• २०८१ बैशाख ६ बिहीबार

युट्युब सब्स्क्राइबरको दौडमा पिउडीपाइलाई उछिन्दै टी-सिरिज बन्यो नम्बर १ च्यानल

kharibot

काठमाडौं । पछिल्लो केही समयदेखि युट्युबमा चलिरहेको सबैभन्दा धेरै सब्स्क्राइबर बनाउने दौडमा भारतीय फिल्म निर्माण एवम् सांगेतिक कम्पनी टी-सिरिजले अहिले स्विडेनका युटुबर पिउडीपाइलाई उछिनेको छ ।

यो सँगै टी-सिरिज अहिलेका लागि संसारकै सबैभन्दा धेरै सब्स्क्राइबर भएको युट्युब च्यानल बन्न सफल भएको छ । टी-सिरिजका सब्सक्राइबरहरूको सङ्ख्या अहिले ९ करोड ५३ लाख नाघेको छ भने पिउडीपाईको सब्सक्राइबरहरूको सङ्ख्या ९ करोड ५० लाख रहेको छ ।

पिउडिपाईका नामले चिनिने स्विडेनका युटुबर फेलिक्स अर्बिड उल्फ सेलबर्गले २०१० मा बनाएको युट्युब च्यानल २०१३ अगस्ट १५ देखि निरन्तर रुपमा सबैभन्दा धेरै सब्सक्राइबरहरू भएको युट्युब च्यानलका रुपमा रही आएको थियो । टी-सिरिज भने २०१७ फेब्रुअरीमा सबैभन्दा बढी हेरिएको युट्युब च्यानल बनेको थियो । प्राय: म्युजिक भिडियोहरू अपलोड गर्ने टी-सिरिजका भिडियोहरूको कुल भ्यु सङ्ख्या ६ अर्ब ४० करोड भन्दा बढी रहेको छ ।

विगत केही समयदेखि इन्टरनेटमा यी दुई च्यानल बीचको प्रतिस्पर्धा तीव्र रुपमा चलिरहेको छ । २०१८ अक्टोबर ५ मा पिउडीपाईले टी-सिरिजमाथी आक्रामक रुपमा प्रस्तुत हुँदै गाली गरेको ‘बीच लासंगा’ बोलको र्याप भिडियो अपलोड गरेको थियो । त्यस्तै संसारका ठूला युटुबर र वेलायतको एक राजनीतिक पार्टीले समेत टी-सिरिज र पिउडीपाई बीचको प्रतिस्पर्धामा पिउडीपाईको समर्थन गरेका थिए ।

त्यसैगरी उता टी-सिरिजका मालिक भुसन कुमारले भने टी-सिरिजलाई संसारको सबैभन्दा ठूलो युट्युब च्यानल बनाउन सामाजिक संजालमा #BharatWins नामको अभियान नै चलाएका थिए । जसलाई बलिउड स्टारहरू सलमान खान, अजय देबगन, वरुण धवन, जोन अब्राहम, अर्जुन कपुर लगायतले समर्थन गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै