• २०८१ बैशाख ८ शनिबार

'तँ डाक्टर भएर सेता कपडा लगाउने भइस्, म विधवा भएर' (कथा)

kharibot

बिहानै बासिसकेछ भाले । सायद हिजो अलि बढी नै खेलिएछ भलिबल । डाँडामाथी पुगेर घामले अब त उठ् भन्ने भावमा किरण मेरो बिछ्यौनातर्फ फालिरहेको थियो । घडीका सुइले पनि कुर्दै थिए होला मेरा आँखाले निद्रालाई विदाई गर्ने समय ।

ओहो ! आज त शुक्रबार, अलि छिट्टै स्कुल जानुछ । च्याँखुरीले गीत गाउँछु लाईनमा भन्दै थिई । स्कुलको कमिज , मैलो पाइन्ट र अस्ति बाबाले झुम्रोले ठीक बनाइदिएको चप्पल लगाएर हतारहतार पाइलालाई अघि बढाएँ ।

आज पुराना पाइलाका डोबहरू अचम्म मान्दै थिए होला । कहिल्यै लाईनमा नजाने म ९:५० मै विद्यालयको गेटमा पुगेको देखेर । हतार मलाई हैन मेरा कानलाई थियो उसको गीत सुन्न , हतार मेरा नयनलाई थियो उसलाई सबैले ताली पिटेर वाहवाह भनेको हेर्न । थियो हतार मेरो मुखलाई, 'ओए च्याखुरी क्या छ यार तेरो स्वर' भन्न ।

कक्षामा झोला फालेँ र सिधै लाईनमा गएँ । उसलाई अगाडि बोलाउँदा कोही ताली पिट्दै थिए त कोही सिट्ठी फुक्दै अझ भनौँ बेजोड माहोल बनेको थियो त्यहाँ । अघिसम्म हल्लासँगै बहेको हावा अहिले उसको स्वरलाई टिपेर फैलाउँदै थियो सुमधुर आवाज । हावाले चन्चल बनाइदिएको थियो उसको कपाल । सायद कक्षा १० को पढाइ हुने अन्तिम दिन भएर होला अल्नो तरकारीझैं मन खल्लो भइरहेको थियो ।

कक्षामा उसलाई देख्नासाथ भनेँ ,'रेशमा तेरो स्वरको तारिफ गर्ने मसँग शब्द छैनन् छिट्टै उत्कृष्ट गायिका भएको देख्न पाइयोस्' ।

'आज त नामले नै बोलाईस् त श्यामे । घाम पश्चिमबाट उदायो क्या!', भनेर ऊ चर्को हाँस्दै गर्दा सबैका नजर सोझिन्छन् हामीतिर । 'तँ च्याखुरीलाई राम्रो बोली त कहाँ पच्छ र? आज अन्तिम दिन पनि झगडा नै गर्छेस् मसँग?', भन्दै प्यारो अन्तिम बेन्चतिर गएर बसेँ ।

एसएलसी परीक्षालाई भेटाउन दिनहरू छिटोछिटो बित्दै थिए । घर फर्किने बेलामा उसले मलाई गलबन्दी दिएकी थिई । मेलामा घुम्न जाने बेलामा उसलाई भनेर किनेको पछ्यौरी चिनो दिएँ मैले पनि । परीक्षा राम्रो होस् भन्दै शुभकामना आदनप्रदान गरेर हामी आ-आफ्नो घरतर्फ लाग्यौँ ।


घडीका सुइ चल्न, घाम उदाउन , अस्ताउन र नयाँ दिनको सुरुवात गर्न अल्छि गरेका थिएनन् । फलामको ढोका भन्ने एसएलसी परीक्षा पनि सकियो । परीक्षा राम्रै भएको थियो मेरो , च्याखुरीले पनि राम्रो भएको छ भनेकी थिई । मेरो मनले उसलाई प्रेम गर्दथ्यो , गाह्रो मान्दैनथ्यो उसलाई प्रेमिल शिखरको टुप्पोमा राख्न तर मनले भन्ने आँट कहिल्यै राखेन । आँट पनि कसरी गरोस् उसको सम्पन्न परिवार । उसको बुवा गाउँकै मुखिया थिए । मेरा बा भने उसैको घरमा हली भएर काम गर्द्थे ।

नतिजा कुर्दै थिएँ म । गाउँमा नेटको सुविधा थिएन । त्यसैले गोरखापत्रमा सूचना कुर्दै बसेको थिएँ । प्रतिक्षाको घडी पूरा भएको थियो । नतिजा आयो र गाउँकै अहिलेसम्म फर्स्ट डिभिजन आउने पहिलो विद्यार्थी भएको थिएँ म । उत्साहको चङ्गाले आकाशलाई छोएको थियो तर क्षणभरमै चुँडिएझैँ भयो उत्साहको डोरी जब थाहा पाएँ कि च्याखुरी फेल भइछे । आज म जितेर पनि हारेको थिएँ ।

उत्साहको चङ्गाले आकाशलाई छोएको थियो तर क्षणभरमै चुँडिएझैँ भयो उत्साहको डोरी जब थाहा पाएँ कि च्याखुरी फेल भइछे । आज म जितेर पनि हारेको थिएँ ।

बजार पढ्न जाने भएँ म । गहभरि भरिएका आँसु लिएर मलाई राम्रोसँग जा सहर गएसी त बिर्सेन्छस् होला है हामी गाउँलेलाई त भनेकी थिई । म नरमाइलो मन लिएर उसलाई छिट्टै आउँछु र तेरो चिनोले सधैं यादलाई जीवित राख्नेछ भनेर गाडी चढेँ । ऊ आँसु पुस्दै उभिएर एकटकले गाडीलाई हेर्दै थिई , हेर्दाहेर्दै बसले नदेख्ने बनायो उसलाई ।


२ वर्षको कलेज पनि सक्कियो । काठमाडौबाट गाउँ टाढा भएकाले गाउँ गएको थिईनँ । छात्रवृत्तिमा डाक्टरी पढ्ने सपना पूरा गर्न अहोरात्र खटिएको थिएँ म । च्याखुरीलाई खुब सम्झिन्थेँ , याद आखिर पुराना नहुँदा रहेछन् । धमिलिँदै गएको थियो उसको आकृति मेरो मस्तिष्कमा ।

समयले भित्ताका अर्का ६ वटा पात्रो फेर्यो । म डाक्टर बनिसकेर गाउँ जाने भएको थिएँ । म कुर्ने सकेको थिईनँ अर्को दिन । गाउँ फर्किएर च्याखुरीलाई अब म डाक्टर भएँ तेरो घरमा माग्न आउँछु भन्ने कुरा कल्पिएर म मुस्कुराएको थिएँ। बस मलाई मेरो गाउँतिर फिर्ता लाँदै थियो । फेरिएछ गाउँ । पुरानो भएछ स्कुल । बूढा भएछन् चौतारीका वरपिपल । सुकेछ घरमाथिको मेवाको बोट । पल्टिएछ हरि दाइको चाँप । यस्तै दृश्यलाई हेर्दै पुराना दिनलाई दिमागमा घुमाउँदै म घर पुगेँ । स्वागत गर्न बसेका थिए अविर-माला लिएर आँगनमा । म गाउँको पहिलो डाक्टर थिएँ । मेरा आँखा च्याखुरीलाई औधी बोलाईरहेका थिए तर उसलाई देखेको थिईनँ मैले । उसको त विवाह भइसकेछ ३ वर्ष पहिले नै ।

मनमा चिसो सिरेठो चल्यो । सजाएका सपना मेरो कक्षा १० को अन्तिम दिनभन्दा हजारौं गुणा फिक्का भएका थिए । मुखिया बाले आँसु झार्दै भनेका थिए, 'भाग्यले नराम्रोसँग ठ्ग्यो ! छोरीलाई बिहे भएको ८ महिनैमा विधवा भइ' । भगवान कति रुष्ट बनिदियो । मनमा पसेको तुवाँलोले आँसुलाई गहमा अडाउन सकेन । आफूले माया गरेको मान्छे त्यस्तो हालतमा भएको सुन्दा मनले थाम्न कहाँ सक्दो रहेछ र ? अहिले माइत नै आएर बसेकि छे भन्ने थाहा पाएपछि म हतारिँदै उसको घरमा पुगेँ । उसलाई देख्नेबित्तिकै आँखाले झन् खसालिदियो आँसुका भेल । उसले पनि रुँदै भनेकी थिई, ' तँ डाक्टर भएर सेता कपडा लगाउने भइस्, म विधवा भएर ' । मलाई झन् घोच्यो उसका शब्दले । आफूलाई समाल्दै उसलाई सम्झाएँ । ऊ अलि कुरा बुझेको भावमा थोरै भए पनि मुस्कुराई । त्यो सानो मुस्कानले आहतमा राहत दिएको थियो ।

ऊ मसँग खुलेर कुरा गर्नसक्ने भएकी थिई । म पनि उसलाई स्कुले दिनका कुरा सुनाएर हँसाउने गर्थेँ । मन परेको फूल ओइलाए पनि राम्रो भन्छन् । म उसलाई प्रेम गर्न छोडेको थिईनँ । म झन् बढी प्रेम गर्थेँ उसलाई । एकदिन उसलाई सबै कुरा पनि भनेको थिएँ । तर उसले आफ्नो कारणले मेरो परिवारलाई मबाट अलग नबनाउने कुरा व्यक्त गरी ।

गाउँमा हल्ला चल्यो बिर्खेको डाक्टर छोरो विधवासँग प्रेममा छ भनेर । राम्राभन्दा नराम्रा कुरा अति छिटो फैलने रहेछन् । यो कुरा हरेक घरमा, चियापसलमा , चौतारीमा , पँधेरोमा पुगेको थियो र एकदिन मेरो घरमा समेत पुग्यो ।

गाउँमा हल्ला चल्यो बिर्खेको डाक्टर छोरो विधवासँग प्रेममा छ भनेर । राम्राभन्दा नराम्रा कुरा अति छिटो फैलने रहेछन् ।

 बाआमाले इज्जत फाल्ने भइस् भनेर वियोगान्त शब्दका खोला बगाउँथे । छिमेकीहरू जस्ता भने उस्तै केटी खोजीदिनसक्ने सामर्थ देखाउँथे । म कसरी भनूँ, मेरो मनले च्याखुरीलाई नै चाहन्छ भनेर कसले बुझोस् । मलाई समाजदेखि रिस उठयो । मानवताको खोल ओढेर मानवता नभएका मान्छेदेखि रिस उठ्यो । सबै कुरा उसलाई भनेको थिएँ । उसले, 'तिमीलाई नराम्रो हुन्छ । परिवार , समाजमा तिमीलाई डाक्टर भनेर ठूलो मान राख्छन्, अर्कै बिहे गर' भन्थी । मैले उसलाई आफ्नो मनका सबै कुरा भनेपछि पर्सिपल्ट गाउँबाट भागेर जाने सल्लाह भयो ।

भोलिपल्ट एकोहोरो शंखको आवाज आएको थियो । आवाज मुखियाको घरबाट आए लगत्तै म आत्तिएर दौडिएँ । च्याखुरीले आत्महत्या गरिछे । रोएँ, कराएँ । तर ऊ अब हाम्रो मायालाई लिएर गएकी थिई । यो समाजले उसलाई मेरो हुन दिएन । मेरो इज्जत जोगाउन उसले मृत्युलाई नै रोज्न पुगी । आज म उसको सम्झनामा आफूलाई हराइरहेको छु । आज पनि उसले चिनो दिएको गलबन्दी हेर्दै उसले गाएको गीत सम्झिन्छु, ' धेरै माया दिँदा रैछन् मुटु जोडेर जानेहरू , यादमा डुबी बस्दारैछन् मुटु जोडेर बस्नेहरू...'

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै