• २०८१ बैशाख १२ बुधबार

अनियमितता रोक्न सहकारीमा विद्युतिय प्रणाली

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा अनियमितता गरेको उजुरी बढेपछि विद्युतीय प्रणाली शुरु गरिएको छ । सेवाग्राहीमा परेको समस्या समाधान र छिटो सेवा प्रदान गर्ने उद्देश्यका साथ विद्युतिय प्रणाली लागू गरिएको विभागले जनाएको छ । 

पछिल्लो समय आवश्यकताभन्दा बढी सहकारी सञ्चालनमा रहेका छन् । तिनको प्रत्येक स्थानमा गएर अवस्था बुझ्नुभन्दा अनलाइनको माध्यमबाट विभागमा नै सबै सहकारीको काम कारवाही हेर्न सकिने गरी व्यवस्था मिलाइएको महानगरको सहकारी विभागका प्रमुख नमराज ढकालले जानकारी गराए । 

उनका अनुसार यस व्यवस्थाको मुख्य उद्देश्य सहकारी अनियमितता बारे आएका उजुरी कम गर्नु हो । कामपामा हाल एक हजार ८५६ सहकारी छन् । यी सबै सहकारीले गरेको कामको विवरण विभागमा आउने गरी व्यवस्था मिलाइएको छ । यस व्यवस्थासँगै काम गर्न सहज हुने ढकालले बताए । 

सहकारीहरूले बचतकर्ताको पैसा नतिरी भाग्ने गरेको भन्दै उजुरी बढ्दै गएको छ । ढकालले भने, “सहकारीका फाइललाई सङ्घीय सहकारी विभागबाट निर्माण गरिएको कम्प्युटर सफ्टवेयर प्रणालीबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।” सहकारीले ठगेको भन्दै विभागमा ६० मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ३५ वटा मुद्दाको फछ्र्यौट गरिएको महानगरले जनाएको छ । 

काठमाडौँका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुउद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दूग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । संवैधानिक व्यवस्थाअनुसार गत साउनदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था अनुरूप महानगरले आफ्ना क्षेत्रभित्रका सहकारीमाथि नियमन बढाएको छ । 

यस प्रणालीमार्फत सहकारी संस्थाले आफ्नो कार्यालयबाट नै अनुगमन गर्न सक्ने व्यवस्था मिलाएको छ । दर्ता भएका एक हजार ८५६ मध्ये गत फागुन ७ गतेसम्म जम्मा ६०८ सहकारीले मात्रै प्रतिवेदन बुझाएका छन् । बाँकीलाई सार्वजनिक सूचनामार्फत तत्काल बुझाउन आदेश दिएको ढकालको भनाइ छ । 

आर्थिक वर्ष सकिएको छ महीनाभित्र साधारणसभा गरी त्यसको १५ दिनभित्र वार्षिक प्रतिवेदन विभागमा पेस गर्नुपर्ने भए पनि धेरै सहकारीले नियम पालना नगरेपछि कडाइ गर्न लागिएको विभागका प्रमुख ढकालले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै