उत्कृष्ट संगीत र उत्कृष्ट सहअभिनेताको विधामा मनोनित हुन सफल भएको थियो । त्यसैगरी राही अनिल भार्बे र आदेश प्रसादले निर्देशन गरेको ‘तुम्बाड’ उत्कृष्ट सिनेमेटोग्राफी र उत्कृष्ट प्रोडक्सन डिजाइनको विधामा मनोनित भएको थियो भने संकरले निर्देशन गरेको रजनीकान्त र अक्षय कुमार अभिनित ‘२.०’ उत्कृष्ट भिजुअल इफेक्ट्स र उत्कृष्ट साउण्डको विधामा मनोनित भएको थियो । त्यस्तै रिमा दासले निर्देशन गरेको आसामी भाषाको चलचित्र ‘बुलबुल क्यान सिंग’ उत्कृष्ट नव निर्देशकको मनोनयनमा परेको थियो ।

थुप्रै विधाहरूको मनोनयनमा परेपनि भारतीय चलचित्रले कुनै पनि विधामा अवार्ड भने जित्न सफल भएनन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै