• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेस जिल्ला सभापतिहरुद्वारा केन्द्रीय समितिको निर्णयमा पुनःविचारको माग 

kharibot

काठमाडौँ । नेपाली काँग्रेस जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय महासमिति बैठकको भावनाविपरीत रहेको भन्दै त्यसमा पुनःविचार गर्न माग गरेका छन् । 

काठमाडौँमा आज सम्पन्न जिल्ला सभापतिहरुको दुई दिने अनौपचारिक भेलाले सबै पदाधिकारी र केन्द्रीय सदस्य पार्टीको वडा तहबाटै निर्वाचित हुनुपर्ने आग्रह गरेका छन् । साथै पार्टीको समानुपातिक आरक्षण सुविधा एक व्यक्तिका लागि एकपटक मात्र लागू हुनुपर्ने व्यवस्था गर्न भेलाले माग गरेको छ ।

काँग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा उक्त दुवै विषयबारेमा प्रमुखतका साथ कुरा उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी विधान पारित गरेको थियो । 

महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले गरेको प्रतिबद्धताअनुसार केन्द्रीय समितिबाट निर्णय गराउन नसकेको जिल्ला सभापतिहरुको आरोप छ ।

उक्त विषयमा नेतृत्वलाई दबाब दिन महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरी पुनःविचार गर्न आग्रह गर्ने निर्णय भएको काभ्रेपलाञ्चोकका जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।

बैठकका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले  अन्यथा विशेष महाविधेशनको मागसमेत गर्न बाध्य हुने चेतावनी दिए । 

बैठकले बारा पर्सामा हावाहुरीबाट भएको धनजनको क्षतिप्रति त्यहाँका जनताको पीडामा साथै रहेको उल्लेख गर्दै सबै जिल्लाको तर्फबाट यथाशीघ्र राहत लिइ प्रकोपस्थलमै उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै संविधानअनुसार बन्ने पार्टीका नयाँ संरचनामा यथाशीघ्र निर्वाचनमार्फत पार्टीका एकाइ गठन गर्ने व्यवस्था गरियोस् भनेर केन्द्रलाई आग्रह गर्ने निर्णयसमेत भएको सभापति आचार्यले बताए । 

त्यस्तै पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको अविलम्ब महाधिवेशन सम्पन्न गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको छ । बैठकले सरकारका गलत कार्यविरुद्ध र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान अविलम्ब सञ्चालन गर्नका लागि केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

जिल्ला सभापतिहरुले पार्टीको चौधौं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने कार्यतालिका अविलम्ब सार्वजनिक गर्न नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

भेलामा ५४ जिल्ला सभापतिहरुको उपस्थिति रहेको दाबी गरिए पनि संस्थापन पक्षका सभापतिले भने आफूहरुको उपस्थिति नरहेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै