• २०८१ बैशाख १३ बिहीबार

साओमीको रेडमी ७ सार्वजनिक, यस्ता छन् फिचर

kharibot

स्मार्टफोन, ल्यापटप लगायतका इलेक्ट्रोनिक सामानहरू उत्पादन गर्ने चिनियाँ कम्पनी साओमी इलेक्ट्रोनिक्सले आफ्नो नयाँ स्मार्टफोन रेड्मी ७ लाई आज आधिकारिक रुपमा चीनमा लन्च गरेको छ ।

मध्यम बजेटका स्मार्टफोनको बजारलाई लक्षित गरिएर बनाइएको रेड्मी ७ सँगै यो भन्दा अलि महँगो रेड्मी नोट ७ प्रोको चिनियाँ संस्करण पनि सार्वजनिक गरिएको थियो । रेड्मी नोट ७ भने आधिकारिक रुपमा यसअघि नै भारतमा सार्वजनिक गरिसकिएको छ । तर साओमीले रेड्मी नोट ७ लाई चिनियाँ बजारका लागि भने अहिले बल्ल लन्च गरेको हो ।

रेड्मी ७ का २ जीबी, ३ जीबी र ४ जीबी र्याम भएका तीन मोडलहरू लन्च गरिएका छन् । जसको स्टोरेज क्षमता २ जीबी र्याम मोडेलको १६ जीबी, ३ जीबी र्यामको ३२ जीबी र ४ जीबी र्यामको लागि ६४ जीबी रहने छ । रेड्मी ७ का तीनै मोडेलहरू कालो, रातो र निलो रङ्गमा उपलब्ध हुने छन् । रेड्मी ७ मा गुगलको एण्ड्रोइड ९ पाइ अपरेटिंग सिस्टम भए पनि यसको युजर इन्टरफेसका लागि भने साओमीको आफ्नै एमआइयुआइ १० को प्रयोग गरिएको छ । त्यसैगरी फोनको स्क्रिन ६.२६ इन्चको रहेको छ भने यसको रिजोलुसन ७२०x१५२० पिक्सेल र आस्पेक्ट रेसियो १९:९ रहेको छ ।

फोनको स्क्रिनलाई कर्निंग गोरिल्ला ग्लास ५ ले सुरक्षा दिनेछ भने पानी एवम् अन्य तरल पदार्थबाट फोनलाई जोगाउन पीटुआइ न्यानो प्रविधिको प्रयोग गरिएको छ । त्यसैगरी फोनमा क्वाल्कमको स्न्यापड्रयागन ६३२ प्रोसेसर रहने छ जसको प्रोसेसिंग स्पीड १.८ गिगाहर्ज रहने जनाइएको छ ।

यसका साथै फोनको पछाडि १२ मेगापिक्सेल र २ मेगापिक्सेलका दुई वटा क्यामेरा लेन्स रहेका छन् भने सेल्फी क्यामेरा ८ मेगा पिक्सेलको रहेको छ । फोनको क्यामेरामा एआइ स्मार्ट ब्युटी, सेल्फी टाइमर र फेस अनलक जस्ता फिचरहरू पनि रहेका छन् ।

त्यस्तै फोनको ब्याट्री क्षमता ४००० एमएएच रहेको छ । त्यसैगरी फोनको ब्याट्रीसँगै फोनका सफ्टवेयर र हार्डवेयर तहमा रहेका ३० भन्दा बढी पावर सेभिंग अप्टिमाइजेसन र एआइ इन्टिग्रेसन प्रणालीले सहकार्य गरेर एक पल्ट चार्ज गरे पछि झन्डै ४०० घण्टाको ‘स्ट्याण्डबाइ टाइम’ दिने कम्पनीले दाबी गरेको छ ।

रेड्मी ७ चिनियाँ बजारमा मार्च २६ देखि बिक्रि हुने जनाइएको छ भने चीनबाहेक अन्य बजारमा भने कहिलेदेखि उपलब्ध हुनेबारे कम्पनीले कुनै जानकारी दिएको छैन ।

रेड्मीलाई साओमीले मध्यम बजेटका स्मार्टफोनहरूको उत्पादनका निम्ति जुलाई २०१३ देखि लन्च गरेको थियो । यसै वर्षको जनवरीदेखि भने साओमीले रेडमीलाई आफ्नो सब-ब्राण्डका रुपमा घोषणा गरेको थियो । जसअनुसार रेड्मीका रेड्मी र रेड्मी नोट सिरिज गरेर दुई खालका स्मार्टफोनहरू आउने गरेका छन् । रेड्मीले २०१३ जुनमा रेड्मी १ र २०१४ अप्रिलमा रेड्मी नोट थ्रीजी लन्च गरेदेखि अहिले सम्म यी दुईखाले मोडलमा २५ भन्दा बढी स्मार्टफोनहरू लन्च गरिसकेको छ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै