• २०८१ बैशाख ८ शनिबार

विमान चार्टर गरेर गर्भवतीको उद्धार

kharibot

बाजुरा । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महीनाकी गर्भवती सेतु ल्वारको विमाल चार्टर गरेर उद्धार गरिएको छ । जिल्लामा उपचार सम्भव नभएपछि सीता एयरलाइन्सको विमान चार्टर गरेर कोहलपुर मेडिकल कलेज पठाइएको हो । 

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा विमानको प्रबन्ध मिलाएर उद्धार गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए । ल्वारलाई कोल्टी विमानस्थलबाट नेपालगञ्ज विमानस्थल हुँदै कोहलपुर मेडिकल कलेज पुर्याइएको हो । 

विशेषज्ञहरुसँगको परामर्शपछि सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले विमान चार्टर गरेर उद्धार गर्न अनुरोध गरेका हुन् । ल्वारको उच्च रक्तचाप, फोक्सोमा पानी जमेको र गर्भवती अवस्थामा हुने जटिल अवस्था देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो । चार वटा छोरी जन्माइसकेकी ४० वर्षीया ल्वार पाँचौँ सन्तानका लागि गर्भवती थिइन् । कमजोर आर्थिक अवस्थाकै कारण समयमै उपचार गर्न नसकेको सेतुका श्रीमान् तुले ल्वारले बताउनुभयो । कोल्टीमा यतिबेला विशेषज्ञ शिविर चलिरहेको छ । 

जिल्लामा उपचार सम्भव नहुने सुझावपछि प्रदेश निर्वाचन क्षेत्र क बाजुराका प्रदेशसभा सदस्य बल्देव रेग्मी, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको पहल र सामाजिक विकासमन्त्रीको निर्देशनमा उद्धार सम्भव भएको हो । सामाजिक विकास मन्त्रालयले दुर्गम हिमाली र पहाडी जिल्लाका गर्भवती एवं विपद्मा परेका जटिल प्रकृतिका बिरामीलाई हेलिकप्टर र विमानबाट उद्धारका लागि एक करोड बजेट नै विनियोजन गरेको छ । 

तत्काल उपचार नगरिए ज्यान नै जोखिममा पर्ने र तुरुन्तै सघन उपचार कक्ष (आइसियु) मा राख्नुपर्ने अवस्था आएको खबरपछि सामाजिकमन्त्री कृष्णप्रसाद सुवेदीले आकस्मिक रुपमा विमान चार्टरका लागि निर्देशन दिनुभएको सुदूरपश्चिम प्रदेश मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुँवरले जानकारी दिए । हेलिकप्टर तत्काल उपलब्ध नभएपछि विमान नै व्यवस्था गरिएको कुँवरको भनाइ थियो । 

विमान चार्टरका लागि दुई लाखभन्दा बढी रकम मन्त्रालयले खर्च गर्नेछ । यसअघि पनि दुई बाजुरा र एउटा बझाङबाट बिरामीको हेलिकप्टर र विमानमार्फत उद्धार गरिसकिएको बताएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै पहाडी दुर्गम जिल्लाबाट यसै वर्षमा मात्रै चार जनालाई उद्धार गरिसकेको जानकारी दिएको छ । 

आफन्तले बिरामीलाई आइतबार बिहान मात्र बोकेर बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए । नियमित गर्भजाँच नगरेको, शरीरलाई आवश्यक खाना नखाएको र स्वास्थ्यमा ख्याल नगरेको स्वास्थ्यकर्मीले बताएका छन् । विमानबाट उद्धार गरिएपछि आफन्त निकै खुशी भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै