• २०८१ बैशाख ७ शुक्रबार

सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्छ : नेता नेपाल

kharibot

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जनइच्छाबमोजिम काम गर्नुपर्ने बताए ।

उनले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । “वर्तमान अवस्थामा नेपालमा प्रतिपक्ष कमजोर छ”, नेता नेपालले भने, “एक हिसाबले मैदान खाली जस्तै छ तर यसो भनेर विचलित हुने अवस्था छैन ।” सरकारको नेतृत्व गरेर जनताको पक्षमा लोकप्रिय काम गर्न नसके जनताले सजाय दिने उनले बताए ।

विश्वमा कम्युनिष्ट पार्टीहरु अलोकप्रिय भइरहेका बेला नेपालमा भने कम्युनिष्टहरुको कामका कारण लोकप्रियता बढ्दै गएको उनको भनाइ छ । उनले पार्टीमा जागृतप्रसाद जस्ता नेताहरुको जगका कारण लोकप्रियता बढेको बताए । “भेटवाल सरल नेता हुनुहुन्थ्यो”, उनले भने, “उनको व्यवहार, आचरण र त्याग हाम्रा लागि उदाहरण हुन् ।” भेटवालबाट शिक्षा लिन सबै जनप्रतिनिधिलाई नेता नेपालको सुझाव छ ।

यस्तै स्मृति सभामा नेकपाका सचिवालय सदस्य बामदेव गौतमले एक वर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको गुनासो गरे । “एक वर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन”, उनले भने, “म पार्टीभित्र बेरोजगार भएको छु ।” भेटवालले देखेका सपना र अधुरा काम सम्पन्न गर्न सके उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने नेता गौतमको भनाइ छ ।

यस्तै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनमा कम्युनिष्ट पार्टी निर्माणमा भेटवालको योगदान महत्वपूर्ण रहेको बताए । भेटवालको उदारता र आत्मबल प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनले व्यक्ति र पार्टीभन्दा पनि जनताप्रति उत्तरदायी हुने नेता भएको बताए ।

सो स्मृति सभामा स्व नेता भेटवालकी छोरी सृजना भेटवालले बुबाले आफ्नो राजनीतिक जीवन सधैँ जनताका लागि समर्पित गरेको बताए । उनका अधुरा सपना पूरा गर्न पार्टी र सरकारबाट जनताप्रति समर्पित भएका काम गर्न अनुरोध गरे ।

नेता भेटवालको २०७४ चैत २१ गते काठमाडौँको वीर अस्पतालमा क्यान्सरको उपचारका क्रममा निधन भएको थियो । स्मृति सभामा नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, काशिनाथ अधिकारी, केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ, कृष्ण खनाल, देवी ज्ञवाली, केदार न्यौपाने, सांसद कृष्णभक्त पोखरेल, प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा सदस्य विजय सुवेदी, कञ्चन खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेकपाका नेता यमबहादुर परियारको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै