• २०८१ बैशाख १३ बिहीबार

आइपिएलमा विराट कोहलीको लगातार दोस्रो हार, मुम्बई इण्डियन्स विजयी 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा मुम्बईले दिएको १८८ रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाउदै १८१ रन मात्र बनाएपछि खेल ६ रनले गुमाएको हो ।

बैंगलोरका लागि एबी डिभिलियर्सले सर्वाधिक ७० रन बनाएका थिए भने कप्तान विराट कोहलीले ४६ रन बनाए । त्यस्तै पार्थिव पटेलले ३१ तथा मोइन अलीले १३ रन बनाए ।

मुम्बईका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने मयंक मार्कंडेले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १८७ रन बनाएको हो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाएका थिए । रोहितले ३३ बलमा ४८ रन बनाएर आउट भएका थिए ।

त्यस्तै मुम्बईका लागि सूर्यकुमार यादवले ३८ रन बनाए भने युवराज सिंहले तुफानी १२ बलमा २३ रनको इनिंग खेलेका थिए । त्यस्तै मुम्बईका हार्दिक पाण्डेयले अविजित ३२, केरोन पोलार्ड ५, क्रुनाल पाण्डेय १ रन बनाएका थिए ।

बैंगलोरका बलर युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिएका थिए । चहलले ४ ओभरमा ३८ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै उमेश यादव र मोहमद सिराजले २-२ विकेट लिएका थिए ।

मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ भने रोयल च्यालेन्जर्स बैंगलोरले यस सिजनमा आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।

खेलपछि बैंगलोरका कप्तान विराट कोहलीले एम्पाएरको आलोचना गरेका छन् । कोहलीले एम्पायरको निर्णयगर्ने स्तर आइपिएल प्रतियोगिता अनुसारको नभएको भन्दै कोहलीले आलोचना गरेका हुन् । खेलको अन्तिम बलमा नो बल देखिएको भएपनि एम्पायरले नदिएकोमा कोहलीले आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यस्तै मुम्बईका कप्तान रोहित शर्माले पनि खेल आफ्नो पक्षमा आएको भएपनि एम्पायरको गल्ति भएको बताएका थिए ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै