• २०८१ बैशाख १२ बुधबार

नासाको मार्स हेलिकप्टरले आफ्ना सबै उडान परिक्षणहरू सफलतापूर्वक सम्पन्न गर्यो

kharibot

तस्बिर : नासा

काठमाडौं । निकै पातलो वायुमण्डल र कम गुरुत्वाकर्षणमा उड्नका लागि बनाइएको नासाको मार्स हेलिकप्टरले आफ्ना सबै उडान परिक्षणहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।

नासाका अनुसार मार्स हेलिकप्टर सन् २०२० मा मङ्गल ग्रहका लागि प्रक्षेपण गरिनेछ । मार्स हेलिकप्टर स्काउट एमएचएस नाम दिइएको उक्त हेलिकप्टरलाई नासाको जेट प्रपल्सन ल्याब्रटरीले निर्माण गरेको हो ।

नासाको मार्स एक्स्प्लोरेसन प्रोग्राम अन्तर्गतको मार्स २०२० रोभरमा राखेर उक्त हेलिकप्टरलाई मङ्गल ग्रहका लागि प्रक्षेपण गरिनेछ । मार्स हेलिकप्टर २०२१ फेब्रुअरीमा मङ्गल ग्रहको सतहमा अवतरण हुने नासाले जनाएको छ ।

मङ्गल ग्रहको वातावरण र तापक्रम पृथ्वीको भन्दा निकै फरक भएकाले हेलिकप्टरलाई मङ्गल ग्रहको वातावरणका लागि तयार गर्नका लागि विभिन्न कठोर परिक्षण गराइएको थियो । हेलिकप्टरलाई एउटा विशाल सिलिन्डरमा भ्याकुमको स्थिति बनाएर परिक्षण गरिएको थियो, जहाँबाट अक्सिजन, नाइट्रोजन र अन्य ग्याँसहरू बाहिर निकालिएको थियो र त्यहाँ मङ्गल ग्रहमा धेरै मात्रामा उपलब्ध हुने कारबनडाइ अक्साइड मात्र राखिएको थियो ।

त्यसैगरी मङ्गल ग्रहको जस्तो कम गुरुत्वाकर्षणका लागि ‘ग्राभिटी अफलोड सिस्टम’द्वारा पृथ्वीको भन्दा झन्डै दुई तिहाइ कम गुरुत्वाकर्षणको स्थिति निर्माण गरिएको थियो । उक्त हेलिकप्टरले मङ्गल ग्रहमा हुने अत्यन्त चिसो मौसममा काम गर्नुपर्ने हुनाले हेलिकप्टरलाई निकै कठोर परिक्षणहरूमा समावेश गरिएको हो ।

निकै कम तापक्रम हुने मङ्गल ग्रहमा रातिको समयमा तापक्रम माइनस ९० डिग्री सेल्सियससम्म झर्ने गर्दछ । त्यसैगरी मङ्गल ग्रहको वायुमण्डल पृथ्वीको तीस हजार उचाईमा हुने पातलो वायुमण्डल जस्तै रहने गर्दछ ।

मार्स हेलिकप्टरको परिक्षणका लागि भनेर करीब २ करोड ३० लाख डलर बजेट छुट्टाइएको थियो । मङ्गल ग्रहमा झन्डै एक महिनाको समयमा ५ वटासम्म उडान भर्ने अपेक्षा गरिएको सो हेलिकप्टर १.८ केजी गह्रौं र ३१ इन्च अग्लो रहेको छ । यस हेलिकप्टरले प्रतिदिन ९० सेकेन्डसम्मको उडान भर्नेछ । त्यसैगरी यस हेलिकप्टरसँग ४०० मिटरको दूरीसम्म र ६०० मिटरको उचाइसम्म उडान भर्ने क्षमता रहेको छ ।

 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै