• २०८१ बैशाख ८ शनिबार

नासाले सन् २०३३ सम्ममा मङ्गल ग्रहको सतहमा मान्छे उतार्ने !

kharibot

काठमाडौं । अघिल्लो हप्ता मात्रै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकाले सन् २०२४ सम्ममा चन्द्रमामा मान्छे पठाउने घोषणा गरेपछि नासाका प्रमुख जीम ब्राइडेन्सटाइनले भने नासाले त्यो भन्दा अघि बढेर २०३३ सम्म मङ्गल ग्रहको सतहमा मान्छे उतार्न सक्ने बताएका छन् ।

ब्राइडेन्सटाइनले अमेरिकी संसदहरूलाई अमेरिकी सरकारको २०२४ सम्म चन्द्रमामा मान्छे पठाउने योजना २०३३ मा मङ्गल ग्रहमा पहिलोपटक मानव उतार्ने लक्ष्यले प्रेरित भएको जानकारी दिएका हुन् ।

नासाले यसअघि नै २०२८ सम्ममा चन्द्रमामा अन्तरिक्षयात्री पठाउने योजना बुनेको थियो । तर अघिल्लो हप्ता अमेरिकी उपराष्ट्रपति माइक पेन्सले नेसनल स्पेस काउन्सीलको वैठकमा २०२८ मा चन्द्रमामा मान्छे पठाउनु काफी नभएको बताउँदै यसलाई २०२४ सम्म मै सम्पन्न गराउने लक्ष्य अमेरिकी सरकारको आधिकारिक नीति नै भएको बताएका थिए ।

उनले सो बैठकमा अमेरिका अहिलेको समयमा चीन र रुससँग अन्तरिक्षको क्षेत्रमा प्रतिस्पर्धामा रहेकाले नासाको आफ्नै यान तयार नभए पनि व्यवसायिक रकेटको प्रयोग गरेर भएपनि लक्ष्य प्राप्तीमा जोड दिनुपर्ने बताएका थिए । त्यसैगरी पेन्सले अबको योजना चन्द्रमामा अन्तरिक्ष यात्री उतार्ने मात्र नभएर चन्द्रमाको सतहमा स्थाई बेस नै निर्माण गर्ने रहेको जनाएका थिए । उनले २०२४ सम्मको समयावधि अत्यन्त महत्वकांक्षी भए पनि अन्तरिक्षका लागि पहिलोपटक प्रक्षेपण गरिएको १२ वर्षमै नासाले चन्द्रमामा सफलतापूर्वक मान्छे पठाएको कुरा स्मरण गराएका थिए ।

नासाको २०२४ सम्म चन्द्रमामा र २०३३ सम्म मङ्गल ग्रहमा मान्छे उतार्ने योजना अन्तर्गत नासाले चन्द्रमाको कक्ष वरिपरी घुम्ने ‘गेटवे’ नामको स्पेस स्टेसन बनाउने छ । सो कार्य २०२२ देखि सुरु गरिने जनाइएको छ । गेटवेद्वारा चन्द्रमामा पहिले नपुगिएको क्षेत्रमा पहुँच मिल्ने नासाको दाबी रहेको छ ।

त्यसैगरी चन्द्रमाको सतहमा स्थाई बेस निर्माण गर्ने पनि नासाको अर्को ठूलो योजना रहेको छ । यो बेस चन्द्रमाको दक्षिणी ध्रुवमा निर्माण गर्नु उपयुक्त हुने वैज्ञानिकहरूले बताएका छन् । यस क्षेत्रमा रहेका क्रेटरहरूमा ठूलो मात्रामा बरफ भएको बताउने गरिन्छ ।

यसअघि २०१६ मा पूर्वराष्ट्रपति बाराक ओबामाले नासाले २०३० को दशकसम्ममा मंगल ग्रहमा मानिस पठाउने बताएका थिए । त्यसपछि डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले २०२४ मै उक्त लक्ष्य हाँसिल गर्नुपर्ने बताए । तर वैज्ञानिकहरूले २०२४ को समयावधिमा यो योजना सम्भव नभएको जनाएपछि ट्रम्पले २०३३ सम्ममा मङ्गल ग्रहमा मान्छे पठाउने सम्भाव्यताको अध्ययन गर्न एक बिलमा हस्ताक्षर गरेका थिए । तर धेरैले नासाले यस महत्वकांक्षी योजाना हाँसिल गर्नका लागि नासाको एपोलो मिसनकै जस्तो बजेट पाउनेमा शंका व्यक्त गर्ने गरेका छन् ।

यसअघि मार्चमा ह्वाइटहाउसले नासाका लागि अनुरोध गरेको सङ्घीय बजेटमा कुल २१ अर्ब डलर छुट्टाइएको छ, जसमा ५ अर्ब डलर नासाको अन्तरिक्ष अन्वेषण र यात्राका लागि अनुसन्धान र आविष्कारका लागि तोकिएको छ ।

त्यसैगरी नासाका लागि अनुरोध गरिएको बजेटमा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री उतारेर लामो समयसम्म काम गर्नका लागि थप एक अर्ब डलर रहेको छ । यो बजेट नासाले एपोलो मिसनका लागि पाएको बजेट भन्दा निकै कम हो । नासाले १९६० देखि ७२ सम्मको एपोलो कार्यक्रम अन्तर्गत अहिलेको मुद्रास्फीतिसँग समायोजन गर्दा २२० अर्ब डलर प्राप्त गरेको थियो । यस समयावधिमा ६ पटक चन्द्रमाको सतहमा सफल अवतरण गरेको नासाले हरेक अवतरणका लागि करिब ३७ अर्ब अमेरिकी डलर पाएको थियो ।

तर नासाका प्रमुखले अहिले अन्तरिक्ष प्रविधिले निकै ठूलो फड्को मारेको र कम खर्चिला प्रविधिको विकास भइसकेकाले नासाको आगामी चन्द्रमा र मङ्गल ग्रहको योजनाका लागि एपोलो कार्यक्रमको जस्तो ठूलो बजेट आवश्यक नपर्ने बताएका छन् । त्यसैगरी उनले ह्वाइट हाउसले अहिले तोकेको बजेटमा केही संसोधन गरेर आउने अप्रिल १५ सम्ममा स्पष्ट बजेट योजना तयार गरिसक्ने जनाएका छन् ।

नासाले २०२४ मा चन्द्रमामा मानिस उतार्ने लक्ष्यलाई मङ्गल ग्रहको मानव यात्राको खुट्किलोका रुपमा प्रयोग गर्ने बताएको छ ।

त्यसैगरी नासाले चन्द्रमालाई मङ्गल ग्रहको लागि आवश्यक पर्ने प्रविधि र क्षमता प्रशिक्षण गर्ने थलो बनाउने योजना बुनेको छ । चन्द्रमामा करोडौँ टन पानीका बरफ रहेकाले तिनलाई प्रयोग गरेर सास फेर्नका लागि अक्सिजन, पिउनका लागि पानी र अन्तरिक्ष यानको इन्धन समेत निर्माण गर्न सकिने नासाले जनाएको छ । त्यसैले अहिले जति चाडो चन्द्रमामा पुग्न सकियो मङ्गल ग्रहको यात्रा त्यति नै छिटो हुने भएकाले २०२४ मा चन्द्रमामा पुग्ने योजनालाई नासा एवम् अमेरिकी सरकारले निकै महत्व दिएको हो ।

चन्द्रमाको सतहमा अन्तिम पटक नासाको एपोलो कार्यक्रम अन्तर्गतको अन्तिम मिसन एपोलो १७ का तीनजना अन्तरिक्ष यात्रीहरूको टोलीले सन् १९७२ डिसेम्बरमा अवतरण गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै