• २०८१ बैशाख ७ शुक्रबार

राजपाको विरोधः प्रतिनिधिसभाको बैठक अवरोध

kharibot

काठमाडौँ /  राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ । 

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । 
विरोध भएपछि सभामुख महराले राजपाका नेता अनिलकुमार झालाई बोल्न समय प्रदान गरे । 

झाले सभामुखबाट सरकारलाई लाल आयोगको प्रतिवेदन अर्काे बैठकमा सार्वजनिक गर्न रुलिङ होस् भनी माग गरे । उनले भने ,“आफ्नो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ, सभामुखका तर्फबाट पनि प्रतिवेदन सार्वजनिक गर्न रुलिङ भएको थियो तर पनि सरकारले तदारुखता देखाउनुको साटो आलटाल गरिरहेको छ ।” 

सभामुखबाट रुलिङ भएको हप्ताभन्दा बढी समय बितेको र प्रतिवेदन सार्वजनिक भएमा कैलालीको टीकापुरमा भएको घटनामा कसले के कस्तो गल्ती अन्याय गरेकोछ, कसलाई केकस्तो कारवाहीको सिफारिश गरेको छ भन्ने जान्न सकिने थियो भन्दै सांसद झाले सरकारले प्रतिवेदन सार्वजनिक नगरेर सत्य लुकाउन खोजेको र सभामुखको रुलिङ नमान्नु संसदीय सर्वाेच्चतालाई नमानेको विचार राखे । 

त्यसपछि पनि राजपाका सांसदले उठेर विरोध जनाइरहेपछि सभामुख महराले प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई सरकारले सकारात्मक रुपमा लिएको र केही समय अध्ययनका लागि माग भएको जानकारी दिए । त्यसपछि पनि राजपाबाट विरोध भइरहेपछि सभामुखले बैठक १० मिनेटको लागि स्थगन भएको घोषणा गरे । यसअघि पनि राजपाका सांसदको विरोधका कारण तीन बैठक प्रभावित भएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै