• २०८१ बैशाख ८ शनिबार

मोदीको जीवनमा आधारित चलचित्र ‘पीएम नरेन्द्र मोदी’को ट्रेलर सार्वजनिक

kharibot

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित रहेर बनाइएको चलचित्र ‘पीएम नरेन्द्र मोदी’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर लन्च गरिएको थियो ।

चलचित्रमा विवेक ओबरोय प्रधानमन्त्री मोदीको भूमिकामा देखिनेछन् । चलचित्रमा नरेन्द्र मोदीको सुरुवाती दिनदेखि उनको प्रधानमन्त्रीसम्मको यात्रालाई देखाइने जनाइएको छ ।

ट्रेलरमा मोदीलाई बाल्यकालदेखि नै अत्यन्त ठूलो देशभक्तका रुपमा देखाइएको छ र ट्रेलर हेर्दा उक्त चलचित्र एक राजनीतिक प्रोपागाण्डा जस्तो हुने अनुमान लगाउन सकिन्छ ।

चलचित्रलाई ‘मेरी कोम’ र ‘सरबजीत’ जस्ता चलचित्र बनाएका उमंग कुमारले निर्देशन गरेका छन् । त्यसैगरी चलचित्रमा बिजेपीका अध्यक्ष अमित साहको भूमिका मनोज जोशीले निभाउनेछन् भने व्यापारी रतन टाटाको भूमिकामा बोमन इरानी देखिनेछन् । त्यस्तै नरेन्द्र मोदीकी आमाको भूमिकामा भने जरिना वाहब देखिनेछिन् ।

चलचित्रको अधिकांश भाग मोदी तेह्र वर्षसम्म मुख्यमन्त्री रहेको गुजरात राज्यमा छायांकन गरिएको जनाइएको छ । चलचित्र लोकसभा चुनाव सुरु हुनुभन्दा एक हप्ता अघि अप्रिल ५ मा रिलिज हुनेछ ।

यसरी मोदीको गुनगान गएर निर्माण गरिएको चलचित्र चुनावको मुखैमा रिलिज हुनुलाई राजनीतिक हिसाबले अर्थपूर्ण रुपमा हेरिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै