• २०८१ बैशाख ८ शनिबार

'गोहो'ले सिङ्गो रक्तरञ्जित इतिहासको आलोचना गरेको छ : जिके पोख्रेल

kharibot

पाँचथरका जिके पोख्रेल पछिल्लो समय नेपाली साहित्यमा एक कुशल समीक्षक/समालोचकका रुपमा परिचित छन् । लेखनमा समेत सक्रिय रहँदै आएका उनको तेस्रो कथासंग्रह 'गोहो' यही चैत्र २३ गते सार्वजनिक हुँदै छ । यसअघि उनका 'जून निदाएको रात' (२०६९) र 'स्वाभिमानको चिता'(२०७०) प्रकाशित छन् । हाल काठमाडौंको आरआर क्याम्पसमा नेपाली साहित्य अध्यापन गराइरहेका उनी सम्पादन र अखबारी लेखनमा पनि आबद्ध छन् । प्रस्तुत छ लेखक एवम् समालोचक जिके पोख्रेलसँग उनको प्रकाशोन्मुख कथासंग्रहमा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश:


तपाईंको कथासङ्ग्रह 'गोहो' सार्वजनिक हुँदै छ, शैली र विषयवस्तुका हिसाबले कस्ता कथाहरू संग्रहित छन्?

यो मेरो तेस्रो कथासङ्ग्रह हो । यसअघिका दुई कथासङ्ग्रहले पाठकको मुख पनि देखेनन् । `गोहो´मा नितान्त नयाँ शैलीका कथा छन् भनेर दाबी गर्ने हैसियत त ममा छैन । तर, पछिल्लो समय लेखिँदै आएका `अखबारी´ कथाभन्दा भिन्न र केही लामा छन् । लामो कालखण्ड समेटेको हुनाले पाठकलाई केही फरक लाग्यो भने त्यो मेरो सफलता हो । विषयवस्तुका हिसाबले यी कथामा द्वन्द्व/युद्ध र नारी पुरुष सम्बन्धका सङ्कट समेटिएका छन् ।


किन पढ्ने पाठकले तपाईंको पुस्तक?

यसै कारणले पढ्ने भनेर तथ्यगतरूपमा त कसरी भन्न सकिन्छ र ? मेरो कथा पढेर पाठक `महान्´ हुने र नपढे निकृष्ट हुने नै भन्ने त होइन । तर, 'गोहो'मा मैले देखेको ०५२-०६२ को सामाजिक राजनीतिक सङ्क्रमणका बारेमा लेखेका कथा भएको हुनाले अघिल्लो दशकका सकस बुझ्न सकिन्छ भन्ने लाग्छ । साथै द्वन्द्वका समयमा हुने असामाजिक र अमानवीय पक्षमा बढी केन्द्रित भएको छु । यस कारण पनि `गोहो´ पढ्दा पाठकको अमुल्य समयको सत्यानास भने हुँदैन । झन् आगामी पुस्ताले सुनेको द्वन्द्वकाल आख्यानको रूपमा बुनेको हुनाले केही `खुराक´ पाउन सकिन्छ भन्ने लाग्छ ।

'गोहो'मा मैले देखेको ०५२-०६२ को सामाजिक राजनीतिक सङ्क्रमणका बारेमा लेखेका कथा भएको हुनाले अघिल्लो दशकका सकस बुझ्न सकिन्छ भन्ने लाग्छ ।


१० वर्षे माओवादी संघर्षलाई 'जनयुद्ध' वा 'द्वन्द्व'को संज्ञा दिएर आ-आफ्नै खाले दृष्टिकोणहरू आउने गर्छन् । तपाईंले कसरी चित्रित गर्नुभएको छ त्यसबेलाको राजनीतिक परिदृश्यलाई?

नेपाली राजनीति सधैँ धमिलो पानीमा माछा मार्ने खेलजस्तो भयो । पृथ्वीनारायण शाहकै पालादेखि नेपाली राजनीतिको ईतिहास रक्तरञ्जित छ । शाषकको लागि शासित मारिइँदै आएका छन् । दुरदर्शी नीति लिएर कोही नेता र दल आएको देखिएन । सत्तामा पुगेपछि भुइँमान्छेलाई भुइँको धुलो सम्झिने र आफू `सवारी´ हुने मोहमा फसेको देखियो । नेपाली जनता निराशाको अँध्यारो गुफामा घाइते जुनकिरीको `धिपधिपे´ कुरिरहेका छन् । यस्तो अवस्थामा मायाप्रीति र फेन्टासी लेख्न सकिनँ मैले । आफू र आफ्नाहरूका जुनजुन दु:खले मलाई छोए, तिनै दु:ख देखाउन लेखेँ । मलाई लाग्छ- लेखकले आफ्नै जीवनवरपरका गल्छेँडामा फसेका मान्छेको कथा टिप्नुपर्छ ।

मेरो बुझाइमा सङ्घर्ष, द्वन्द्व, क्रान्ति र युद्ध फरक कुरा हुन् । द्वन्द्व, सङ्घर्ष र क्रान्तिका लागि `हतियार´ उठाइरहनु पर्छ भन्ने लाग्दैन मलाई । यी सबै वैचारिक कुरा हुन् । हतियार उठाउनु, रगत बग्नु र मानवीय क्षति हुनु त `युद्ध´ हो भन्ने मेरो जिकिर हो । मैले द्वन्द्व पनि भनेको छैन । द्वन्द्वमा `चेतना´को चिराग हुनुपर्छ, युद्धमा चेतना नहुन पनि सक्छ । झन् क्रान्ति त परको कुरा भयो । क्रान्ति हुनलाई त सरकार र सत्तामात्र होइन- संरचना र जनसरोकारका विषयमा नै उलटपुलट हुनुपर्छ । यस अर्थमा ५२-६२ को युद्धले `द्वन्द्व´, `क्रान्ति´ र `सङ्घर्ष´को दार्शनिक मूल्य वहन गर्न सक्दैन । युद्धमै स्खलित भयो । अब हिजोको माओवादी युद्धको मुख्य चिरा पनि एमालेपथमा बिलय भइसकेपछि थप स्पष्टीकरणाको जरुरी नरहला । पुरानै राज्यसत्ताको त के कुरा- विप्लव समूहको नेकपाले अख्तियार गरेको नीति पनि प्रचण्डपथको `मिमिक्री´ मात्रै हो । क्रान्तिका लागि रगत बगाउनै पर्ने के यो अठारौँ शताब्दी हो र ? अझ अग्रगामी विचार र शैली आवश्यक छ भन्ने लाग्छ । वास्तवमा यस किताबका कथाले `सिङ्गो रक्तरञ्जित´ इतिहासको आलोचना गरेका छन् ।


वैचारिक धरातलमा आफूलाई कहाँनेर उभ्याउनु हुन्छ ?
तपाईँको प्रश्नको आशयको छोटो जवाफ दिनुपर्दा म आफूलाई `डिप्रेस्ड भौतिकवादी हुँ' भन्छु । यो भौतिकवाद भनेको कार्लमार्क्सले भनेको द्वन्द्वात्मक भौतिकवाद हो । ईश्वरको विरोध गर्ने कार्लमार्क्सको फोटो पुज्ने कर्मकाण्डी `मार्क्सवादी´ होइन । कर्मकाण्डी र अनुदानजीवि मार्क्सवादीले मलाई पुरातन सत्ताको पुजारी पनि मान्न सक्छन् । यस अर्थमा म आजको नेपाली राजनीति नै वैचारिक धरातल गुमाइसकेको देख्छु ।


कस्तो पृष्ठभूमिमा संग्रह तयार भयो

यसको लामो कथा छ । पछिल्लो समय मेरो `चिनारी´ समीक्षक/सम्पादकको रूपमा भयो । कतिपय पाठकलाई `आख्यान´तिर फड्को मारेको भन्ने लाग्न पनि सक्छ । तर, त्यस्तो होइन । मैले अगाडि नै भनेँ- यो मेरो तेस्रो किताब हो । बीचमा गुँड छोडेर बत्तिएको पन्छीजस्तो समीक्षाको डालीमा पनि पुगेँ । सम्पादनलाई व्यवसायिक बनाउन सकिन्छ कि भनेर लागि परेँ । अक्षर~शाला नाममा कालिकास्थानमा अफिस नै खोलेँ । केही महिनापछि केही बजारका समस्या, केही मेरा व्यक्तिगत समस्या तथा स्वास्थ्यस्थितिका कारण त्यसलाई निरन्तरता दिन सकिनँ । अनि यसबीचमा आफ्ना तिनै दश वर्षअघि लेखेर थन्क्याएका कथाहरूको गोडमेल गर्न थालेँ । बिरामी हुनुको फाइदा उठाएँ भन्नुपर्छ- `लेखक´को चोलामा फेरि बजारमा झुल्किएँ ।

कतिपय पाठकलाई `आख्यान´तिर फड्को मारेको भन्ने लाग्न पनि सक्छ । तर, त्यस्तो होइन । मैले अगाडि नै भनेँ- यो मेरो तेस्रो किताब हो । बीचमा गुँड छोडेर बत्तिएको पन्छीजस्तो समीक्षाको डालीमा पनि पुगेँ ।


दश वर्षअघि लेखेका कथा भन्नुभयो । अहिलेको समयमा यी कथा सान्दर्भिक हुन्छन् र ?

साहित्यको सान्दर्भिकता भनेको आजको भोलि सकिने कुरा होइन । अखबारी लेख रचना मात्र `कन्टेम्पाेररी कन्टेन्ट´मा लेखिने हो । अलिकति सामाजिक र राजनीतिक परिवर्तन हुनेबित्तिकै तिनको प्रभावको `वेभ´ शीथिल हुन्छ । तर, समाजका भित्री समस्या केलाइएका रचना दीर्घकालसम्म प्रभाव छोड्ने खालका हुन्छन् । साहित्य `सङ्गिनी तीन महिने सुई´जस्तो होइन, जसको सान्दर्भिकता आजको भोलि सकियोस् ।


तपाईं समीक्षा समालोचनामा सक्रिय रहँदै आउनुभएको मान्छे ! आफैंले आफ्ना कथाहरूको मूल्यांकन गर्दा के भन्नुहुन्छ?

म समीक्षामा सक्रियजस्तो मात्रै हो । म आलोचक नै भने होइन । मैले समीक्षा लेख्न थाल्नुअघि नै दुईवटा कथासङ्ग्रह आइसकेको थिए । फेरि, सिर्जना र आलोचना दुवै `क्रिएटिभ´ काम हुन् । एकै व्यक्तिमा यी दुवै प्रतिभाका रूप हुन सक्छन् । समीक्षकले सिर्जना गर्नै सक्दैन भन्ने त होइन । म समीक्षक पनि भएको हुनाले आफैँलाई र आफ्नै सिर्जनालाई गुणस्तरको कसीमा राख्न सक्षम भने बनायो । म आफैँले आफ्ना कथाहरूका बारेमा भन्नुपर्दा यतिसम्म भन्न सक्छु- नेपाली कथामा `बहस´ सिर्जना गरौँ भनेर विवादास्पद विषयमा हात हाल्ने लेखक कम छन् । कथा बिक्दैन भनेर उपन्यास लेख्ने लेखक चोकचोकमा भेटिन्छन् । किताबको सफलताको मापन बिक्रीलाई मान्न थालियो । जिम्मेवार भएर कथामा समर्पित हुने लेखक नै छैनन् । यस्तो अवस्थामा बजारको आश नगरी कम रुचाइएको विधामा लेख्नु अवश्य नै जाेखिमपूर्ण काम हो । जति जाेखिम हुन्छ, काममा त्यति नै आनन्द हुन्छ ।


लेखक गनेस पौडेल ‘चेखब, टैगोरले छोइसकेको सामाजिक यथार्थवादको सगरमाथा चढेर हामी तेन्जिङ नोर्गे बन्न सम्भव होला ?’ भनेर प्रश्न गर्छन् । तपाईंले भने 'फेन्टासी लेख्न सकिनँ' भन्ने टिप्पणी गर्नु भयो तपाईंको संग्रह प्रयोग र नवीनताको हिसाबले नयाँ टेस्ट खोज्ने नेपाली पाठकहरूको मनमा बस्ला?
चेखव र टैगोर छुँदैमा यथार्थवादको भकारी भरियो भन्ने मलाई लाग्दैन । रसियन समाजको यथार्थ र नेपाली समाजको यथार्थ फरक कुरा हुन् । भारतीय जीवनसँग केही हदसम्म मेल खाए पनि नेपाल भन्नू भारतको एक चौटा होइन । हाम्रा आफ्नै सामाजिक साँस्कृतिक मूल्य र आदर्श छन् । तिनलाई नजरअन्दाज गरेर चन्द्रमामा घडेरी किन्नुको कुनै तुक छैन । चेखवले हाम्रो गाउँको कोदोको स्वाद थाहा पाएका छैनन् । फेरि हामीले साहित्यको तेन्जिङ हुन लेख्ने पनि होइन । आफूले बुझेको समाज लेख्ने हो । गनेशजीहरू फेन्टासी र इन्टरटेन्मेन्ट लेख्नुहुन्छ, हामी रियालिटी र सोसाइटी लेख्छौं । प्रयोग भन्ने कुरा हावामा महल बनाउँदैमा प्रयोग हुने अनि यथार्थ लेख्दैमा चेखव र टैगोरले छाडेको बासी दर्शन हुने भन्ने होइन । सबैको आ-आफ्नो जीवनपद्धति र लेखनको धार हुन्छ । जसरी जति नै माथि उडेर गएको जहाज जमिनमै अवतरण गर्नुपर्छ त्यसरी नै कल्पनाको जतिसुकै उच्च विन्दुमा पुगे पनि यथार्थको धरातलमा ओर्लिनैपर्छ । अहिलेको नेपाली साहित्यको समय समाजबाट अलग्गिने अवस्थामा पुगिसकेको छैन ।

जसरी जति नै माथि उडेर गएको जहाज जमिनमै अवतरण गर्नुपर्छ त्यसरी नै कल्पनाको जतिसुकै उच्च विन्दुमा पुगे पनि यथार्थको धरातलमा ओर्लिनैपर्छ । अहिलेको नेपाली साहित्यको समय समाजबाट अलग्गिने अवस्थामा पुगिसकेको छैन ।


साहित्यतर्फ कसरी मोह पलायो तपाईंको? विगतलाई फर्केर हेर्दा कस्तो लाग्छ?

बाल्यकालदेखिकै हो । म कक्षा ९ मा पढ्दैखेरी कविता लेखेको थिएँ । पछि मधेस झरेपछि सिनेमा हेर्न थालियो । सिनेमा हेर्न थालेपछि गीततिर मन सल्कियो । ५२-६२ को बीचमा २०० हाराहारी गीत लेखेँ हुँला । गीतका दुईवटा डायरी अहिले पनि छन् । फाट्टफुट् गीत अहिले पनि लेखिरहेको छु । कथा भने ०६४ सालपछि लेख्न थालेको हुँ । सिक्ने सिलसिलामा नै दुई दशक बितेछ । खुसी नै लाग्छ- म टुप्पाबाट कलमी गरेको लेखक होइन । जराले भुइँ छोडेको छैन- सपनाले आकाश ताक्न छोडेको छैन ।


तपाईंको नजरमा समकालीन नेपाली साहित्यमा आइरहेका आख्यानहरू कतिको चित्त बुझ्दो छन्? कसरी मूल्यांकन गर्नुभएको छ?

सायद यो तपाईँको सबैलाई जाक्ने गौँडो हुनुपर्छ । तर म कलेजको टिचर भएर धेरै वर्ष पढाएको मान्छे । हरेक पाठलाई उत्तिकै महत्वका साथ पढाउन सिकेको छु । छयालीस सालको राजनीतिक परिवर्तनपछि जब लेखक `दलीय´ ट्याग लगाएर हिँड्न थाले तब साहित्यको गुणस्तर ओरालो लाग्न थाल्यो । पछिल्लो समयमा क्वान्टिटी बढे पनि `क्वालिट´मा सन्तोष गर्ने अवस्था छैन । सबै आख्यानकारलाई रातारात सेलिब्रेटी बन्ने हतारो छ । आजको भोलि भाइरल हुने चटारो छ । केहीलाई छोडेर चित्त बुझाउन सकिने अवस्था छैन । हामी `चटपटे´ लेखनमा रमाइरहेका छौं ।


तपाईं नेपाली साहित्यको अध्यापक पनि हुनुहुन्छ । युवापुस्तामा पठन सस्कृति कस्तो पाउनुहुन्छ?

पढ्ने संस्कार नै बसेको छैन । किताब किनेर घरमा पुस्तकालय छ भन्ने देखाउन उद्दत आजको पुस्ता । केही मात्रामा बढेको पठन संस्कृति अब चाँडै आेह्रालो लाग्नेवाला छ । स्कुल तहमा नै अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि अबका केही दशकमै नेपाली भाषा र साहित्यिकतामा चाख र दख्खल हुने मान्छे पाउन पनि मुस्किल हुने अवस्था आउने छ । अहिले हामीले देखेको पठनसंस्कृतिको विकास विनास हुने निश्चित छ ।


एउटा लेखकका लागि अरु लेखकका साहित्य पढ्नु कति आवश्यक हुन्छ? तपाईंलाई मन परेका १० लेखक र पुस्तकहरू?

लेखकले पढ्नुपर्छ । अरू लेखकका र अरू भाषाका किताब नै नपढ्ने लेखकले आफूलाई परिस्कार गर्न सक्दैन । अरूको भन्दा फरक लेख्न पनि त कस्तो लेखिइरहेको छ भन्ने बुझ्नुपर्छ नि । मलाई मन परेका दश नेपाली आख्यानका पुस्तकमा नारायण ढकालको 'प्रेतकल्प', नयनराज पाण्डेको 'उलार', ध्रुवचन्द्र गौतमको 'अलिखित', विश्वेश्वरप्रसाद कोइरालाको 'नरेन्द्र दाइ', गोविन्दबहादुर मल्ल गोठालेको 'पल्लो घरको झ्याल', ईन्द्रबहादुर राईको 'विपना कतिपय', मनु ब्राजाकीको 'पारदर्शी मान्छे', माया ठकुरीको 'चौतारो साक्षी छ', धच गोतामेको 'घामका पाइला' र रमेश विकलको 'नयाँसडकको गीत' हुन् ।


प्रकाशोन्मुख संग्रहबाट के-कस्ता अपेक्षा गर्नुभएको छ? आगामी दिनलाई लिएर के-कस्ता योजनाहरू रहेका छन् तपाईंका?

आजसम्म समीक्षा र सम्पादनबाट मेरो चिनारी मात्रै बनेको थियो । परिचय बनेको थिएन । `तैँले नेपाली साहित्यलाई के दिइस्?´ भनेर कसैले सोध्दा अरूको ढाडमा चढेर `फलानो फलानोका किताब सम्पादन गरेँ´ भन्नुपर्ने अवस्था थियो । अब `गोहो´को लेखक हुँ भन्दा नेपाली साहित्यका पाठकले चिन्न सक्ने अवस्थामा पुर्याउँछ । अलिअलि व्यवसायिकता पनि दिलाउँछ भन्ने अपेक्षा छ ।


अन्त्यमा, नेपाली साहित्यका पाठकहरूलाई के भन्न चाहनुहुन्छ?

पढ्ने त सबैले आफ्नो रुचिअनुसार नै हो । तर, पढ्ने बेलामा आफूलाई काम लाग्ने र केही मात्रामा जीवनोपयोगी हुने खालका किताब पढ्नोस् भन्न चाहन्छु ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै