• २०८१ बैशाख ८ शनिबार

माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई रिहा गर्न अदालतको आदेश

kharibot

माले । अनुसन्धानका लागि थुनामा राखिनु भएका माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई रिहा गर्न अदालतले आदेश दिएको छ । 

देशको उच्च अदालतले उनीसँग अनुसन्धान गर्न बाँकी अब केही नरहेको भन्दै रिहा गर्न आदेश दिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । 

अपराध अदालतको आदेशपछि उहाँलाई गत महिना नियन्त्रणमा लिइएको थियो । यो बीचमा अदालतले उनीसँग सम्पत्ति शुद्धिकरणसम्वन्धी अभियोगबारेमा अनुसन्धान गरेको थियो । 
उनका वकीलहरूले यमिनलाई थुनामा राखिरहनु आवश्यक नभएकाले थुनामुक्त गर्न अदालत समक्ष आग्रह गरेका थिए । 

विरामी भएकाले उनलाई यसअघि कारागारमा नराखी घरमै नजरबन्द गरिएको थियो । उनीविरूद्ध लामो समयदेखि भ्रष्टाचारसम्वन्धी अभियोगमा अनुसन्धान भइरहेको छ ।  पूर्वराष्ट्रपति यमिनले भने आफुमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका छन् । 

माल्दिभ्समा निकै प्रभावशाली नेता मानिने यमिन सन् २०१३ देखि शक्तिमा आएका थिए । त्यसपछि उनले आफ्ना विपक्षीहरुलाई अनेक अभियोग लगाउँदै कारागार पठाउन लगाएका थिए । 

आफ्नो कार्यकालमा चीनसँग राम्रो सम्बन्ध बनाएका यमिनविरुद्ध अरु अभियोगहरू पनि लगाइएको छ । चोरी, घुस र आर्थिक अपचलनसम्बन्धी ठूलो अभियोग लगाउँदै उहाँका विरुद्धमा प्रहरीले महान्याधिवक्ताको कार्यालयमार्फत मुद्दा दर्ता गरेको थियो । 

नयाँ राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको सरकारले केही हप्ता पहिलो एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यमिनको कार्यकालमा भएका अनियमितता वा राज्य शक्तिको दुरुपयोगसम्बन्धी कुनै विवरण वा प्रमाणहरू भएमा उपलब्ध गराउन आह्वान गरेको थियो । 

आह्वानअनुसार प्राप्त अनियमिततासम्बन्धी केही विवरणहरू राष्ट्रपतिको कार्यालयले गत जनवरीको सुरुवातमै सार्वजनिक गरेको थियो । गत सेप्टेम्बर २३ मा भएको निर्वाचनबाट सोलिह राष्ट्रपतिमा निर्वाचित भएपछि यमिनविरुद्धको कारबाही सुरु भएको हो । 

सानो एशियाली मुलुक माल्दिभ्समा पछिल्लो समय प्रतिशोधको राजनीति हावी भएको देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै