• २०८१ बैशाख ४ मंगलबार

वैज्ञानिकहरूले फेला पारे चारवटा खुट्टा भएको प्राचीन ह्वेल माछा

kharibot

काठमाडौं । वैज्ञानिकहरूले पेरुको एक समुद्र किनारमा चारवटा खुट्टा भएको एक प्राचीन ह्वेल माछाको अवशेष फेला पारेका छन् ।

वैज्ञानिकहरूका अनुसार झन्डै ४ करोड ३० लाख वर्ष पुरानो उक्त ह्वेल माछाका खुट्टामा खुर हुनुका साथै पानीमा बस्ने प्राणीहरू जस्तै जालो भएको खुट्टा थिए । चार मिटर लामो सो ह्वेल माछा पानीमा पौडनुका साथै जमीनमा अन्य स्थलचर जीवजस्तै हिड्न सक्थ्यो ।

वैज्ञानिकहरूले यसको खुट्टाको बनोटको अध्ययन गरेर उक्त ह्वेल माछालाई आफ्नो विशाल शरीर थाम्न खुर भएका खुट्टाले सहयोग गर्ने र यसमा रहेको शक्तिशाली पुच्छर र जालो भएको खुट्टाले  समुद्रमा पौडन मद्धत पुर्याउने निष्कर्ष निकालेका छन् । अहिले अस्तित्वमा रहेका ह्वेल माछाहरू भने पानीभन्दा बाहिर जीवित रहन सक्दैनन् । अहिलेका ह्वेल माछासँग पौडनका लागि शरीरको अगाडिपट्टि पखेटाको आकारका दुईवटा फ्लिपर र पछाडि एउटा पुच्छर हुने गर्दछ । यिनीहरूमा पूर्ण विकसित खुट्टा हुँदैन र केही ह्वेल माछाहरूमा मात्र आधारभुत किसिमका खुट्टा र औँला जस्ता शरीरका भागहरू हुने गर्छन् ।

वैज्ञानिकहरूले ह्वेल माछालाई जीवन विकासक्रमको एक विशिष्ट नमुनाका रुपमा मान्ने गरेका छन् । वैज्ञानिकहरूका अनुसार ह्वेल खुट्टामा साना खुर भएका स्तनधारी जीवदेखि अहिलेको विशाल ब्ल्यु ह्वेलसम्म विकसित भएर आएका हुन् ।

यसअघि पनि चार खुट्टा भएका साना ह्वेल माछाहरूका अवशेष भेटिएका थिए । तर वैज्ञानिकहरूका अनुसार ती अवशेष अपूर्ण थिए र अनुसन्धानकर्ताहरूले प्राप्त अवशेषबाट प्राचीन ह्वेलको हिड्ने र पौडने क्षमताको बारेमा कुनै निष्कर्ष निकाल्न सकेका थिएनन् ।

तर यसपल्ट प्राप्त अवशेषको अध्ययन गरेर वैज्ञानिकहरूले ह्वेल माछाको विकास क्रम र उनीहरू संसारका  समुद्रहरूमा कसरी फैलिए भनेर महत्वपूर्ण जानकारी प्राप्त गर्न मद्धत पुगेको बताएका छन् ।

त्यसैगरी अहिले प्राप्त भएको अवशेषको अध्ययन गरेर वैज्ञानिकहरूले ती ह्वेल माछाहरू लामो समयसम्म समुद्र पौडन सक्ने भएपनि ती ह्वेल माछालाई त्यसपछि पानीबाहिर जमिनमा हिंडडुल गर्न र जीवित रहन कुनै समस्या नहुने निस्कर्ष निकालेका छन् । अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार प्राचीन ह्वेल माछा प्रजननका लागि र बच्चा जन्माउन पानीबाट जमिनमा आउने गरेका हुन सक्छन् । ह्वेल माछा पूर्णरुपमा पानीमा मात्र बस्न थालेको करीब ३ करोड ५० लाखदेखि ४ करोड १० लाख वर्ष भएको अनुमान गर्ने गरिन्छ ।

पछिल्लो समयमा अवशेष प्राप्त भएको स्थानले पनि अनुसन्धानकर्तालाई उत्साहित बनाएको उनीहरूले बताएका छन् । वैज्ञानिकहरूले पनि ह्वेल माछाका अहिलेसम्मकै पुरानो अवशेष भारत र पाकिस्तानको क्षेत्रमा प्राप्त गरेका छन् ।

त्यसैले ह्वेल माछाको उत्पति झन्डै ५ करोड वर्ष पहिले दक्षिण एसिया क्षेत्रमा भएको मान्ने गरिन्छ । त्यसपछि ह्वेल माछाको शरीर पानीका लागि अनुकुल हुँदै गएपछि तिनीहरू उत्तरी अफ्रिका र उत्तरी अमेरिकातिर बसाइँ सर्दै गएका थिए ।

यसअघि वैज्ञानिक जगतमा प्राचीन ह्वेल माछाहरू कसरी अमेरिकी भूभागमा बसाइँ सरे भन्ने कुरा बहसको विषय बन्दै आएको छ । त्यसैले अहिले दक्षिण अमेरिकी मुलुकमा ४ करोड पुरानो अवशेष प्राप्त भएकाले वैज्ञानिकहरूले प्राचीन ह्वेल माछाहरू दक्षिण एसियाबाट पौडदै दक्षिण अमेरिकातर्फ गएको अनुमान गरेका छन् । प्राचीनकालमा यी दुई महादेश बीचको दूरी अहिलेको समय भन्दा झन्डै आधा भएकाले ह्वेल माछाहरू दक्षिण एटलान्टिक महासागर पार गर्दै सो क्षेत्रमा बसाइँसरेको निस्कर्ष निकालेका हुन् ।

पेरुमा प्राप्त पछिल्लो अवशेष पेरु लगायत फ्रान्स, नेदरल्याण्ड, इटाली र बेल्जियमका वैज्ञानिकहरूको एक टोलीले सन् २०११ मा उत्खनन गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै