• २०८१ बैशाख ८ शनिबार

उत्तर कोरियासँग पुनः वार्ता हुन्छ : अमेरिकी विदेशमन्त्री

kharibot

अमेरिका । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताएका छन् ।

उनले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ ।

उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले उत्तर कोरियासँग अमेरिकाले चासो राखिरहेको र यस विषयमा आवश्यकताअनुसार पुनः वार्ता गर्ने उनको धारणा थियो ।

अमेरिकाको ‘बि ९८ एफएम’ लाई दिनुभएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले भने, हामीलाई विश्वास छ कि हामी यस विषयमा प्रतिक्षामा छौँ र उत्तर कोरियाले यस विषयमा गरेका प्रतिबद्धताहरु पालना गर्ने विश्वासमा छौँ ।

"हामीले इतिहासमा नै सबैभन्दा गाह्रो आर्थिक नाकाबन्दी पनि लगाएका छौँ र हामीले इतिहासकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक वार्ताहरु पनि गरेका छौँ," उनको भनाई थियो ।

हनोइमा अमेरिका र उत्तर कोरियाबीचमा भएको उच्चस्तरीय वार्तामा केही प्रगति भने भएको धारणा राखे । उत्तर कोरियाको आणविक कार्यक्रम यस दशककै गाह्रो विषय भएकोले यसमा अरु केही वार्ताहरु पनि गर्नुपर्ने हुन सक्ने उनको भनाई थियो ।

उनले भने, सिंगापुरमा गत वर्ष भएको वार्तापछि केही हप्तामात्र अघि भियतनामको हनोइमा महत्वपूर्ण वार्ता भयो र त्यहाँ थोरै मात्र भए पनि प्रगति भएको छ, यसलाई हामी आगामी दिनका लागि पनि निरन्तरता दिन चाहन्छौँ ।

उता केही दिनमात्र अघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने बताएका थिए ।

उनले निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको बताइरहेका बेला सोमबार अमेरिकी विदेशमन्त्रीको यो धारणा आएको छ ।

अमेरिका र उत्तर कोरियाबीच गतवर्ष भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो ।

तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ । तर आफूहरु सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाई छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको वार्ता भएको थियो ।

सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभएको बताइएको थियो । तर हनोइ वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका थिए ।

उनीहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । सो वार्तामा निशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने सोही बमोजिम काम गरिरहेको बताइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै