• २०८१ बैशाख १३ बिहीबार

विश्वकै महँगो डिभोर्सले पायो पूर्णता 

kharibot

काठमाडौँ । विश्वका सबैभन्दा धनी दम्पति मेजनका मालिक जेफ बेजोस र उनकी पत्नी म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेदले औपचारिक रुपमा पूर्णता पाएको छ ।

जेफ र म्याकेन्जीले आ आफ्नो सामाजिक संजालमार्फत आफूहरुको वैवाहिक सम्बन्ध भंग गर्ने प्रक्रिया टुंगाएको घोषणा गरेका हुन् ।

म्याकेन्जीले दम्पत्तिको नाममा वासिङ्टन पोष्ट र ब्लु ओरिजिन कम्पनीमा रहेको शेयरको अधिकार आफूले पूर्णरुपमा त्याग गरेको र अमेजन कम्पनीको शेयरमध्ये ७५ प्रतिशत जेफलाई छाडेको बताएकी छिन् । बेजोस दम्पत्तिको नाममा रहेको शेयर मध्ये २५ प्रतिशत मात्र आफूले लिएकी म्याकेन्जीले आफ्नो शेयरबापतको भोटिङ अधिकार पनि जेफ बेजोसलाई नै प्रदान गरेको बताएकी छन् ।

म्याकेन्जीले डिभोर्सको प्रक्रिया टुंगो लगाउने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब जेफसँग साथी तथा बच्चाहरुको अभिभावकको नयाँ अध्याय सुरु गर्ने बताएकी छिन् ।
अमेजन लगायतका कम्पनीमा जेफ बेजोसको निरन्तर योगदानलाई सहयोग गर्नका लागि आफूले त्याग गरेको पनि उनले बताएकी छिन् । 

यस्तै जेफ बेजोसले पूर्व पत्नी म्याकेन्जीको सहयोगका लागि आफू कृतज्ञ रहेको र म्याकेन्जीसँग आगामी दिनमा साथी तथा सह-अभिभावकको सम्बन्धका लागि आफू उत्साहित रहेको पनि बताएका छन् । उनले म्याकेन्जीको प्रसंसा गर्दै आफूले भविष्यमा सधै उनीबाट सिकिरहने पनि बताएका छन् ।

बेजोस दम्पत्तिले गत जनवरीमा २५ वर्ष लामो वैवाहिक सम्बन्धमा पूर्ण विराम लगाउने घोषणा गरेका थिए । उनीहरुको डिभोर्सको घोषणासँगै दुनियाको सर्वाधिक धनी यो दम्पत्तिमा सम्पत्ति बाँडफाँड सजिलै नहुने अनुमान गरिएको थियो । डिभोर्सपछि म्याकेन्जी विश्वकै धनि महिला हुने सबैको अनुमान विपरित सम्पत्ति बाँडफाँडमा म्याकेन्जीले सहजीकरण गरेको देखिएको छ ।

फोर्ब्सको पछिल्लो तथ्यांक अनुसार जेफ बेजोस कूल १ खर्ब ३१ अर्ब डलर सम्पत्ति सहित विश्वका सबैभन्दा धनी मानिस हुन् । उनको त्यो सम्पत्तिमा पत्नी म्याकेन्जीको पनि हक थियो । 
डिभोर्ससँगै म्याकेन्जीको भागमा झण्डै ३६ अर्ब डलर परेको छ । यति हुँदा हुँदै पनि अमेजन कम्पनीको बढेको शेयरका कारण बेजोसको अमेजनमै १ खर्ब ७ अर्ब डलर बराबरको शेयर छ ।

उनको सम्पत्तिको रुपमा अन्य कम्पनीहरु पनि रहेका छन् । यी सबै जोड्दा दुनियाको सबैभन्दा धनी व्यक्तिको रुपमा बेजोसको पहिलो स्थान कायमै रहने देखिएको छ ।

बेजोसले स्ना १९९४ मा अमेजनको स्थापना गरेका थिए । त्यति बेला म्याकेन्जी कम्पनीको पहिलो सदस्यको रुपमा काम गर्न सुरु गरेकी थिइन् । उनीहरुका चार सन्तान रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै