• २०८१ बैशाख १३ बिहीबार

सन्दीप भन्छन् - 'आइपिएलका लागि कुनै दबाब छैन' 

kharibot

काठमाडौं ।  नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफुले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

आइपिएल खेल्न बुधबार दिल्ली जानुअघि मंगलबार मिडियासँग कुरा गर्दै विदेशमा खेलेको फ़्रेन्चाइज लिगले आफ्नो आत्मविश्वास झन बढेको बताएका छन् ।

गत सिजनमा आइपिएल खेले देखि अहिलेसम्म आफुले विश्वका धेरै टी-२० लिग खेलेर अनुभव बटुलेकोले अहिले कुनै प्रेसर नभएको बताए । आफ्नो यस सिजनमा लक्ष्य भनेको टिमलाई जिताउने नै हुने बताउदै सन्दीपले अहिलेको दिल्ली क्यापिटलको टिम ब्यालेन्स रहेको प्रतिक्रिया दिए । 

टी-२० लिग बाहिर खेलेपनि आफ्नो अन्तिम लक्ष्य नेपालको क्रिकेटलाई अर्को तहमा पुर्याउने रहेको बताउदै सन्दीपले आइपिएलका लागि कुनै दबाब नभएको बताए ।

दिल्लीको प्लेइङ इलेभेनमा पर्ने नपर्ने बारे आफुले नसोच्ने बताउदै सन्दीपले मौका पाएमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । 

पाकिस्तानी सुपर लिग बारे कुरा गर्दै सन्दीपले आफ्नो स्वास्थ्य त्यति राम्रो नभएकाले प्रदर्शन सोचे अनुसार हुन नसकेको बताउदै खराब स्वास्थ्यका बाबजुत आफुले राम्रो खेल्ने प्रयास गरेको बताए । पिएसएलमा सन्दीपले ७ खेल खेल्दै ११ विकेट लिएका थिए ।       

२३ मार्चदेखी सुरु हुने आईपीएलका लागि सन्दीप बुधबार भारत जान लागेका हुन् । 

यसअघि दिल्ली डेयरडेभिल्सका नामले आइपिएल खेलिरहेको दिल्लीले यस सिजनदेखि दिल्ली क्यापिटल नाम राखेको छ ।

आगामी २३ मार्चदेखि सुरु हुने आइपिएलमा दिल्ली मार्च २४ मा मुम्बई इण्डियन्सविरुद्ध मुम्बईमा खेल्दै छ । दिल्लीले दोस्रो खेल भने २६ मार्चमा चेन्नई सुपरकिंग्सविरुद्ध घरेलु मैदान कोटलामा खेल्ने छ ।

दिल्लीबाट नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आफ्नो दोस्रो सिजन खेल्दै छन् । 

सन्दीपले पहिलो सिजनमा केबल ३ खेल खेल्दै कुल ५ विकेट लिएका थिए । सन्दीपले मुम्बई इण्डियन्सविरुद्ध ३ विकेट लिएका थिए । त्यस्तै चेन्नईविरुद्ध एक विकेट लिएका थिए भने रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध पनि एक विकेट लिएका थिए ।

सन्दीपले खेलेका कुल ३ खेलमा दिल्लीले २ खेलमा जित हासिल गरेको थियो । गत सिजनमा दिल्लीले १४ खेलमा केबल ५ खेलमा जित हासिल गरेको थियो भने ९ खेलमा हार बेहोर्दै अंक तालिकामा पुछारमा रहदै समुह चरणबाट बाहिरिएको थियो ।

दिल्लीले अहिलेसम्म आइपिएल जित सकेको छैन । दिल्लीको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन सन् २०१२ मा तेस्रो स्थानसम्म आएको थियो ।

अहिलेसम्म आइपिएलको ११ सिजन सकिदा दिल्लीसहित रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स इलेभेन पंजावले आइपिएलको उपाधि जितेका छैनन् ।

दिल्ली क्यापिटलका खेलाडीहरु : श्रेयस ऐर (कप्तान), ऋषभ पन्त, शिखर धवन, पुथ्वी शा, सन्दीप लामिछाने, अमित मिश्रा, ईशान्त शर्मा, हनुमा विहारी, कोलिन इन्ग्राम, आवेश खान,  ट्रेन्ट बोल्ट, कागिसो रवाडा, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, अन्कुश वेन्स, नाथसिंह, शेरफेन रदरफोर्ड, किमो पल,जलज सक्सेना र अक्षर पटेल । 

त्यस्तै दिल्ली क्यापिटलको प्रमुख कोचमा अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ रहेका छन् भने सहायक कोच भारतका पुर्व खेलाडी मोहमद कैफ रहेका छन् । त्यस्तै दिल्ली क्यापिटलका एड्भाइजरमा भारतीय पुर्व कप्तान सौरभ गांगुली रहेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै