• २०८१ बैशाख ८ शनिबार

अनुप जोशीको कविता: मैले तिमीलाई प्रेम गरिरहेको हुनेछु

kharibot

कवि: अनुप जोशी

रुखको यही हाँगामा आएर
हजारौं चराहरूले विश्राम गरेर जानेछन्
यही बाटोलाई पछयाएर
हजार यात्रुहरू गन्तव्यमा पुग्नेछन्
फूलहरू फुलिरहेकै हुनेछन्
वा ओइलिएर झरिसक्नेछन्
मैले तिमीलाई प्रेम गरिरहेको हुनेछु

वसन्तहरू जानेछन्
शिशिरहरू आउनेछन्
कुनै दिन म बूढो हुनेछु
छाला चाउरी पर्नेछन् र म रोगी हुनेछु
मैले तिमीलाई प्रेम गरिरहेको हुनेछु

म एक्लो हुनेछु
अनि कोही मेरो सम्मुखमा आएर हात दिनेछिन्
म सहर्ष स्वीकार्नेछु
बाटोमा नयाँ कोपिलाहरू फुल्नेछन्
म पानी हाल्नेछु
सुम्सुम्याउनेछु र गोडमेल गर्नेछु
मैले तिमीलाई प्रेम गरिरहेकै हुनेछु

यौटा घमाइलो दिनसँग
म जिस्किएर तिम्रै गीत गाउनेछु
अनि झरीका दिनहरूमा
म तिम्रै यादहरूको पछयौरी ओढ्नेछु
मैले तिमीलाई प्रेम गरिरहेको हुनेछु

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै