• २०८१ बैशाख ७ शुक्रबार

आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगद्वारा वैज्ञानिकहरूले पत्ता लगाए दुई नयाँ ग्रहहरू

kharibot

काठमाडौं । वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगद्वारा केप्लर टेलिस्कोपका तथ्यांकहरूमा दुई नयाँ ग्रहहरूका बारेमा सूचना रहेको पत्ता लगाएका छन् । यसअघि पारम्परिक विधिबाट पत्ता नलागेका नयाँ ग्रहहरूबारेको सूचना आर्टिफिसियल इन्टेलिजेन्सको सहायतामा भने सफलतापूर्वक खोजी गरिएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्सासका वैज्ञानिकहरूले अन्तरिक्षमा ग्रहहरूको खोजी गर्न प्रयोग गर्ने पारम्परिक विधिमा छुटेका तथ्यांकहरू पत्ता लगाउन नयाँ अल्गोरिदमको निर्माण गरेका थिए । यस नयाँ विधिले अझै थप ग्रहहरू पत्ता लाग्दै जाने वैज्ञानिकहरूले विश्वास गरेका छन् ।

त्यसैले वैज्ञानिकहरूका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर पुराना तथ्यांकहरूको अध्ययन/अनुसान्धान गर्ने विधिको भविष्य निकै आशलाग्दो रहेको छ । अब वैज्ञानिकहरूले यस नयाँ अल्गोरिदमको प्रयोग केप्लरको मिसन के २ को पुरै तथ्यांकको अध्ययन गर्न उपयोग गरिने जनाएका छन् । के २ सँग झन्डै ३ लाख ताराहरूबारे तथ्यांक रहेको जनाइएको छ । यी तथ्यांकभित्र हजारौँ नयाँ ग्रहबारे सूचना रहेको अनुमान गरिएको छ ।

वैज्ञानिकको एक टोलीले नयाँ अल्गोरिदमको मद्धतले केप्लरका तथ्यांकहरूको अध्ययन गरेपछि टेलिस्कोपद्वारा ती नयाँ ग्रहले चक्कर लगाउने ताराको पनि अध्ययन गरेको थियो । ताराको अध्ययन गरेपछि वैज्ञानिकहरूले नयाँ ग्रहको अस्तित्वबारे पुष्टि भएको निष्कर्ष निकाल्न पुगेका थिए । ती नयाँ ग्रहलाई वैज्ञानिकले के२-२९३बी र के२-२९४बी नाम दिएका छन् ।

के२-२९३बी ले झन्डै १३०० प्रकाशवर्ष टाढा रहेको ताराको चक्कर लगाउँछ भने के२-२९४बी ले झन्डै १२३० प्रकाशवर्ष टाढा रहेको ताराको चक्कर लगाउने गर्दछ । यी दुवै ताराहरू एक्वारियस नक्षत्रमा रहेका छन् ।

वैज्ञानिकहरूका अनुसार यी ग्रहले निकै नजिकबाट आफ्नो ताराको चक्कर लगाउने गर्दछन् र यीनले ताराको एक चक्कर लगाउने समय पनि कमै रहेको छ ।

के२-२९३बी र के२-२९४बी दुवै ग्रह पृथ्वी भन्दा थोरै मात्र ठूलो भएको जनाइएको छ । यी ग्रहहरूको खगोलीय अवस्था केप्लरले पत्ता लगाएको अन्य ग्रहहरूसँग धेरै समान रहेको वैज्ञानिकहरूले बताएका छन् ।

नासाले २००९ मार्च ७ मा केप्लर स्पेस टेलिस्कोपलाई अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । नासाको प्रमुख लक्ष्य केप्लरद्वारा सौर्यमण्डल बाहिर रहेका ग्रहहरू र अन्तरिक्षमा अन्य उपयुक्त वासस्थानहरूको खोजी गर्नु रहेको थियो ।

केप्लरमा रहेको फोटोमिटरले एक स्थानबाट लगातार रुपमा झन्डै १ लाख ५० हजार ताराहरूको प्रकाशको अवलोकन गरेर उक्त तथ्यांक पृथ्वीमा पठाउने गर्दथ्यो । २०१८ अक्टोबरसम्म सक्रिय रहेको केप्लरले ९ वर्षमा करिब ५ लाख ३० हजार ताराहरूको अवलोकन गर्दै २६ सय भन्दा बढी नयाँ ग्रहहरू पत्ता लगाएको थियो ।

२०१३ मा केप्लरमा केही प्राविधिक समस्या आएपछि नासाले केप्लर मिसनअन्तर्गतको के २ मिसन लन्च गरेको थियो । सुरुमा नासाले केप्लरको पूरा मिसनको समयावधि झन्डै साढे ३ वर्षको हुने जनाएको भए पनि केप्लर नासाले अनुमान गरे भन्दा ६ वर्ष बढी सक्रिय रहन सफल भएको थियो ।

केप्लर स्पेस टेलिस्कोप नासाको डिस्कभरी प्रोग्राम अन्तर्गत रहेको थियो । सन् १९९२ देखि सुरु गरिएको नासाको डिस्कभरी प्रोग्राम नासाका कम खर्चिला मिसनहरूलाई लक्षित गरेर थालिएको हो ।

केप्लरपछि अहिले नासाको ट्रान्जिटरी एक्सोप्लानेट सर्भे स्याटेलाईट अर्थात टेसले अन्तरिक्षमा सम्भावीत ग्रहहरूको खोजी गरिरहेको छ । टेसलाई नासाले केप्लर मिसन आधिकारिक रुपमा अन्त्य भएको घोषणा गर्नु करीब ६ महिना अघि २०१८ अप्रिलमा लन्च गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै