• २०८१ बैशाख ७ शुक्रबार

५४ करोड फेसबुक प्रयोगकर्ताका विवरणहरू अमेजनको सर्भरमा राखिएको खुलासा

kharibot

काठमाडौं । झन्डै ५४ करोड फेसबुक प्रयोगकर्ताका विवरणहरू अमेजनको पब्लिक सर्भरमा खुला रुपमा राखिएको खुलासा भएको छ ।

साइबर सुरक्षासम्बन्धि काम गर्ने सँस्था अपगार्ड साइबर रिस्कले जनाएअनुसार ५४ करोड फेसबुक प्रयोगकर्ताको नाम, फेसबुक आइडी, लाईक र कमेन्टहरू अमेजन क्लाउडको सर्भरमा जो कोहीले पहुँच पाउने हिसाबमा राखिएका थिए । करीब १४६ जीबी उक्त डाटा मेक्सिकोस्थित मिडिया कम्पनी कल्चारा कलेक्टिभाको भएको जनाइएको छ । फेसबुकको नियमले प्रयोगकर्ताको सूचना कुनै पनि सार्वजनिक डाटाबेसमा भण्डारण गर्न निषेध गरेको छ । त्यसैगरी फेसबुकसँग सम्बन्धित अर्को एप ‘याट द पुल’का झन्डै २२००० प्रयोगकर्ताका फेसबुक आइडी, इमेल, पासवर्ड जस्ता व्यक्तिगत विवरणहरू पनि अमेजनको सर्भरमा खुला रुपमा राखिएको जनाइएको छ ।

उक्त एपसँग सम्बन्धित पासवर्ड भने फेसबुकको पासवर्ड नभएर सोही एपका लागि प्रयोगकर्ताहरूले बनाएको पासवर्ड भएको जनाइएको छ । तर सो डाटा फेसबुक प्रयोगकर्ताका अन्य व्यक्तिगत विवरणहरू जस्तै इन्टरेस्ट, रिलेसनशिप स्टाटसहरू भने समावेश थिए ।

अमेजनको सर्भरमा राखिएका प्रयोगकर्ताका विवरण कति समयसम्म खुला रुपमा राखिएका थिए र ती विवरणलाई कसले प्रयोग गरे भन्नेबारे अहिले केही खुलाईएको छैन । फेसबुकले भने यसबारे जानकारी प्राप्त गरेपछि अमेजनसँग सहकार्य गरेर ती विवरण हटाएको जनाएको छ ।

फेसबुक विगत केही समयदेखि नै प्रयोगकर्ताका व्यक्तिगत विवरणको गोपनियताको उल्लङ्घन गरेको विषयलाई लिएर पटक-पटक अमेरिकी सरकारी निकायको अनुसन्धानमा पर्ने गरेको छ ।

अमेरिकाका जस्टिस डिपार्टमेन्ट, फेडेरल ट्रेड कमिसन, सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन, फेडेरल ब्युरो अफ इन्भेसटिगेसन (एफबिआई) लगायतले फेसबुकमाथि २०१८ देखि निरन्तर अनुसन्धान गरिरहेको जनाइएको छ । फेडेरल ट्रेड कमिसनले त २०११ मै फेसबुकसँग प्रयोगकर्ताको विवरणको सुरक्षा र गोपनियताको विषयमा एक सम्झौता गरेको थियो । अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएअनुसार फेसबुकले सो सम्झौताको पटक-पटक उल्लङ्घन गरेकाले कमिसनले फेसबुकमाथि झन्डै एक अर्ब डलरको जरिवाना लगाउन सक्ने बताएका छन् ।

यसअघि पनि मार्च महिनामा फेसबुकले आफ्ना ६० करोड भन्दा बढी प्रयोगकर्ताहरूको पासवर्ड खुला रुपमा आफ्नो सर्भरमा राखेको खुलासा भएको थियो ।

साइबर अपराध र सुरक्षा सम्बन्धि खोज पत्रकारिता गर्ने अमेरिकी पत्रकार ब्रायन क्रेब्सले आफ्नो ब्लग क्रेब्स अन सेक्युरिटीमा जनाएअनुसार प्रयोगकर्ताहरूका पासवर्डमाथि झन्डै २० हजार फेसबुकका कर्मचारीहरूको पहुँच रहेको थियो । ती पासवर्डहरू फेसबुकको सर्भरमा सन् २०१२ देखि नै टेक्स्ट फर्म्याटमा भण्डारण गरेर राखिएको थियो । तर फेसबुकले भने प्रयोगकर्ताहरूको पासवर्डको कुनै दुरुपयोग नभएको र ती पासवर्डमा फेसबुकका कर्मचारीबाहेक अरु कसैको पहुँच नरहेको दाबी गरेको थियो । त्यसैगरी फेसबुकले ती पासवर्डहरू नियमित सुरक्षा जाँचका क्रममा आफ्नो आन्तरिक डाटा भण्डारण प्रणालीमा ‘रिडेबल फर्म्याट’ मा राखिएको जनाएको थियो ।

यसका साथै २०१८ मा फेसबुकले क्याम्ब्रिज एनालीटिका नामको एक वेलायती सस्थालाई ८ करोड भन्दा बढी प्रयोगकर्ताको विवरण बेचेको खुलासा भएको थियो । जुन विवरण उक्त संस्थाले राजनैतिक उद्यश्यका लागि प्रयोग गरेको थियो । ‘द न्युयोर्क टाइम्स’, ‘द गार्जियन’ जस्ता पत्रिकाले गरेको अनुसन्धानले क्याम्ब्रिज एनालीटिकाले प्रयोगकर्ताका विवरणहरू डोनाल्ड ट्रम्पको चुनावी अभियान, ब्रेक्जीटका लागि भएको मतदान र मेक्सिकोको आम निर्वाचनमा प्रयोग गरेको थियो ।

फेसबुकका मालिक मार्क जुकरबर्ग क्याम्ब्रिज एनालीटिकाको विषयलाई लिएर अमेरिकी काँग्रेसमा २०१८ अप्रिलमा बयानका लागि उपस्थित पनि भएका थिए । तर पनि यो विषय कुनै टुंगोमा पुग्न सकेको थिएन र अमेरिकी संचारमाध्यमहरूले अमेरिकी सांसदहरूलाई फेसबुकले आफ्नो व्यापार कसरी गर्छ भन्ने कुराकै ज्ञान नभएको टिप्पणी गरेका थिए । तर पनि यस विषयलाई लिएर अमेरिकी अधिकारिहरू अहिले पनि अनुसन्धान गरिरहेको र क्याम्ब्रिज एनालीटिकाका एक कर्मचारीसँग यही वर्षको फेब्रुअरीमा वयान लिइएको जनाइएको छ । 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै