• २०८१ बैशाख ५ बुधबार

सुन्दर सुदूरका समस्या र सम्भावना

kharibot

काठमाडौँ । नेपालको एक प्राकृतिक सौदर्यले भरिपूर्ण क्षेत्र हो सुदूरपश्चिम । प्रकृतिको धरोहर र उपहार भन्दा पनि फरक नपर्ने त्यो सुन्दर सुदूरपश्चिमले घुम्न आउने जोकोहीलाई लोभ्याउने गर्छ । कलकल बग्ने कर्णाली, महाकाली, घोडाघोडी ताल, सुरमा ताल, विभिन्न झरनाहरु सुदूरपश्चिमका धरोहर हुन् । त्यसैगरी अपि, सैपालजस्ता हिमशृंखलाले मेरो सिंगो देशलाई चियाइरहेका छन् ।

यहाँ जति प्रकृतिको सुन्दर मनोरम दृश्य अवलोकन गर्न सक्छौं, त्यति नै त्यहाँका मानिस कला र संस्कृतिमा धनी छन् । उनीहरुमा एक आफ्नै मौलिक पहिचान, भाषा, संस्कार, रहनसहन, रीतिरिवाज रहेको पाइन्छ । सुदूरपश्चिममा गाइने मौलिक देउडा गीत तथा नृत्य, छलिया, हुड्क्यौली नाच जस्ता थुप्रै कला संस्कृतिले सुदूरपश्चिमलाई पहिचान दिइरहेका छन् र ऊर्जा थपिरहेका छन् ।

सुदूरपश्चिम विकास क्षेत्र ९ ओटा जिल्ला र २ ओटा अञ्चलमा विभाजित छ । दुवै जिल्ला नेपालकै प्रमुख नदीको नामबाट नामकरण गरिएको छ । महाकाली अञ्चलमा पर्ने शुक्लाफाँटा वन्यजन्तु आरक्षण, खप्तड राष्ट्रिय निकुञ्ज मुख्य पर्यटकीय स्थलहरु हुन् । यस विकासको मुख्य राजमार्ग महेन्द्रनगर, भिमदत्त मार्ग मानिन्छ ।

समस्या

सुन्दर सुदूरपश्चिमका कतिपय ठाउँहरुमा खानेपानीको समस्या रहेको पाइन्छ । जस्तै : बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी लगायत कतिपय ठाउँहरुमा अझै पिउने पानी भर्न विहान ३ बजेदेखि नै लाइनमा बस्नुपर्ने बाध्यता छ । कतिपय ठाउँमा दुई–तीन घण्टा उकालो–ओराले बाटो हिँडेर पिउने पानी बोक्न बाध्य छन् ।

समस्या पानीको मात्र होइन बाटोघाटोको पनि कतिपय ठाउँमा राम्रो व्यवस्था हुन सकेको छैन । त्यसैगरी नदी वारपार गर्नका लागि राम्रो पुलको व्यवस्था पनि हुन सकेको छैन । सुदूरपश्चिम वासीहरु नदी वारपार गर्न कहिकतैँ तुइनबाट आवतजावत गर्नुपर्ने बाध्यात्मक परिस्थिति झेलिरहेका छन् । सामान आयातनिर्यात गर्न यातायातको साधनका रुपमा खच्चडहरुको प्रयोग भइरहेको छ ।

त्यस्तै, गाउँघरमा गुणस्तरीय स्वास्थ्य चौकी र स्वाथ्यकर्मीहरुको राम्रो व्यवस्था हुन सकेको छैन । कोही विरामी पर्यो भने अझै पनि पिठ्युमा बोकेर सदरमुकाम सम्म पुर्याउन नपाउदै बाटोमा मृत्यु हुने गरेको समाचार तपाई हामीले पढ्दै, सुन्दै र देख्दै आइरहेका छौं ।

सुदूरपश्चिमका पहाडी जिल्लामा अझै गुणस्तरीय विद्यालय र शिक्षकको अभाव रहेको देखिन्छ । गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । आवश्यकता हुँदाहुदै पनि पहाडी जिल्लाका बालबालिकाहरुले गुणस्तरीय शिक्षा आर्जन गर्न पाइरहेका छैनन् । समयमा पाठ्यपुस्तक नपुग्ने र पढाउने विषयगत शिक्षकको अभाव रहेको पाइन्छ ।

त्यस्तै, सुदुरका कतिपय पहाडी तथा तराईमा झन कुरीतिको प्रथाहरु व्याप्त रहेको पाइन्छ । त्यसमध्येकै छाउपडी प्रथा पनि एक सामाजिक समस्या भित्रै सुदूरपश्चिम बासीहरुमा रहेको छ ।  त्यहाँका महिलाहरु महिनावरी भएको बेला गाईवस्तु राखिएको गोठमा सुत्छन् । यहाँको सामाजिक विश्वास अनुसार महिनावरी भएको बेला घरमा बस्दा कुलदेउता रिसाउने डरले गोठमा बस्ने चलन रहेको पाइन्छ । जसले गर्दा महिला तथा बालबालिका शारीरिक र मानसिक रुपमा शोषित र पीडित हुन पुगेको पाइन्छ । सुदूरपश्चिमको जुल्लामा गरिएको एक सर्वेक्षणमा २५ प्रतिशत महिला तथा १३ प्रतिशत बालिका महिनावरी भएको बेला छाउगोठमा बस्छन् भन्ने तथ्याङ्क ‘आत्मसम्मानका लागि सहकार्य नेपाल’ जुम्लाले गरेको सर्वेक्षणले देखाएको छ ।

सर्वाेच्च अदालतको आदेशपछि सरकारले २०६३ बैशाख २६ गते छाउपडी प्रथालाई कुरीति घोषणा गर्नुका साथै निर्देशिका र आवश्यक कानून निर्माण गर्नका लागि सरकारलाई निर्देशन दिएको थियो । जारी भएको निर्देशन निर्देशनमा मात्रै सीमित भएको पाइन्छ । यसको लागि कुनै पहल तथा कार्यक्रम सञ्चालन समिति गठन समेत भएका छैनन् ।

सुदुर पश्चिमको जुम्लामा भएको समस्या यहाँमात्रै नभएर सुदुर पश्चिमका विभिन्न जिल्लाहरुमा व्याप्त रहेको पाइन्छ । सुदुर पश्चिममा अन्य थुप्रै प्रथाहरु रहदै आएको पाइन्छ । जस्तै, झुमा प्रथा, बोक्सी आरोप, कमैया प्रथा, दाइजो प्रथा आदि । जसले गर्दा समाजमा विभिन्न समस्याह उत्पन्न हुने गरेका छन् । यस्ता समस्याहरु तथा अन्धविश्वासहरुले समाजको विकासमा समस्या खडा गर्ने तत्वका रुपमा देखा परेका छन् ।

त्यस्तै यस क्षेत्रमा जंजीर रुपमा रहेको देउकी प्रथा पनि एक कुप्रथाको रुपमा रहेको पाइन्छ । देउकी प्रथा भन्नाले एक पुरातन कुप्रथा हो जसमा एक किशोरीलाई केही धर्मको नाममा मन्दिरमा देउकीको रुपमा चढाउने गरिन्छ । यो प्रथा नेपालको सुदूरपश्चिमा अझै पनि व्याप्त रहेको पाइन्छ । देउकीको रुपमा मन्दिरमा चढाइएकी किशोरीहरु आफ्नै छोरीहरु वा गरिब परिवारका छोरीहरुलाई प्रयोग गर्ने गरिएको पाइन्छ । यस्ता देउकी बनाइएका किशोरीहरुले मठ–मन्दिरको परिधिभित्र रही बाच्नुपर्ने बाध्यता रहेको पाइन्छ । उनीहरुलाई बैवाहिक जीवनमा बाधिनबाट वञ्चित गरिएको हुन्छ जसले गर्दा यस्ता देउकी किशोरीहरुको स्वतन्त्र रुपमा बाँच्न पाउने मानव अधिकार हनन भइरहेको पाइन्छ । यस्तो किसिमको कुप्रथाले समाजमा नकारात्मक असर पारिरहेको हुँदा सुदूरपश्चिमको शान र गौरवमा नराम्रो प्रभाव पारेको पाइन्छ ।

सुदरपश्चिम प्रदेशलाई नजिकबाट नियाल्ने प्रयासरत नेताहरुको त्यस ठाउँको विकास, समृद्धि र पर्यटन विकास प्रवद्र्धनमा ध्यान नजाँदा अझै सुदूरपश्चिम वासीहरु पीडामा जीविकोपार्जन गर्न विवश रहेको पाइन्छ ।

समाधान के छ त ?

सुदूर पश्चिममा भएका समस्याहरु समाधान गर्नका लागि स्थानीय स्तरका नेताहरु र उक्त गाउँ समाजमा भएका युवा तथा बुद्धिजीवीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्न सक्छन् । जस्तै : जनचेतनामूलक कार्यक्रम, समाजमा हुने विभिन्न किसिमका समस्याहरु समाधान गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्नलाई आवश्यक संयन्त्र तयार गर्न सकिन्छ । ऐन नियम अनुसार कानुनी ढङ्गले समान व्यवहार गरी सबैलाई समान हक अधिकारको सुनिश्चित गराउने जस्ता कार्यहरु गर्न आवश्यक छ । जसले गर्दा विकासका कार्यक्रमहरुलाई अघि बढाउनको लागि टेवा पुग्दछ ।

सरकारले पनि सुदूरपश्चिममा भएका समस्याहरुलाई नजिकबाट नियाल्दै सूदुरपश्चिमका बासिन्दाका लागि बनाइएका नीति तथा नियमहरु सही ढङ्गले कार्यान्वयन भएका छन की छैनन् ? सूदरपश्चिमका बासिन्दाहरुको जीवनस्तर कसरी चलिरहेको छ ? जीवनस्तरलाई सुधार्नलाई के–के प्रयासहरु गर्नु आवश्यक छ ? सरकारले पनि यस्ता विविध प्रश्नहरुको जवाफ खोज्न जरुरी देखिन्छ भने उक्त प्रश्नहरुको जवाफ खोजी समाधानको बाटोतिर लाग्न आवश्यक निर्देशन दिई सही ढङ्गले निर्देशनलाई पालना गराउने प्रयासमा जुट्नु आवश्यक छ ।

विकासका कार्यहरुलाई अगाडि बढाउनका लागि नीतिनियमको बनाई कार्यान्वयन गर्नका लागि युवा तथा केन्द्रीय र स्थानीय सरकारले विशेष ध्यान दिन आवश्यक देखिन्छ । जसले गर्दा सुदूरलाई विकासको सम्भावनाबाट दूर बनाउने छैन भन्ने कुरामा दुई मत हुने छैन ।

आखिर सूदुरपश्चिम कहिलेसम्म विकास र समृद्धिबाट दूर रहने ? सबैको नजरमा सूदुरपश्चिमको पहिचान अटल कसरी बनाउने ? समयमै सूदुरपश्चिममा भएका समस्याहरुलाई पहिचान कसले गर्ने ? यावत प्रश्नहरु स्थानीय सरकारले जवाफ खोज्न जरुरी छ ।

सूदर पश्चिममा जतिपनि कला, संस्कृतिहरु छन् ती सबै सूदुर पश्चिमका गहना हुन् । त्यसैले गर्दा नै सूदुर पश्चिमलाई सुन्दर बनाएको छ । कतिपय कला संस्कृतिहरु लोप हुने अवस्थामा पुगिसकेका छन् । यस्ता कला र संस्कृतिको संरक्षण र विकासका लागि केन्द्रीय र स्थानीय सरकारको ध्यान जान जरुरी छ ।

सम्भावना

सुन्दर सुदूरपश्चिममा भएका प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउने गर्छ । सुदुर पश्चिममा थुप्रै सम्भावना र समृद्धिका हजारौँ बाटाहरु रहेका छन् । सुदूरपश्चिमका थुप्रै ठाउँहरुलाई पर्यटकीय स्थल बनाई आन्तरिक तथा बाहिरी पर्यटनलाई प्रवर्द्धन गर्न टेवा पुर्याउन सकिन्छ । त्यहाँका युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गर्नका लागि टेवा पुग्नलाई मद्दत पुग्ने देखिन्छ ।

भौगोलिक अवस्थामा जति नै विकट वा पछाडि परे पनि प्राकृतिक सुन्दरता अतुलनीय रहेको पाइन्छ । बडीमालिका क्षेत्र प्राकृतिक रुपमा सुन्दर छैन । यसगँ हजारौ धार्मिक आस्था जोडिएको छ । पर्यटकीयको प्रचुर सम्भावना भए पनि यसको प्रचार–प्रसार हुन सकिरहेको छैन ।

बाजुरा र कालिकोट सिमानामा पर्ने धार्मिक र पर्यटकीय क्षेत्रको संगम स्थल मानिन्छ । बाजुरा सदरमुकामको मार्तडीबाट करिब ३ दिनको पैदलयात्रा पछि पुगिन्छ । चाडपर्वमा भक्तजनहरुको बाक्लो भेट हुने गर्दछ । समुन्द्री सतहबाट ४,२०० मि. को उचाईमा अवस्थित रहेको पाइन्छ । हिउँदमा सेताम्मे हिँउ पर्छ । सधै जसो सिरेटो चलिरहन्छ । यहाँ जनैपूर्णिमा पश्चिमकै ठूलो मेला लाग्ने गर्दछ । हरेक वर्षमा यस ठाउँको अवलोकन गर्न हजारौं पर्यटकहरु देश तथा विदेशबाट समेत आउने गर्दछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै